एजेन्सी – समयसँगै महिला क्रिकेट धेरै बदलिएको छ । तर, कमै क्रिकेटप्रेमीलाई थाहा हुन सक्छ, कुनै एक समय थियो, महिला क्रिकेटरहरू छोटो स्कर्ट तथा फ्रक लगाएर खेल्थे । सन् १८८७ मा योर्कसायरमा सबैभन्दा पहिले महिला क्रिकेट क्लब स्थापना भएको थियो । योर्कसायर उत्तर इंग्ल्यान्डको प्राचीन जिल्ला हो । त्यतिखेर महिला क्रिकेटरका लागि कुनै खास ड्रेस कोड थिएन । यो क्लबमा सामेल महिला क्रिकेटरले स्कर्ट लगाएर खेल्न सुरु गरे । यो चलन लामो समयसम्म रह्यो ।

सन् १९३० सम्म महिला टिमले फ्रक लगाएर क्रिकेट खेल्थे । तर, १९३४ मा यो ड्रेस बदलियो, जब इंग्ल्यान्डको महिला क्रिकेट टिम पहिलोपटक अस्ट्रेलिया भ्रमणमा गयो । यहाँ इंग्ल्यान्ड क्रिकेट टिमले फ्रकको सट्टा स्कर्ट पहिरिन सुरु गरे जुन उनीहरूलाई निकै सहज पनि लाग्यो । सन् १९९७ सम्म पहिलोस्तरको क्रिकेटमै यो खालको ड्रेस रह्यो । १९९७ मा इंग्ल्यान्डको चार्लोट एडवड्र्सले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल स्कर्ट र घुँडासम्म आउने मोजा पहिरिएर खेलेको थियो । तथापि, महिला क्रिकेटरको लगातारको मागपछि ‘वुमन क्रिकेट एसोसिएसन’ले पुरुष र महिलाका लागि एकैखाले ड्रेस कोड बनायो । यो ड्रेस कोड १९९७ को अन्त्यतिर मात्रै सुरु गरिएको हो ।

एसोसिएसनले क्रिकेटलाई व्यावसायिक बनाउन पनि पुरुष र महिलाका लागि एउटै ड्रेस राख्ने निर्णय गरेको हो । तर, यो बदलावको पक्षमा धेरै महिला क्रिकेटर सहमत थिएनन् । नयाँ पत्रिकाले छापेको छ ।

सन् १९९३ देखि २००३ को बीचमा इंग्ल्यान्डकी कप्तान रहेकी करिन स्मिथिसले भनेकी छिन्, ‘मलाई लागेन कि स्कर्ट पहिरिएर खेल्दा कुनै नराम्रो या असहज भयो, मलाई त यो डर छ कि ट्राउजर लगाएर खेल्दा हामी कतै पुरुषजस्ता त देखिएका छैनौँ ?’

तपाईको प्रतिक्रिया