लन्डन । बेलायतका नेपाली व्यवसायीहरुले निर्माण गरेको चलचित्र ‘हयाप्पी डेज’ को ग्रयाण्ड रेड कार्पेट प्रिमियर शो आगामी १२ नोभेम्बरमा हुने भएको छ । प्रिन्सेस हल, अल्डरसटमा दिउसो २ बजे फिल्मका मुख्य कलाकारहरुको प्रत्यक्ष सहभागितामा रेड कार्पेट प्रिमियर शो हुन लागेको निर्माण पक्षले लन्डनमा एक पत्रकार सम्मेलनमार्फत जनाएको हो । माघ १२ देखि नेपाल भर प्रदर्शन हुने जानकारी पनि फिल्म युनिटले दिएको छ ।

पत्रकार सम्मेलनमा फिल्मका प्रस्तोता वी पी खनालले नेपालबाट आएका कलाकार र प्राविधिकहरु ४६ दिनसम्म बेलायतमै बसेर छायांकन गरिएकाले पनि यसको लगानी करिब २ करोड ५० लाख रुपैयां पुगेको जनाए । ‘हामीले फिल्मको क्वालिटीमा कुनै कम्प्रमाइज गरेका छैनौं’, खनालले भने, ‘फिल्म निर्माण आफैंमा चुनौतिपूर्ण व्यवसाय हो । तर, हामीले व्यापारिक लाभ मात्र उद्देश्य नराखी नेपाली चलचित्रको प्रवर्धन र यसलाई अन्तर्राष्ट्रिय स्तरमा पुरयाउन फिल्म निर्माणको जोखिम लियौं ।’ उनले नेपाली चलचित्रले फड्को मारिरहेका बेला बनेको हयाप्पी डेजले नेपाली चलचित्र उद्योगमा केही टेवा पुग्ने विश्वास समेत व्यक्त गरे ।

मिलन चाम्सको निर्देशन रहेको ‘हयाप्पी डेज’ बेलायतमै बस्ने नेपाली व्यवसायीद्वारा निर्मित हाइ बजेट र आशा गरिएको फिल्म भएको खनालले बताए । यसको प्रस्तोता वी पी खनाल र निर्माताहरुमा वीपी खनाल, हिरल जोशी, भवानी शर्मा, मिलन चाम्स् र डा. अशोक बन्साल छन् ।

तपाईको प्रतिक्रिया