काठमाडौं ।  कवि गोविन्दराज विनोदीद्धारा रचित महाकाव्य ‘कैकेयी’ राजधानीमा लोकार्पण गरिएको छ । साहित्यकार एवं प्राध्यापक डा. चूडामणि बन्धुको प्रमुख आतिथ्यमा सर्वनाम थिएटर कालिकास्थानमा आयोजित कार्यक्रममा साहित्यकार एवं प्राध्यापक राजेन्द्र सुवेदी, कवि एवं समालोचक प्रभा भट्टराई, साहित्यकार भुवनहरि सिग्देल, लेखक स्वयं र प्रकाशक शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलले संयुक्त रुपमा महाकाव्यको विमोचन गरेका हुन् ।

विमोचनपछि बोल्दै समालोचक राजेन्द्र सुवेदीले भने, ‘रामायणमा उपेक्षित नारी पात्र ‘कैकेयी’लाई केन्द्रमा राखी श्रृजना गरिएको प्रस्तुत महाकाव्य कला भाव, बिम्ब–प्रतीक र महाकाव्यिक चेतनाको दृष्टिले उत्कृष्ट रहेको छ ।’ प्रमुख अतिथि बन्धुले महाकाव्य समाकालिन समयमा पठनीय रहेको बताए । यसैगरी कवि तथा समालोचक प्रभा भट्टराईले नारीवादी दृष्टिकोणले प्रस्तुत कैकेयी महाकाव्य विशिष्ट रहेको बताइन् ।

उनले भनिन्, ‘रामायणको मिथकलाई आधुनिकतामा जोडिएको उत्कृष्ट महाकाव्य हो– कैकेयी ।’  कार्यक्रममा साहित्यकार भुवरहरि सिग्देलले स्वागत मन्तव्य राखेका थिए । युवा पुस्ताका छन्दकवि सुदेश सत्याल र मनोज भण्डारीले महाकाव्यका केही श्लोकहरू वाचन गरेका थिए ।  शिखा बुक्सले प्रकाशनमा ल्याएको कृतिको मूल्य रु तीन सय रहेको छ ।

तपाईको प्रतिक्रिया