काठमाडौँ : जलवायुका परिवर्तनको असर कृषि, वन, वातवारण, जलविद्युत् र मानव स्वास्थ्यमा देखिन थालेको यहाँ सम्पन्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले जनाएको छ ।

काठमाडौँ इन्स्टिच्युट अफ एप्लाइड साइन्सद्वारा शुक्रबारदेखि काठमाडौँमा आयोजित सम्मेलनको समापनका क्रममा सहभागी राष्ट्रका प्रतिनिधिले जलवायु परिवर्तनको समस्या समयमै समाधान गर्न सम्बन्धित मुलुकका सरकार प्रमुखलाई सुझाव दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल, भारत, बंगलादेश, इरान, इटली, संयुक्तराज्य अमेरिकालगायत दुई दर्जन मुलुकका विज्ञ तथा कृषि, वातावरण विषयका करिब १५० विद्यार्थीले गरेका अनुसन्धानपत्र सम्मेलनमा प्रस्तुत गरिएका थिए ।

इलामस्थित इन्स्टिच्युट अफ एग्रीकल्चर एण्ड एनिमल साइन्समा हर्टिकल्चर विषयमा स्नातक अध्ययनरत वर्षा बास्तोलाले ‘बायो प्राइमिङ अफ सिड’ विषयमा अनुसन्धानपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम आयोजक संस्था काठमाडौँ इन्स्टिच्युट अफ एप्लाइड साइन्सले सहभागी राष्ट्रका प्रतिनिधिले जलवायुका क्षेत्रमा गरेको खोज अनुसन्धानबारे सम्मेलनमा भएको छलफलबाट एकआपसमा अनुभव आदानप्रदान गर्न सहयोग पुग्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया