काठमाडौ- स्वस्थ जीवन प्रत्येक व्यक्तिको पहिलो चाहना हुन्छ । खानपिन गर्दा स्वास्थ्यको दृष्टिकोणले लाभदायक, सादा र साधारण खानाभन्दा नुनिलो, चिल्लो, पिरो मसलायुक्त मासु र बोसोसहितका खाने गरिन्छ । धेरैथरिका व्यञ्जन, फास्ट फुड खानु धेरैको सौख र शान बनिसकेको छ ।

खानाको साथ पेयपदार्थ तथा धुम्रपानलाई अत्यावश्यक बनाउने चलन व्यापक भइसक्यो । आफ्नो काम आफैँ गरी शरीर फुर्तिलो बनाउने बानी छुटिसक्यो । अस्वस्थकर आहार–विहार, जीवनशैली र आचारले गर्दा नेपालीको स्वास्थ्य दिनप्रतिदिन खस्किँदै गएको छ । रोग लागेपछि लाखौँ खर्च गरेर पछुताउनुभन्दा आजैदेखि सबै सजग भए स्वास्थ्य राम्रो र बलियो बनाउन सकिन्छ भन्दै डा. राधिका थपलियाले आहार–विहार र आचार सुधार्न सुझाब दिएकी छिन् : आहार आहार भन्नाले हामीले गर्ने भोजनलाई बुझिन्छ । प्रत्येक व्यक्तिले आफ्ना लागि हितकर आहार सही मात्रामा, सही समयमा उपयुक्त विधिले ग्रहण गर्ने बानी बसाल्नुपर्छ । हरेक व्यक्तिका लागि आहारको मात्रा फरक–फरक हुन्छ । किनकि, आहार कति लिने भन्ने कुरा व्यक्तिको पचाउने शक्तिमा भर पर्छ ।

जसले जति मात्रामा खाना सुखपूर्वक पचाउन सक्छ उसको लागि त्यति नै आहारको उपयुक्त मात्रा हुन्छ । सामान्यतया आफ्नो पेटलाई नै तीन भागमा विभक्त गरेर त्यसको दुईतिहाइ भाग मात्र भोजन गर्नुपर्छ ।

आफूलाई आवश्यकभन्दा कम वा बढी भोजन गर्नु दुवै हानिकारक हुन्छ । खाना खाएपछि पेटमा दबाब परेको छैन, हृदयमा अप्ठ्यारो हुन्न, पल्टिँदा पेट दुख्दैन, बस्दा, उठ्दा, हिँड्दा, श्वास फेर्दा र कुरा गर्दा कुनै किसिमको असजिलोपना हुन्न र भोक शान्त भएको छ भने आफूले लिएको आहार मात्रापूर्वक भएको बुझ्नुपर्छ ।

आफ्नो आहारको मात्रा निर्धारण गरेपपछि त्यसमा कस्तो–कस्तो आहार समावेश गर्ने हो भन्ने पनि जान्नुपर्छ । दैनिक भोजन स्वास्थ्यको अनुवर्तन गर्ने तथा शरीरमा भविष्यमा लाग्नसक्ने रोगसमेत रोक्न सक्ने सन्तुलित हुनुपर्छ । शालिधान, मुँगको दाल, जौको पिठो, अमला, दूध, मह आदि नित्य सेवनयोग्य खाद्यपदार्थ हुन् । त्यसैले हाम्रो भोजनमा जति सक्दो यस्ता पदार्थहरूको समावेश गराउनुपर्छ । खानेकुरा कसरी खाने भन्ने कुराले पनि स्वास्थ्यमा प्रभाव पार्छ । आफूले खाने कुरा र त्यसको मात्रा तय गरेपछि कसरी खाना खाने भन्ने पनि जान्नुपर्छ । भोजन गर्ने पनि छुट्टै विधान छ । खाना पाकेपछि नसेलाउँदै (तातो) खानुपर्छ । पहिले खाएको खाना पचिसकेपछि मात्र अर्कोपटकको खाना खानुपर्छ । खाना खाने ठाउँ स्वच्छ, सफा र अनुकूल हुनुपर्छ । आफूलाई मनपर्ने सम्पूर्ण स्वस्थकर सामग्रीहरू राखेर भोजन गर्नुपर्छ । खाना अति छिटो–छिटो वा अति ढिलो गरी खानुहुन्न । एकाग्र चित्त गरी खानामा मन लगाएर स्वाद लिई खाने बानी बसाल्नुपर्छ । विहार हामीले गर्ने सम्पूर्ण कामहरू विहारअन्तर्गत पर्छन् । राम्रो स्वास्थ्यका लागि विहार पनि स्वस्थकर हुनु जरुरी छ । यसका लागि बिहान सूर्योदयभन्दा पहिल्यै उठ्नुपर्छ । स्वस्थ भएर बाँच्न चाहने मानिसहरूका लागि बिहान उठ्ने अत्यन्त राम्रो समय भनेको ब्रह्ममुहूर्त नै हो । बेलुकी गरेको भोजन राम्रोसँग पचिसकेको छैन भने चाहिँ बिहान छिटै उठ्नु लाभप्रद हुँदैन ।

उठिसकेपछि आफ्नो नित्यकर्म शौच, आचमन, दाँत माझ्ने, जिभ्रो शुद्ध बनाउने, व्यायाम, योग, प्राणायाम, स्नान गर्नुपर्छ । स्नान गर्दा प्रशस्त पानीमा नुहाउनुपर्छ । तर, धेरै चिसो पानीको प्रयोग गर्नुहुन्न । घाँटीभन्दा तलको भागमा तातो पानीको प्रयोग गर्नु उत्तम हुन्छ । शिरमा तातो पानी प्रयोग गर्नु हुँदैन । आँखा, मुख र कानका रोगहरू, पिनास र अजीर्णमा स्नान निषेध छ । त्यस्तै, स्नानपश्चात् लगाउने कपडा सधैँ सफा र सुगन्धित हुनुपर्छ । स्वस्थ रहन दैनिक रूपमा प्राणायाम तथा आसन गर्न सकिन्छ ।

बिहान–बिहान केही समय हिँड्डुल गर्ने बानी बसाल्नुपर्छ । बालक, वृद्ध र अजीर्ण भएका व्यक्तिबाहेक अन्य व्यक्तिले आफ्नो शक्ति र ऋतुलाई ध्यानमा राखेर व्यायाम गर्नुपर्छ । व्यायाम गर्दा शरीर हलुंगो हुन्छ र काम गर्ने जाँगर आउँछ, बोसो घट्छ र शरीरका अंगहरू कसिला हुन्छन् साथै खाना पनि राम्ररी पच्छ ।

व्यायाम गरिसकेपछि विस्तारै शरीरको चारैतिर मालिस गर्नुपर्छ । आफ्नो शक्तिभन्दा बढी व्यायाम गरे हानि पनि हुन सक्छ । बलिया मान्छे र पोषिलो खाना खानेले आफ्नो शक्तिको आधा अर्थात् धेरै नथाक्ने किसिमले हिउँद र वसन्त ऋतुमा व्यायाम गर्नुपर्छ भने अन्य ऋतुमा अलि कम मात्रामा गर्नुपर्छ । स्वास्थका लागि मनोरञ्जन पनि आवश्यक पर्छ । टेलिभिजन हेर्ने, पत्रपत्रिका पढ्नेजस्ता काम गर्न सकिन्छ ।

आचार हाम्रो आचरणले पनि स्वास्थ्यमाथि प्रत्यक्ष प्रभाव पार्छ । तसर्थ, राम्रो स्वास्थ्यका लागि सदाचारको पालन गर्नुपर्छ । सदाचार भनेको शरीर, बोली र मनले गरिने असल काम हो । त्यसअन्तर्गत केही पालन गर्नुपर्ने र केही छाड्नुपर्ने कामहरू छन् । सुख–दुःखको अवस्थामा नमात्तिने, नआत्तिने हुनु, आफूले कमाएको कुरा अरूको हितका लागि पनि उपयोग गर्न दिनु, नयाँ–नयाँ कुरा जान्न कोसिस गर्नु, विचार पु-याएर काम गर्नु, अरूको गल्तीमा माफी गर्ने क्षमता राख्नु, दुःखीहरूमा दया गर्नु, ठूलो–राम्रो काम गर्ने हिम्मत गर्नु, सधैँ खुसी रहनु, डराएका मानिसलाई आश्वासन दिनु, धन–सम्बन्ध–विद्या–उमेर र आचरणमा आफूभन्दा श्रेष्ठ मानिसको आदर गर्नु । यस्ता सदाचार पालन गर्दा मानसिक स्वास्थ्य धेरै राम्रो हुन्छ । हिंसा अर्थात् अरूलाई कुट्नु, पिट्नु, मारकाट गर्नु, चोरी (अरूको सामान थाहा नपाउने गरी लिनु), व्यभिचार (परस्त्री वा परपुरुषसँग सम्बन्ध राख्नु), चुक्ली लगाउनु, कडा बोल्नु (अरूको मन दुख्ने गरी भन्नु), ढाँट्नु, जथाभावी बोल्नु, अरूसँग वैरभाव गर्नु, अरूको धनको लोभ गर्नु हुँदैन । आफूले अरूमाथि जस्तो विचार राख्यो अरूले पनि त्यस्तै विचार राख्ने भएकोले सधैँ सकारात्मक सोचको विकास गर्नुपर्छ।

तपाईको प्रतिक्रिया