काठमाडौं – अभिनेत्री आसिन आमा बनेकी छिन् । सन् २०१६ को जनवरीमा व्यापारी राहुल शर्मासँग प्रेम विवाह गरेकी असिनले मंगलबार कोच्चीको एउटा अस्पतालमा छोरी जन्माएकी हुन् ।

कतिपय हिरोइनले गर्भवती भएका वेलासमेत फोटोसेसन गरेर प्रचार गर्ने गरेका छन् । तर, आसिनले भने आफू आमा बन्न लागेको कुरा लुकाएरै राखेकी थिइन् । आसिन र राहुललाई बधाई दिन अभिनेता अक्षयकुमार एक्कासि अस्पताल मात्र पुगेनन्, नवजात शिशुलाई बोकेर फोटो खिचाउनुका साथै इन्स्ट्राग्राममा पोस्ट पनि गरे । अक्षय, आसिन र राहुल, दुवैका निकट मित्र मानिन्छन् । उनीहरूको लभ स्टोरीको असली हिरो अक्षयकुमार हुन् । आसिन र राहुलको पहिलोचोटि सन् २०१२ मा मुम्बई एयरपोर्टमा भेट भएको थियो । त्यतिवेला आसिन र अक्षयकुमार आफ्नो फिल्म हाउसफुल २को प्रमोसनका लागि एउटा टुर्नामेन्टमा जाँदै थिए । त्यहीँ अक्षयले राहुल र आसिनबीच परिचय गराइदिएका थिए ।

उनीहरूको त्यो परिचय पछि दोस्ती हुँदै प्रेममा बदलिएको थियो । राहुलको कम्पनी नै त्यो टुर्नामेन्टको मुख्य प्रायोजक भएको कुरा आसिनले पछि थाहा पाइन् । त्यहाँदेखि उनीहरूको अफेयर सुरु भयो । र, पछि उनीहरूले बिहे नै गरे । बाबुआमा बनेकोमा आसिन र राहुलले परिवारमा ‘परी’को आगमन भएको भन्दै विज्ञप्तिमार्फत खुसी व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया