ललितपुर, कात्तिक १३ । परम्परागतदेखि सञ्चालन हुँदै आएको ‘कात्तिक नाच’ विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रुपमा चिनिदै आएको छ ।

मल्लकालीन राजा सिद्धिनरसिंह मल्लको पालादेखि सञ्चालित उक्त नाच देश र जनताको कल्याणार्थ सञ्चालन गरिएको जनविश्वास रहँदै आएको छ ।

नेपाल संवत् ७६१ तथा विसं १६९७ बाट कात्तिक नाचको प्रारम्भ भएको इतिहासमा उल्लेख गरिएको छ ।

ऐतिहासिक रुपमा साँस्कृतिक एवं तान्त्रिक मूल्य मान्यता बोकेको सो नाचको गरिमा आज पनि उत्तिकै प्रतिष्ठित रहेको छ ।

बहुचर्चित नाचका सर्जक एवं प्रवद्र्धक राजा सिद्धिनरसिंह मल्लका शिक्षा गुरु हरिवंश उपाध्याय तथा दिक्षा गुरु विश्वनाथ उपाध्यायको उक्त नाचमा तान्त्रिक पक्षमा योगदान रहेको पाइन्छ ।

धार्मिक राजा मल्लले देशमा शान्ति सु–व्यवस्था कायम राख्न र तत्कालीन जनतालाई एकै सुत्रमा बाँधेर मनोरञ्जन प्रदान गर्ने नाचको प्रमुख उद्देश्य रहेको पाइन्छ ।

यसबाहेक धार्मिक, नैतिक, सामाजिक ज्ञान दिनु नाचको अर्को विशेषता समेत रहेको छ ।

राजा सिद्धिनरसिंह मल्लको पालामा शुरु भएको उक्त नाच प्रथमपटक पाँच दिनबाट थालनी गरिएको इतिहासमा उल्लेख छ ।

सो नाचमा पछि उनका छोरा श्री निवास मल्लले बाथः प्याँख(लोक नाटक) १० दिन थपेर १५ दिनको पुर्‍याएको मानिन्छ ।

यसै नाचलाई श्री निवास मल्लका छोरा योगनरेन्द्र मल्लले उषा हरण तथा माधव वानल लीला थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरिएको पाइएको छ ।

सत्ताईस दिनसम्म देखाइने उक्त नाचको विशेषता भिन्न विषयवस्तु तथा भिन्न कथामा आधारित रहेर बेग्लाबेग्लै नाच नदोहोर्‍याई देखाइने पनि यस नाचको अर्को विशेषता रहेको छ ।

कात्तिक महिनामा देखाइने भएर यस नाचलाई कात्तिके नाचले नामाकरण गरिएको हो ।

राष्ट्रिय अमूर्त सम्पदा र परम्परागत रुपमा प्रदर्शन गरिने उक्त नाच सिंगो ललितपुरको मात्र नभएर सिंगो नेपालकै रहेको बताइएको छ ।

कात्तिक महिनामा सञ्चालन हुने सो नाच २००६ सालसम्म वर्षमा २७ दिनसम्म सञ्चालन भइरहेको कात्तिक नाच संरक्षण समितिका उपाध्याक्ष प्रतापधर राजोपाध्यायले बताए ।

उनका अनुसार विसं २००७ देखि २०३७ सम्म बराह र नृसिंह अवतार गरेर जम्मा दुई दिनका दरले प्रत्येक वर्ष नाच देखाउँदै आएको छ ।

यसैगरी विसं २०३८ देखि २०६९ सम्म प्रत्येक वर्ष आठ दिनका दरले नाच देखाइएको थियो । २०७० सालदेखि २०७१ सम्म प्रत्येक वर्ष १२ दिनसम्म नाच सञ्चालन गरिएको उनले बताए ।

यस्तै विसं २०७२ मा १० र २०७३ र २०७४ सालमा १२ दिनसम्म नाच सञ्चालन गरिएको उहाँको भनाइ रहेको छ ।

कात्तिक नाचका कलाकार समेत रहेका राजोपाध्यायका अनुसार प्रत्येक वर्षको कात्तिक कृष्ण प्रतिपदाबाट शुरु भएर कात्तिक शुक्ल पूर्णिमासम्म नाच देखाउनुपर्ने प्रचलन रहेको छ ।

कात्तिक महिनाभरिमा लक्ष्मीपूजा, म्हःपूजा र भाइटीका परेकाले नाच देखाइने समय २७ दिन पर्न गएको उनको कथन रहेको छ ।

समितिका अध्यक्ष एवं नाचका कलाकार किरण चित्रकारका अनुसार यस वर्षको कात्तिक नाच कात्तिक ७ गतेबाट शुरु भएर कात्तिक १८ गतेसम्म सञ्चलान रहनेछ ।

यस अवधिमा सुदामा प्याँख, बाथ प्याँख(कौला खिचा), उषा हरण लिलाअन्तर्गत वानासुरयात सहर्षभूज वरदान, उषा व अनिरुद्र शृृंगार, देवी प्याँख, युद्ध कला र वानासुर्या सहर्षभूज त्वाल्हाइगु नाच देखाइने छ ।

यसबाहेक जल शरण(मधु कटैव बध), बराह अवतार (हिरण्याक्ष बध), नृसिंह अवतार(हिरण्यकश्यपु बध), वस्त्रहरण लीला तथा दधि लीला नाच सञ्चालन गरिने जनाएको छ ।

उक्त नाच विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित कात्तिक नाच डबलीमा प्रत्येक साँझ ७ बजेदेखि प्रारम्भ भइरहेको अध्यक्ष चित्रकारले बताए ।

नाच हेर्न पाटनवासी तथा राजधानीका विभिन्न स्थानबाट दर्शक आउने गरेका छन् ।

राजा सिद्धिनरसिंह मल्लको पालामा पाटनमा बसोवास गरिरहेका जनतामा आलस्यता तथा स्वःस्फूर्ति नभएका कारण सो नाचको रचना गरिएको किम्बदन्तीमा उल्लेख गरिएको छ ।

नाचको प्रारम्भपछि जनतामा उल्लासमय छाएको र कल्याण भएको जनविश्वास रहँदै आएको अध्यक्ष चित्रकारले बताए ।

समितिका कोषाध्यक्ष एवं कलाकार उत्तमरत्न शाक्यका अनुसार नाचमा सम्मिलित प्रत्येक कलाकारले संगीतको तालमा आफ्नो नाच देखाउनुपर्ने छ ।

सो नाचमा भाग लिने नयाँ कलाकारले तीन महिनादेखि नाच सिक्नु आवश्यक रहेको उनको भनाइ रहेको छ ।

ललितपुर महानगरपालिका–११ बस्ने विजय तण्डुकारका अनुसार २०५७ सालदेखि २०६९ सालसम्म महादेवको द्वारपालका रुपमा रहेको जय र विजयमध्ये जयको भूमिकाको रुपमा नाचमा सहभागी हुँदै आएको छ ।

समितिका सचिव समेत रहेका तण्डुकार आगामी वर्षबाट कात्तिक नाच २७ दिनसम्म सञ्चालन गर्दै लैजाने लक्ष्य भएको बताउँछन् ।

सो नाच २७ दिनसम्म सञ्चालन गर्न आर्थिक अभाव रहेको उनको गुनासो रहेको छ ।

परम्परागतदेखि चल्दै आएको नाचको संरक्षण र भावी पुस्ताले सिक्दै जाओस् भन्ने उद्देश्यले यसलाई निरन्तरता दिनुपर्नेमा उनको जोड रहेको छ ।

तण्डुकारकाअनुसार नाचमा संलग्न कलाकारले परम्परागतदेखि चल्दै आएको गरगहना, मुकुट, औँंठी, हातमा लगाउने बाला, कण्ठी, घघंली, जबी, लभकर्णजस्ता पहिरन लगाउने गर्दछन् ।

महानगरपालिका–११ बस्ने पाटनढोकाका कलाकार सुरेश महर्जन नाचमा प्रदर्शन गरिने नृत्य त्यति सजिलो नभएको बताउँछन् । बाध्यबादनको तालमा नाच देखाउनु निकै कठिन रहेको उनको कथन छ ।

तपाईको प्रतिक्रिया