विराटनगर –

दृश्य १ : मोटरसाइकलको लाइसेन्स बनाउन निवेदन दिनुपूर्व लिनुपर्ने टोकनका लागि कोसी अञ्चल यातायात व्यवस्था कार्यालयमा आइतबार बिहानैदेखि हजारौँ मानिस लाइनमा बसे । भिड व्यवस्थापन गर्न प्रहरीले लाठीचार्जसमेत गर्नुप¥यो । प्रहरीको लाठीबाट मोरङ बुढीगंगा– १ का टीकाराम निरौलासहित अन्य दुईजना घाइते भए ।

दृश्य २ : संखुवासभा कञ्चनपुरका युवा पूर्णचन्द्र न्यौपाने, छक्कर दर्नाल, ईश्वर दाहाललगायत पाँचजना दुई दिन लगाएर लाइसेन्स बनाउन इटहरीस्थित यातायात कार्यालय आए । उनीहरू ११ कात्तिक साँझ ८ बजेदेखि चिसो रातको पर्वाह नगरी लाइनमा बसे । आइतबार दिनभरि भोकैप्यासै लाइनमा बसेर साँझ मात्रै उनीहरूले फारमका लागि टोकन पाए । उनीहरूमध्ये कसैले कात्तिक अन्तिम, कसैले पुस र कसैले माघ महिनामा लाइसेन्सको प्रक्रियाका लागि निवेदन दर्ता गराउने मितिसहितको टोकन पाएका छन् ।

दृश्य ३ : मोरङ कानेपोखरी बयरवनका अमित श्रेष्ठ श्रीमतीका लागि स्कुटीको लाइसेन्स बनाउन आइतबार बिहानै यातायात कार्यालय पुगे । हजारौँको लाइन देखेपछि उनले लाइनमा बस्ने हिम्मत गर्न सकेनन् । उनले एक हजार रुपैयाँ दिएर बिचौलियामार्फत टोकन लिए ।

दृश्य ४ : नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वसभापति कृष्ण अधिकारी आफन्तहरूले धेरै गुनासो गरेपछि केही सहयोग गर्न सकिन्छ कि भनेर आइतबार यातायात व्यवस्था कार्यालय पुगे । तर, त्यहाँको अवस्था देखेर उनी पनि चकित भए । पाँच किलोमिटर लामो लाइन । लाइसेन्सको प्रक्रियाका लागि टोकन लिन आएकाको मोटरसाइकलको ताँती र लाइन व्यवस्थापन गर्न प्रहरीले दिइरहेको दबाब देखेर उनी दिक्क भए ।

उनले मोबाइलबाट केही फोटो र भिडियो खिचे अनि फेसबुकमा स्टाटस लेखे, ‘अपराधीले मानव अपहरण गरेर फिरौती लिएकोभन्दा राज्यले नागरिकलाई यातना दिएर ठूलो अपराध गरिरहेको छ । ए प्रतिपक्षका नेताहरू हो नागरिकले पाएको यस्तो सास्तीबारे चाहिँ तिमीहरूले बोल्न पर्दैन ? हे सरकार विधि बनाएर रेगुलर लाइसेन्स दिने व्यावस्था मिलाउँदा के बिग्रन्छ ?’

लाइसेन्स बनाउने टोकन लिन २० हजार भेला

नौ महिनापछि खुलेको सवारी यातायातको लाइसेन्स बनाउने प्रक्रियाका लागि आइतबार करिब २० हजार सेवाग्राही यातायात कार्यालयमा भेला भएका थिए । उनीहरू अघिल्लो दिनदेखि नै टोकन लिन लाइनमा थिए । एक दिन मात्र फारम दर्ता गराउन टोकन खुलेकाले सबै पहिला लिन तँछाड मछाडमा लागेका थिए । तैपनि सबैले आइतबार टोकन लिन पाएनन् ।

टोकन पाँच सयदेखि १५ सय रुपैयाँसम्म ब्ल्याकमा बिक्री

हजारौँ मानिस लाइनमा बसेका वेला बिचौलियाहरूले निःशुल्क पाइने टोकन (फारम दर्ता गराउने मिति लेखेको चिट) पाँच सयदेखि १५ सय रुपैयाँसम्म बिक्री गरेका थिए । केही बिचौलिया प्रक्रियामा बसेर लाइसेन्स लिएमा महिनौँ लाग्ने र आउँदाजाँदा हजारौँ रुपैयाँ खर्च हुने भएको भन्दै आफूहरूले २० देखि ३० हजार रुपैयाँमा केही दिनमै मोटरसाइकलको लाइसेन्स बनाइदिने भन्दै सम्पर्क बनाइरहेका थिए ।

सोचेभन्दा धेरै मानिस आएकाले भिड व्यवस्थापन गर्न समस्या

कोसी अञ्चल यातायात व्यवस्था सवारी अनुमति कार्यालयका प्रमुख श्यामकुमार सिंहले सोचेभन्दा बढी सेवाग्राही आएकाले भिड व्यवस्थापन गर्न समस्या भएको बताए । उनले भिडलाई व्यवस्थापन गर्नकै लागि टोकन लिने व्यवस्था गरेको बताए । पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका एसपी राज लम्सालले लामो अन्तरालमा लाइसेन्स खुलाउँदा सोच्दै नसोचेको भिड भएको जानकारी दिए ।

उनले यातायात व्यवस्था कार्यालयले नियमित रूपमा लाइसेन्स दिन व्यवस्था मिलाएमा अहिले देखिएको समस्या र सेवाग्राहीले पाइरहेको यातना अन्त हुने बताए । ‘हप्तैपिच्छे पालो मिलाएर मोटरसाइकल, जिप, हेभी सवारीको लाइसेन्स दिने व्यवस्था गर्नुपर्छ,’ उनले भने ।

यसरी बन्छ लाइसेन्स

महिनौँपछि खुलेको लाइसेन्स लिने प्रक्रियाका लागि एक दिन मात्र टोकन लिन पाइन्छ । टोकनमा लेखिएको मितिमा हाजिर भएर यातायात कार्यालयबाट फारम लिएर फोटो खिचाएर दर्ता गराउनुपर्छ । त्यसपछि ट्रायलका लागि मिति तोकिन्छ । तर, ट्रायलमा एक हप्तासम्म पनि समय लाग्न सक्छ । ट्रायल सकेपछि लिखित परीक्षा हुन्छ र अन्तिम परिणाम सार्वजनिक गरिन्छ । त्यसपछि मात्र लाइसेन्स प्राप्त गर्न सकिन्छ ।

टोकन लिन पाँच किलोमिटर लामो लाइन

नौ महिनापछि खुलेको सवारी लाइसेन्स बनाउने प्रक्रियाका लागि आइतबार करिब २० हजार सेवाग्राही कोसी अञ्चल यातायात व्यवस्था कार्यालयमा भेला भए । उनीहरू अघिल्लो दिनदेखि नै टोकन लिन लाइनमा थिए । एक दिन मात्र फारम दर्ता गराउन टोकन खुलेकाले सेवाग्राहीको झन्डै पाँच किलोमिटर लामो लाइन लाग्यो । तैपनि सबैले आइतबार टोकन लिन पाएनन् । नयाँ पत्रिकाले छापेको छ ।

१५ सयको लाइसेन्स बनाउन कम्तीमा १५ हजार खर्च

टोकन लिने हजारौँ भएकाले लाइसेन्स लिन महिनौँ लाग्न सक्छ । सो समयमा लाइसेन्स लिनकै लागि कतिले तोकिएको बिहे सार्नुपर्ने, विदेश जाने मिति बदल्नुपर्नेसमेत हुन्छ । आइतबार घन्टौँ लाइनमा बसेर टोकन लिएका एक युवाले आफ्नो मंसिर अन्तिम साता बिहे परेकाले बिहे छाड्ने कि लाइसेन्स छाड्ने भन्ने दोधारमा परेको बताए । ‘बिहे छाडाैँ जीवनको कुरो छ, लाइसेन्स छाडौँ फेरि कहिले पाइएला थाहा छैन । फारम दर्ता गराउने मिति पनि त्यही समयमा परेको छ, के गर्ने के नगर्ने अन्योलमा परेको छु,’ उनले भने । पटकपटक धाउनुपर्ने झन्झटले बन्द व्यापार र पेसाकर्मीहरूले पाउने सास्ती त छँदै छ, खाने–बस्ने समस्या र आतेजाते यातायात खर्चको बोझले १५ सय रुपैयाँ राजस्व तिरेर प्राप्त गर्न सकिने लाइसेन्स १५ हजारभन्दा महँगो पर्न जान्छ ।

तपाईको प्रतिक्रिया