दमक । चुनाव केन्द्रीत लोकतान्त्रिक गठबन्धनका कारण नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको राजनीतिक करियर संकटमा परेको छ। मंसिरको निर्वाचनमा प्रत्यक्षबाट चुनाव लड्न नपाउने भएपछि उनको राजनीतिक भविष्यप्रति चिन्त व्यक्त गर्न थालिएको छ।

सिटौला अढाई दशकदेखि झापा क्षेत्र नं ३ बाट चुनाव लड्दै आएका थिए। राम्रो पकड र चाहना हुँदाहुँदै पनि आगामी निर्वाचनमा प्रतिनिधिसभाका लागि सिटौलाले चुनाव लड्न नपाउने भएका छन्। उक्त क्षेत्रबाट गठबन्धनभित्रको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का महामन्त्री राजेन्द्र लिङ्देन उम्मेदवार बन्ने भएका छन्। चुनावी गठबन्धन जोगाउन कांग्रेसले राप्रपालाई उक्त क्षेत्र छाड्नुको विकल्प छैन।

राप्रपाले देशभरमै उक्त क्षेत्र सुरक्षित दाबी गर्दै आएको छ। प्रतिनिधिसभातर्फ २८ सिट रहेको प्रदेश नं १ मा राप्रपाले एक मात्र क्षेत्र झापा ३ मागेको हो। राप्रपाको निर्विकल्प अडानका कारण कांग्रेस नेतृत्वमाथि दबाब बढेको हो।

उक्त क्षेत्र राप्रपालाई छाड्नुपर्ने भएपछि नेता सिटौलाको नाम कांग्रेसले समानुपातिकको बन्द सूचीमा राखेर निर्वाचन आयोगलाई बुझाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले सल्लाह नै नगरि आफ्नो नाम समानुपातिक सूचीमा राखेको भन्दै सिटौलाले असन्तुष्टी राख्दै आएका छन्। तर, सरकार र गठबन्धन दुवै जोगाउनुपर्ने दबाबमा रहेका सभापति देउवाले सिटौलाको असन्तुष्टीलाई नजरअन्दाज गरे।

आफ्नो निर्णयबारे नेतृत्वमा दबाब बढाउन सिटौला भर्खरै तीन दिन आफ्नो क्षेत्र घुमेर काठमाडौं फर्किए। उक्त समय उनले क्षेत्रभित्रका चार वटै स्थानीय तहका अगुवा कार्यकर्तालाई भेट गरे। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया