काठमाडौँ । नाइजेरियादेखि भारतसम्मै तस्करी गर्ने गरी ‘नेटवर्किङ’ गरेर चिम्पान्जी, बाँदर र अफ्रिकी चरा काठमाडौं ल्याइएको खुलेको छ । यसमा भारतीय र पाकिस्तानी नागरिकको मुख्य भूमिका देखिएको छ।

वन्यजन्तु तस्करीमा पक्राउ परेकाहरूसँग जिल्ला वन कार्यालय काठमाडौंले बयान लिने क्रममा यस्तो तथ्य भेटिएको हो । ‘नाइजेरियादेखि भारतसम्मै वन्यजन्तु तस्करीको नेटवर्क भएको पाइयो,’ उक्त घटनाबारे अनुसन्धानको जिम्मा पाएका सहायक वन अधिकृत उत्सव थापाले बिहीबार भने, ‘काठमाडौं विमानस्थलमा पनि नेटवर्कले नै काम गरेको देखिन्छ ।’

पक्राउ परेकामध्ये भारतीय र पाकिस्तानी नागरिकबीच सुमधुर सम्बन्ध भएको र उनीहरूमार्फत नै स्थलमार्ग हुँदै ती वन्यजन्तु काठमाडौंबाट भारत पठाउने योजना रहेको समेत खुलेको छ । वन कार्यालय काठमाडौंले असोज ३१ गते चिम्पान्जी, बाँदर र चरा तस्करीमा संलग्न अभियोगमा पक्राउ परेका ६ जनासँग बयान लिने काम सकेको छ । तिहारअघि नै पक्राउ परे पनि सार्वजनिक बिदाका कारण बयान ढिलो भएको हो ।

पक्राउ परेकामध्ये बारा स्थायी घर भई कपन बस्ने ४२ वर्षीय राजकुमार तिवारीसँग तिहारअघि नै बयान लिइएको थियो । भन्सारबाट ती वन्यजन्तु छुटाउन उनले मुख्य भूमिका खेलेका थिए । उनले विगतदेखि नै वन्यजन्तु तस्करीमा सहयोग गर्ने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को रेकर्डमा छ । उनी भन्सारका एजेन्ट हुन् ।

वन कार्यालयले कामनपा ३ बाँसबारीका ४० वर्षीय सञ्जीव भारी, पाकिस्तान कराँचीका ५५ वर्षीय जावेद अस्लम खान, भारत लखनउका ३५ वर्षीय चाँदबाबु मोहम्मद सरिफ, विहार पटनाका ५४ वर्षीय मोहम्मद फइम र पटना स्थायी घर भई स्वयम्भू बस्ने ३४ वर्षीय मोहम्मद उस्मान ९छोटु० सँग बयान लिएको हो । आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया