नेपालगन्ज १२ कार्तिक । नेपालगन्ज भन्सार छलेर भित्राइएको ठूलो परिमाणको सामान प्रहरीले बरामद गरेको छ । भन्सार छलेर ट्रकमार्फत झण्डै ३० लाख रुपैयाँ बराबरको सामान भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो । संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जले बिना भन्सार नेपालगन्ज भित्र्याइएको यो मेसीनरी सामान बरामद गरी सोमबार सार्वजनिक गरेको छ । संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले युपी ३६ टी ७३०७ नम्बरको भारतीय ट्रकमा राखी नेपालगन्ज भित्र्याउँदै गरेको सामाग्री बरामद गरिएको संघीय प्रहरी ईकाई कार्यालय नेपालगन्जका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक महेशबिक्रम शाहले जानकारी दिए ।

भन्सार नाकाबाट नेपालगन्जतर्फ आउँदै गर्दा प्रहरीले महेन्द्र बहुमुखी क्याम्पस नजिक ट्रक नियन्त्रणमा लिएको थियो । दुर्गेश्वरी इलेक्ट्रिकल्स नेपालगन्जको नाममा आएको सामाग्री कसको हो भन्ने बिषयमा अहिलेसम्म नखुलेको एसएसपी शाहले बताए । नेपालगन्ज भन्सार कार्यालय र नेपाल प्रहरी र सशस्त्र प्रहरीका चेकपोष्ट पार गर्दै सामानसहितको ट्रक क्याम्पससम्म कसरी पुग्यो भन्नेमा आशंका गरिएको छ । प्रहरीले ट्रकसहित चालक भारत उन्नाउ ग्राम मोहीभान थानाका वीरेन्द्र कुमार पाल र सहचालक नरेन्द्र सिंहलाई पनि पक्राउ गरेको छ ।

भारतीय कागजात भएपनि नेपालगन्ज भन्सार कार्यालयमा भन्सार नै नगराई आएको बिषयमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले बिना भन्सार भारतीय गाडी सामानसहित भन्सार क्षेत्र पार गरेको जानकारी आएपछि छानबिन समिति गठन गरिएको जानकारी दिए । कतिपयले भन्सारकै सेटिङमा यस्ता सामग्री आउने गरेको वताउने गरेका छन् ।

तपाईको प्रतिक्रिया