धनगढी : राष्ट्रिय वाणिज्य बैंकको धनगढी शाखा कार्यालयमा बैंकिङ कारोबारका लागि पुग्ने सेवाग्राहीले बैंकको सेवा चुस्त र व्यवस्थित नहुँदा सास्ती खेप्नुपरेको छ ।

दिनहुँ बैंकमा हुने सेवाग्राहीको ठूलो भीडले समयमै काम बन्न नपाई सास्ती खेप्नु परेको सेवाग्राही शिवकुमार चौधरीले बताउनुभयो । “एक घण्टा लाइनमा बस्दा पनि पालो नआएपछि आफू रकम नलिएरै फर्किए, उहाँले भन्नुभयो–कार्यालयभित्र व्यवस्थापनको पाटो लथालिंग हुँदा काम बन्न सकेन ।”

रकम भुक्तानीका लागि बैंकमा लाइनमा बस्दाबस्दै कार्यालय बाहिर राखिएको साइकलसमेत चोरी भएको चौधरीले बताउनुभयो । रकम भुक्तानी लिन एक÷डेढ घण्टा लाइनमा बसेर पालो कुर्नु पर्दा घरायसी अन्य काम समेत प्रभावित हुने गरेको अर्का सेवाग्राही शिवराज भट्ट बताउनुहुन्छ ।

बैंकका प्रबन्धक चेतराज भट्टले वर्षेनी जनघनत्व बढ्दै गए पनि धनगढी उपमहानगरपालिकामा बैंकको एउटै मात्र शाखावाट सेवा प्रवाह गर्नुपरेकाले सेवाग्राहीको भीड थामी नसक्नु भएको बताउनुभयो । अर्को शाखा विस्तार गर्न केन्द्रलाई पटकपटक अनुरोध गरिएपनि सुनुवाइ हुन नसक्दा सेवा प्रवाहमा समस्या उत्पन्न भएको उहाँको भनाइ छ ।

शाखा कार्यालयमा साधन स्रोतको अभाव भइरहेकै अवस्थामा देशभरिको जुनसुकै ठाउँको चेक बैंकबाट साट्न पाइने व्यवस्था नेपाल राष्ट्र बैंकले गर्दै आएको थियो । सरकारी कार्यालयको कारोबार गएको साउनदेखि वाणिज्य बैंकबाट गर्ने व्यवस्था गरिँदा सेवाग्राहीको चाप ह्वात्तै बढेको भट्टले बताउनुभयो ।

तपाईको प्रतिक्रिया