भक्तपुर। आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनले भक्तपुरमा उम्मेदवारी नदिई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेका लागि छाड्ने भएपछि एमालेमा असन्तुष्टि बढेको छ।

यसअघिका प्रत्येक निर्वाचनमा एमालेले उम्मेदवारी दिँदै आएको र स्थानीय तह निर्वाचनमा विजयी हासिल गरेको क्षेत्रमा समेत उम्मेदवारी नदिने एमालेले निर्णय गरेको भन्दै एमालेभित्र असन्तुष्ट बढेको हो।

वाम गठबन्धनले भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रतिनिधि सभातर्फ नेमकिपाका अध्यक्ष बिजुक्छेको उच्च मूल्याँकन गर्दै उनका विरुद्ध उम्मेदवारी नउठाउने निर्णय गरेको चर्चाबाहिर आएपछि एमालेका जिल्ला तथा नगर तहका कार्यकर्ताले असन्तुष्ट जाहेर गरेका हुन्। यस क्षेत्रमा एमाले जिल्ला कमिटीले प्रतिनिधि सभा प्रत्यक्षतर्फ प्रेमकुमार श्रेष्ठ, कृष्णराम गेलाल र नारायणी दंगालको नाम सिफारिश गरेको थियो।

एमाले भक्तपुर जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले यसबारे आफूलाई जानकारी नभएको बताए। उनले भने, “भक्तपुर क्षेत्र नं १ मा उम्मेदवारका लागि नाम सिफारिश गरेर जिल्लाले पठाएको छ, केन्द्रीय तहमा के निर्णय भयो, मलाई थाहा छैन र पार्टी जिल्ला कमिटीलाई जानकारी आएको छैन ।”

एमालेले निर्वाचन क्षेत्र नं २ को प्रदेश नं २ ९ख० मा पनि आफ्नो उम्मेदवार नउठाउने भएको छ। एमाले स्रोतका अनुसार स्थानीय तह निर्वाचनमा एमालेले नगरप्रमुख विजयी भएको मध्यपुरथिमि नगरपालिका रहेको उक्त क्षेत्रमा आफ्नो उम्मेदवार नउठाउने भएसँगै एमाले थिमिका नेता कार्यकर्ता असन्तुष्ट भएका छन्।

यस प्रदेशमा वाम गठबन्धनअनुरुप एमालेले माओवादी केन्द्रका लागि छाडेपछि एमाले नेता कार्यकर्ता असन्तुष्ट जाहेर गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा गएको बताएका छन्। यस प्रदेशमा एमालेले पार्टी उपाध्यक्ष बचन देउजाको नाम सर्वसम्मत सिफारिश गरेको थियो।

एमालेले निर्वाचन क्षेत्र नं १ को प्रदेश नं १ ९क० मा प्रत्यक्षतर्फ नगर कमिटीले सर्वसम्मत हरिशरण लामिछाने, निर्वाचन क्षेत्र नं १ प्रदेश क्षेत्र नं २ ९ख० मा भने प्रत्यक्षतर्फ रोमन शिलाकारको नाम सिफारिश गरेको थियो।

निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ पूर्वउद्योग मन्त्री महेश बस्नेतको नाम सर्वसम्मत सिफारिश गरेको छ भने निर्वाचन क्षेत्र नं २ को प्रदेश नं १ मा भने प्रत्यक्षतर्फ पार्टी अध्यक्ष राजेन्द्र राजथला र शशिजंग थापाको नाम सिफारिश गरेको थियो।

तपाईको प्रतिक्रिया