धादिङ, कात्तिक १३ -शनिबार बिहान ५ बजेतिर धादिङको गजुरी गाउँपालिका–५ बांगेमोडस्थित त्रिशूली नदीमा राजविराजबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस डुबेको खबर आएपछि हामी उद्धारका लागि क्षणभरमै तयार भयौं । यो खबर विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा कार्यरत सशस्त्र प्रहरी बलका जवान भट्टराईसँग राजधानीका रोशन श्रेष्ठले गरेको कुराकानीबाट लिएका हौ।

सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन तालिम केन्द्रमा कार्यरत हामीहरूको काम नै यथाशक्य चाँडो उद्धारमा खटिनु हो । एकाबिहानै सञ्चार सेटमा यस्तो दुःखद खबर आएपछि हामी आवश्यक सामग्री बोकेर त्यसतर्फ लाग्यौं ।

हामी सशस्त्र प्रहरी निरीक्षक अजयकुमार थापाको कमान्डमा १९ जनाको टोली घटनास्थल पुग्यौं । कुरिनटारस्थित हाम्रो तालिम केन्द्रबाट घटनास्थल ५५ किलोमिटरको दूरीमा पर्छ । हामी त्यहाँ पुग्दा त्यस्तै साढे ६ जति बजेको थियो ।

हामी घटनास्थल पुग्दा स्थिति अत्यन्तै कारुणिक थियो । यात्रुहरू जताततै छरिएका थिए । सबै यात्रु पीडाले छटपटिरहेका थिए । कतिपय उद्धार र सहयोगका लागि याचना गरिरहेका थिए । उनीहरूको स्थिति हेर्दा अधिकांश पौडेर नदीकिनारमा आउन सफल भएका जस्ता देखिन्थे । कतिपयमा भने आफन्त नभेटिएको पीडा देखिन्थ्यो । केही व्यक्ति भक्कानो छाडेर रोइरहेका थिए ।

पहिला नदीकिनारमा अलपत्र परेका १६ यात्रुलाई मुख्य सडकमा ल्यायौं । कसैलाई बोकेर ल्याउनुप¥यो भने कसैलाई डो¥याएर । सामान्य घाइते भएका कोहीकोही भने आफैं हिँडेर पनि मुख्य सडकमा आए । मुख्य सडकमा ल्याइसकेपछि उनीहरूलाई उपचारका लागि स्वास्थ्य केन्द्रमा पठाउने काम ग¥यौं । यी सबै काम गर्दा बिहान सवा ७ बजिसकेको थियो ।

घाइतेहरूलाई उद्धार गरिसकेपछि हामीहरू बसको खोजीमा जुट्यौं । बसको खोजीमा जुट्दा बिहानको साढे सात बजिसकेको थियो । हुन त हामीले घाइतेहरूको उद्धारका लागि नदीकिनारमा पुग्दा बस देखेका थिएनौं ।

बस पूरै डुबेको थियो । बस पुरै डुबेकाले कोही पनि यात्रु जीवित नरहेको भन्दै हामी घाइतेहरूको उद्धारमा जुटेका हौं । पानीमा डुबेको मान्छेको दुईतीन मिनेटमै मृत्यु भइसक्छ ।

सशस्त्र प्रहरी बलमा अहिले २० जना तालिमप्राप्त गोताखोरको टोली छ । कुरिनटारस्थित हाम्रो तालिम केन्द्रमा भने हामी पाँच जना मात्र गोताखोर छौं । त्यसबेला हाम्रो टोलीमा भने सशस्त्र प्रहरीका वरिष्ठ हबल्दार वीरेन्द्रबहादुर कार्की, हवल्दार नरेन्द्रसिंह भण्डारी र मसहित तीन जना गोताखोर थियौं ।

आवश्यक सामानसहित बसको खोजीका लागि हवल्दार भण्डारी र म पानीभित्र छि¥यौं । वरिष्ठ हवल्दार कार्की भने आवश्यक सहयोगका लागि बाहिर बस्नुभयो । पानीभित्र पस्दा सुरक्षाका लागि आवश्यक पर्ने सबै सामान हामीले बोक्यौं । पानीमा पस्दा सुट, बुट, नाइफ, मिडल, अक्सिजन, चस्मालगायतका सामान आवश्यक पर्छ । यी सामानसहित पानीमा पस्दा एक घण्टासम्म पानीभित्रै रहेर काम गर्न सकिन्छ ।

अक्सिजनले पनि एक घण्टा जति काम गर्छ । तर, पानी अत्यन्तै चिसो भएको, चाँडोचाँडो स्वास फेर्नुपर्ने परेकाले अक्सिजनले ४५ मिनेटभन्दा बढी काम गरेन । अर्काे कुरा, शव निकाल्नुपर्दा सास झन् चाँडो चाँडो फेर्नुपर्छ । बल पनि अलि बढी नै प्रयोग गर्नुपर्छ । समग्र उद्धारका हामी दुई जना गोताखोरले आठवटा जति अक्सिजन प्रयोग ग¥यौं ।

बिहान सबेरै भएकाले पानी अत्यन्तै चिसो थियो । छुँदा पनि हातै ठिहि¥याउने । पानी धेरै सङ्लो पनि थिएन, धेरै धमिलो पनि थिएन । जस्तोसुकै भए पनि पानीभित्र छिर्नैपथ्र्याे । पानीभित्र पसेको केही समयमै हामीले बस भेट्टाइहाल्यौं । सो बस पानीको सतहबाट झन्डै २० फिट जति गहिराइमा डुबेको थियो ।

त्रिशूली नदीमा डुबेका कतिपय बस, ट्रक र पूर्वगृहमन्त्री माधव घिमिरे सवार स्कारपिओ जिप अझै भेट्न सकिएको छैन । कतै यो बस पनि फेला नपर्ला कि भन्ने डर हामीमा थियो । तर, यस्तो भएन, हामीले समयमै बस फेला पार्न सक्यौं । पानीको जुन गहिराइमा बस भेटेका थियौं, त्यहाँ पानीको वेग तीव्र थिएन ।

नदीभित्रबाट १ सय ५० भन्दा बढी शव निकालेका सशस्त्र प्रहरी जवान भट्टराईको शनिबार धादिङमा भएको बस दुर्घटनाको उद्धार अनुभव

वेग तीव्र भएको भए बस भेट्न पनि मुस्किल पथ्र्यो । भेटिइहाले पनि उद्धारका लागि सारै गाह्रो हुन्थ्यो । पानीको वेग तीव्र भएको भए शवहरू बग्न पनि सक्थे। बस भेट्दा बसको अगाडिपट्टिको क्याबिनको भागको सिसा फुटेको थियो। हामी फुटेकै भागबाट बसभित्र पस्यौं । पानीभित्र झण्डै डेढ मिटरसम्म प्रस्ट देखिन्थ्यो । यसले हामीलाई मृत शरीर खोज्न धेरै समय लागेन ।

बस भेटियो, बसभित्र पस्यौं । बसभित्रको स्थिति अत्यन्तै दयनीय थियो । बसभित्र मृत शरीर जताततै देखिन्थ्यो । कतिपय शव त एकमाथि अर्काे खप्टिएको । धेरै त एकले अर्कोलाई हातमा समातेको जस्तो अवस्थामा थिए।

बसभित्र सबैभन्दा दर्दनाक र जीवनभर बिर्सिन पनि नसकिने एउटा घटना के थियो भने एक युवक र एक युवती सानो बच्चालाई बीचमा राखेर एकले अर्कालाई अँगालो मारेको अवस्थामा थिए ।

तीनवटै शवलाई हामीले अलगअलग नगरीकन बाहिर निकाल्यौं । तीनवटा शवलाई सँगै निकाल्दा बाहिर बसेका कतिपय अचम्ममा पनि परे । कारण के हो भने, केटा केटी दुबैले बच्चालाई च्यापेको । यो दृश्य अहिले पनि पटकपटक सम्झिरहेको छु ।

हामीले पानीभित्र बस भेट्दा कतिपय सिटहरू भाँचिएका थिए । धेरैजसो सिसा फुटेका थिए । बसभित्रबाट शव निकाल्नुपर्ने भएकाले कतिपय सिसा हामीले पानीभित्रै फुटायौं पनि । सामान्य अवस्थाका शव बाहिर निकाल्न हामीलाई दुई तीन मिनेट पनि लागेन ।

सिटले च्यापिएका, अड्किएका मृत शरीर निकाल्न अलि समय भने लाग्यो । एउटा पुरुषको शव निकाल्न भने हम्मेहम्मे नै प¥यो । त्यो शव दुई ओटा सिटको चेपमा अड्किएको थियो । त्यो शव निकाल्न झण्डै आधा घण्टा नै लाग्यो । झन्डै २० मिनेटसम्म हामी पानीभित्रै रह्यौं ।

पानीभित्र पसेका हामी दुई जनालाई ३१ वटा मृत शरीर निकाल्न साँझको ४ नै बज्यो । त्यसपछि सो बसलाई डोरीले बाँधेर अन्य साथीहरूको सहयोगमा नदी किनारमा ल्याउन सफल भयौं । घटनास्थलको प्रकृति र पानीभित्र बसको अवस्था हेर्दा केही व्यक्तिलाई बगाएको पनि हुन सक्छ ।

मैले बंगलादेशबाट तीन महिना लामो गोताखोर तालिम लिएको छु । सो तालिमका क्रममा म पानीको सतहबाट १ सय ८० फिट मुनिसम्म गएको छु । गोताखोर तालिम गरेका कतिपय साथीहरूको कानै नसुन्ने समस्या पनि देखियो । यो ‘रिकभर’ हुन पनि वर्षौ लाग्दो रहेछ ।

मलाई पानीभित्रबाट मृत शरीर निकाल्ने राम्रो अनुभव छ । तीन वर्षअघि जाजरकोटस्थित भेरी नदीमा भएको बस दुर्घटनाका ४७ जनाको शव पानीबाट निकाल्न पनि मैलै ठूलो भूमिका खेलेको थिएँ । यस्तै, फेवातालमा डुबेका दुई जनाको शव ३५ फिट मुनिबाट निकाल्न सकें ।

एक वर्षअघि सवारी दुर्घटनामा त्रिशूलीमा बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीका लागि त्रिशूलीको धमिलो पानीमा २५ फिटमुनिसम्म गएर खोजी गर्ने टोलीमध्येमा म पनि संलग्न थिएँ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चण्डीभन्ज्याङ–५ स्थित कालीखोलामा गएको पहिरोले बगाएर भीरमा अड्किएको शवलाई पनि कुशलतापूर्वक निकाल्न सफल भएको छु ।

यस्तै, पोखराको सेती नदीमा नुहाउन जाँदा एक जना युवक र एक जना युवतीको डुबेर मृत्यु भएको थियो । उनीहरूको शव साता दिनपछि खोंचमा अड्केको अवस्थामा भेटिएपछि सहायक हवल्दार शिरबहादुर थापा र मैलै रोप ट्विन मेथोडबाट शवलाई बाँधेर निकाल्यौं ।

६ जेठ २०७२ मा मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवन चण्डी भन्ज्याङ गाविस–५ स्थित कालीखोलामा पहिरोले बगाएर मृत्यु भएकी ५० वर्षीय मंगले चेपाङलाइ ¥याप्लिङ, क्लाइम्बिङ गर्दै भीरको ढुंगामा अड्किएको शवलाई तानेर काँधमा राखी भीरबाट ल्याएको थिएँ । मैलै अहिलेसम्म सानाठूला धेरै घटनामा नदीभित्रबाट मृत शरीर निकालेको छु । अहिलेसम्म डेढ सय कट्यो होला ।

तपाईको प्रतिक्रिया