काठमाडौँ : संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच २ नं प्रदेशको निर्वाचन क्षेत्रमा साझा उम्मेदवारको टुंगो लागेको छ ।

चुनावी तालमेलका लागि गठित दुवै पार्टीको कार्यदलले २ नं प्रदेशअन्तर्गत प्रतिनिधिसभाका ३२ र प्रदेशसभाका ६४ वटै निर्वाचन क्षेत्रमा संयुक्त उम्मेदवारको टुंगो लगाएको राजपाका महासचिव मनिष सुमनले जानकारी दिनुभयो ।

कार्यदलले सोमबार साझा उम्मेदवारको टुंगो लगाएपछि दुवै पार्टीका अध्यक्षले संयुक्त हस्ताक्षर गरी प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो ।

दुई दलबीच भएको सहमतिअनुसार प्रतिनिधिसभाअन्तर्गत फोरमले १७ र राजपाले १५ निर्वाचन क्षेत्र पाएको छ । त्यस्तै प्रदेशसभामा फोरमले ३५ र राजपाले २९ निर्वाचन क्षेत्र पाएको छ ।

निर्वाचन क्षेत्रको सिट बाँडफाँडअनुसार शीर्ष नेतासहित उम्मेदवारको आज रातभरमा टुंगो लगाइने महासचिव सुमनको भनाइ छ । शीर्ष नेताहरुको निर्वाचन क्षेत्रमा नेपाली काँग्रेससँग चुनावी तालमेलका लागि वार्ता चलिरहेकाले चाँडै टुंगिने जनाइएको छ ।

यसैबीच संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ६२ जना उम्मेदवारको टुंगो लगाएको छ । समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सप्तरी क्षेत्र नं २ र वरिष्ठ उपाध्यक्ष अशोक राईले सुनसरी क्षेत्र नं १ बाट प्रतिस्पर्धा गर्ने फोरमका एक नेताले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया