एजेन्सी – भारतको सरकारी अस्पताल अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)ले शल्यक्रिया गरी जोडिएको टाउको छुट्याइएका जम्ल्याहामध्ये एक जना होसमा आएको र आँखा खोलेको जनाएको छ। एम्सका एक चिकित्सकले शल्यक्रिया सफल भएको ४ दिनपछि जुम्ल्याहामध्ये जग्गाले होसमा आएको जानकारी दिए।

दुईबर्से जग्गाले हात चलाएको र भनेअनुसार मानेको बताइएको छ। भेन्टिलेटरमा रहेका जग्गाको मिर्गौलाको समस्याका कारण दैनिक डाइलाइसिस गर्नुपर्छ। अर्का जुम्ल्याहामध्ये अर्का कालिया भने अहिलेसम्म होसमा आएका छैनन्।

जन्मदैका जुम्ल्याहा जग्गा र कालियाको टाउको, रगतका नशाहरू र मस्तिष्कका तन्तुहरू आपसमा जोडिएका थिए । एम्सका ३० जना चिकित्सकको टोलीले लगातार १६ घन्टा शल्यक्रिया गरी दुवैको टाउको छुट्याउन सफलता पाएका थिए । भारतमा पहिलोपटक यस्तो शल्यक्रिया गरिएको थियो।

दुवै बालकहरूको स्वास्थ्य स्थिति स्थिर रहेको र उनीहरूको स्थितिमा आइरहेको सुधारबाट चिकित्सकहरू सन्तुष्ट भएको शल्यक्रियामा संलग्न चिकित्सक डा. दीपक गुप्ताले बताए। भारतको पूर्व दक्षिणी राज्य उडिसाका जुम्ल्याहाको टाउको जोडिएको थियो, जसलाई क्रेनियोपागस भनिन्छ । ३० लाख नवजात जन्मदा एउटा क्रेनियोपागस हुने सम्भावना हुन्छ र यस्ता नवजातमध्ये आधा २४ घन्टाभित्रै मृत्यु हुने चिकित्सक बताउँछन् । स्वास्थ्य खबरपत्रिकाले छापेको छ ।

उनीहरूको पहिलो शल्यक्रिया गत अगस्ट २८ मा गरिएको थियो । त्यसबेला चिकित्सकहरूले उनीहरूको मुटुबाट मस्तिष्कसम्म रक्तसञ्चार हुने एउटै नशाको बाइपास शल्यक्रिया गरी छुट्याएका अर्थात बेग्लाबेग्ले पारेका थिए ।

तपाईको प्रतिक्रिया