काठमाडौँ – पानी हाम्रो स्वास्थ्यका लागि अति आवश्यक छ । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।

हाम्रो जीवनमा दैनिक रूपमा डेढदेखि दुई लिटरसम्म पानी आवश्यक हुन्छ । हामी धेरैको पानी पिउने बानी उस्तै छ । पायौँ भने एकैपटकमा एक लिटरसम्म पिउने, नपाए तिर्खा घटाएर पनि बस्ने । सधैँ केही समयको अन्तर राखी पानी पिउने गर्नुपर्दछ । पानी एकैपटक धेरै खाँदा किड्नीमा ओभरलोड हुन्छ र समस्या उत्पन्न हुन्छ ।

बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउने गर्दा शरीरका अर्गानहरू खुल्छन् । यसले स्वास्थ्यमा फाइदा पुग्छ । हाम्रो शरीरमा डेढदेखि दुई लिटर पानीको मात्रा भएन भने बेहोस हुने, खुट्टा फर्कने, थकाइ लाग्ने, टाउको दुख्ने, झर्को लाग्नेजस्ता समस्या देखा पर्ने हुन्छ ।

लामो समय पानी नपिउँदा कहिलेकाहीँ मानिस बेहोस हुन सक्छ । यस्तो अवस्थामा पानी पिउन सकिएन भने ज्यानसमेत जान सक्छ ।

पानी कम हुँदा हाम्रो छालामा असर पर्छ । पानीको कमीले छालामा सुक्खापन आउने, चाउरी पर्नेजस्ता समस्या देखा पर्न सक्छन् । यति मात्रै होइन, शरीरमा एलर्जी हुन सक्छ । स्वस्थ छालाका लागि हामीले शरीरलाई आवश्यक मात्रामा पानी पिउने गर्नुपर्दछ । पानीसँगसँगै झोल पदार्थ भएका खानेकुरा पनि प्रयोग गर्नुपर्छ । फलफूल, सागपात प्रशस्त मात्रामा खाने गर्नुपर्दछ ।नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया