काठमाडौं । अमेरिका प्रवेशको आसमा हवाई, जल र स्थलमार्ग हुँदै महिनौं लगाएर अमेरिका पुग्ने क्रम अझै रोकिएको छैन। अमेरिकास्थित दूतावासका अधिकारीहरूका अनुसार नेपालीहरू अझै पनि अमेरिका प्रवेश गर्ने अन्तिम विन्दुका रूपमा रहेको मेक्सिकोका विभिन्न क्षेत्रमा लुकीछिपी रहँदै आएका छन्।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएलगत्तै लिएको कडा अध्यागमन नीतिका कारण अलपत्र परेका ३ सय नेपालीमध्ये केही अझै मेक्सिकोमै छन्। बल्लतल्ल अमेरिका छिरेर चार महिनाको जेल बसाइपछि राहदानी बनाउन असोज पहिलो साता दूतावास आएकाहरूले मेक्सिकोमा अझै नेपाली अलपत्र रहेको जानकारी दिएका हुन्। तर मेक्सिको सरकारले भने आफ्नो देशको जेलमा कुनै पनि नेपाली नरहेको जानकारी नेपाली दूतावासलाई दिएको छ।

‘डीसीमा रहेको मेक्सिकोको दूतावासले यसै साता दिएको पत्रमा कुनै पनि नेपाली आफ्नो देशको जेलमा छैनन् भनिएको छ,’ नेपाली दूतावासका एक अधिकारीले भने।

अमेरिकाको न्युयोर्कस्थित महावाणिज्य दूतावासमा चार नेपालीको व्यथा तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले पनि सुने। आफ्नो नाम सार्वजनिक नगरिदिन आग्रह गर्दै उनीहरूले महरालाई भने, ‘भविष्य राम्रो हुन्छ भनेर अमेरिका आएका हौं। दुख निकै पाइयो। धेरै पैसा खर्च भयो। दलालहरूले सुरुमा सपना बाँड्छन्, रकम पनि थोरै २०/२५ लाख भन्छन् अनि बीच बाटामा पुगेपछि माग गर्दै जान्छन्, सुरु रकमको दोब्बर बढी तिरिसक्यौं।’

अमेरिका पुर्‍याउन तीन रुट उनीहरू दाङ, नवलपरासी र कपिलवस्तुका हुन्। उनीहरूले आफूहरूले ४५ लाखभन्दा बढी खर्च गरेर आएको उल्लेख गर्दै आफ्नो नाम र तस्बिर सार्वजनिक नगर्न आग्रह गरे। ‘दक्षिण अमेरिकी मुलुकको घना जंगल, समुद्र पार गर्दै ड्राइफुट र समुद्रकै पानी खाएर यहाँ आइपुगेका हौं,’ उनीहरूले भने, ‘कैयन् विदेशीले पनि आफूलाई नेपाली भनेर परिचय दिँदारहेछन्। तर हामी ९ जना मात्र थियौँ। पाँच जना डीसीमा रहेको दूतावासमा धाइरहेका छन्। हामी न्युयोर्कमा आइपुग्यौं।’ आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया