झापा- झापा अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरण र शुक्रवार बिर्तामोडमा भएको प्रहरी दमनको घटनाका विषयमा आइतवारदेखि उच्चस्तरीय टोलीले छानविन सुरु गरेको छ ।

घटनापछि गृह मन्त्रालयले सहसचिव वीरेन्द्रकुमार यादवको संयोजकत्वमा गठन गरेको चार सदस्यीय उच्चस्तरीय छानविन समितिले काम सुरु गरेको हो । समितिका संयोजक यादवले घटनाको समग्र विषयमा अनुसन्धान थालिएको बताए ।

‘प्रहरीबाट गोली चल्या छ, मान्छे मर्‍या छ, हामी सत्यतथ्य छानविनका लागि आएका छौँ,’ उनले भने, ‘हामीसँग अब ५ दिन समय छ, हामी अनुसन्धानको क्रममा छौँ ।’

शिवाकोटीको मृत्यु प्रकरणलाई लिएर प्रहरीले गहिरो अनुसन्धान नगरेको भन्दै पीडित र गाउँले आन्दोलित भएपछि शुक्रवार बिर्तामोडमा शान्तिपूर्ण जुलुस निकालिएको थियो । जुलुसमा प्रहरी हस्तक्षेप भएपछि आन्दोलनकारी आगजनी र तोडफोडमा उत्रिएका थिए ।

शुक्रवार साढे एक बजेदेखि बिर्तामोडमा अनिश्चितकालिन कफ्र्यु लगाइएको थियो । कर्फ्युकाबीच भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा झापा अर्जुनधाराका नरेश थापाले ज्यान गुमाएका थिए । प्रहरीले चलाएको गोली लागेर अरु छ जना घाइते भएका छन् ।

नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रमेशकुमार भट्टराई, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव महानिरीक्षक चिरञ्जीवि अधिकारी र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हरिहर पौडेल सम्मिलित उच्चस्तरीय टोलीले आइतबार पीडित शिवाकोटी र थापा परिवारसँग छलफल गरेको छ ।

समितिले बिर्तामोड घटनाको बारेमा अनुसन्धान गरी सात दिनभित्र राय सुझावसहितको प्रतिवेदन गृह मन्त्रालयमा पेश गर्ने जनाइएको छ ।

१२ घण्टाका लागि कर्फ्यु फिर्ता

स्थानीय प्रशासनले बिर्तामोडमा शुक्रवार मध्यान्हदेखि लगाएको अनिश्चितकालिन कर्फ्यु आइतबार राति ९ बजेदेखि १२ घण्टाका लागि हटेको छ । सोमबार बिहान ९ बजेसम्मका लागि कफ्र्यु हटाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

९ बजेपछि फेरि कर्फ्यु लगाइने उनले बताए । स्थानीय प्रशासन, राजनीतिक दल र पीडित पक्षबीच शनिवार आठ बूँदे सहमति भए पनि बिर्तामोडमा लगाइएको कर्फ्यु अझै फिर्ता भएको थिएन ।

अर्जुनधाराका ११ वर्षीय बालक शिवाकोटीको मृत्यु प्रकरणलाई लिएर प्रहरीले गहिरो अनुसन्धान नगरेको भन्दै पीडित परिवार र गाउँले आन्दोलित भएपछि शुक्रवार डेढ बजेदेखि बिर्तामोडमा स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको थियो ।

यसअघि कर्फ्यु फिर्ता गर्ने विषयमा शनिवार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठक पनि बिना निष्कर्ष टुंगिएको थियो । कर्फ्युका कारण तीनदिनदेखि मेची अञ्चलको प्रमुख व्यापारिक सहर बिर्तामोड बन्द छ । बिर्तामोडका शैक्षिक संस्था र उद्योगधन्दा पनि बन्द छन् ।

जनजीवन कष्टकर बन्दै गएको छ । कफ्र्यु जारी रहँदा बिर्तामोडमा रहेका सरकारी कार्यालयको कामकाज पनि प्रभावित भएको छ ।

पूर्व पश्चिम राजमार्गमा सवारी आवागमन समेत ठप्प भएपछि बजारबासी मारमा परेका छन् । दैनिक उपभोग्य सामग्री खरिदमा समस्या भएपछि स्थानीय समस्यामा परेका छन् ।

मृतकको दाहसंस्कार

घटनामा प्रहरीको गोली लागेर मारिएका अर्जुनधारा–११ का नरेश थापाको आइतबार दाहसंस्कार गरिएको छ । नरेशको शव परिवारले आइतबार बिहान मात्र बुझेका थिए ।

तीन दिनदेखि उनको शव मेची अञ्चल अस्पतालमा राखिएको थियो । आइतबार अपरान्ह कन्काई माईमा उनको दाहसंस्कार गरिएको स्थानीयबासी एवम् अधिकारकर्मी टेकराज तिलिङले जानकारी दिए । नयाँ पत्रकिाले छापेको छ ।

शवयात्रामा बिर्तामोड तथा अर्जुनधाराका हजारौँ सर्वसाधारण सहभागी थिए । कर्फ्युकाबीच बिर्तामोडको मुक्तिचोक हुँदै शवलाई कन्काई माई लगिएको थियो ।

तपाईको प्रतिक्रिया