वासिङ्टन-अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उहाँका चिनियाँ समकक्षी सि जिनपिङ हालै भएको चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनबाट अर्को कार्यकालका लागि चयन हुनुभएकोमा उहाँलाई बधाई दिनुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट् गर्दै चिनियाँ राष्ट्रपति सिसँग फोनमा कुराकानी गरेको र चीनको नेतृत्वमा शक्ति संगठित गरेर पाएको ‘असाधारण उचाइ’ का लागि वधाई दिएको जानकारी गराउनुभएको छ । कुराकानीमा दुई नेताबीच उत्तर कोरिया र अमेरिका चीन व्यापारका बिषयमा कुराकानी भएको पनि जनाइएको छ ।

कुनै स्पष्ट उत्तराधिकारी नभएपछि पुनः निर्वाचित भएका सिले अर्को पाँच वर्षका लागि आफ्नो पकड बलियो बनाउनु भएको छ । चीनको संविधानमा राष्ट्रपति सिको नाम र उहाँका सिद्धान्तहरुलाई समेत उल्लेख गरिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना समकक्षी चिनियाँ नेता सि शक्तिशाली नेता रहेको अमेरिकी फक्स विजिनेस न्यूज टेलिभिजनलाई बताउनुभएको छ । “उहाँ एक असल मान्छे हो ।”

अन्तवार्तामा अमेरिकी राष्ट्रपतिले भन्नुभयो, “केही मानिसले उहाँलाई चीनको राजा नै भन्छन् तर उहाँ राष्ट्रपति हो ।” धेरै राम्रो सम्बन्ध रहेको छ ।” “यो सकारात्मक कुरा हो । यदि रसिया र अन्य मुलुकसँगपनि यस्तै राम्रो सम्बन्ध भएमा राम्रो हुनेछ ।”

तपाईको प्रतिक्रिया