काठमाडौँ । ८८ केजी सुन तस्करीको अनुसन्धानमा सशस्त्र प्रहरी बलले असहयोग गरेको छ। तस्करीमा सहयोग गरेको आशंकामा केही सशस्त्र प्रहरीलाई सोधपुछका लागि पठाउन प्रहरीले पटकपटक पत्राचार गरे पनि सशस्त्र प्रहरीले कुनै जवाफ दिएको छैन।

दुई महिनाअघि प्रहरीले काठमाडौंमा बरामद गरेको ८८ केजी सुन प्रहरीकै सहयोगमा नाकाबाट पास भएको अनुसन्धानमा खुलेपछि प्रहरीमाथि पनि छानबिन सुरु भएको हो। पक्राउ परेका चालकहरूले सशस्त्र प्रहरीले नै आफूहरूलाई चिनियाँ तस्करसँग चिनजान गराएर नाकामा गाडी चलाउन लगाएको बयान दिएका छन्।

प्रहरी हिरासतमा रहेका चालक दाम्पा तामाङले सशस्त्र प्रहरीले नै आफूलाई चिनियासँग चिनजान गराई गाडी पास गराउन लगाएको बयान दिएका हुन्। चिनियाँ नागरिक सशस्त्र प्रहरीको भिआइपी कक्षमा बसेको र उनले एक हजार रुपैयाँ र चाबी दिएर गाडी चलाउन लगाएको उनको बयान छ।

सोही बयानका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले त्यसवेला ड्युटीमा रहेका सशस्त्र प्रहरीलाई सोधुपुछका लागि पठाउन पत्राचार गरेको थियो। पत्राचार गरे पनि सशस्त्र प्रहरीले सम्बन्धित कर्मचारीलाई नपठाएको काठमाडौं परिसरका डिएसपी बेलबहादुर पाण्डेले बताए । उनले भने, ‘काठमाडौं परिसरले सशस्त्र प्रहरीलाई त्यसवेला ड्युटीमा रहेका पाँचजना सशस्त्र प्रहरीलाई उपस्थित गराउन दुईपटक पत्राचार गरिसकेको छ । तर, पनि सशस्त्रले कुनै जवाफ दिएको छैन, ती कर्मचारी पठाएको पनि छैन ।’

सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी बाबुराम पाण्डेले भने अनुसन्धानमा आफू काठमाडौं परिसरले सीधै सीमा सुरक्षा कार्यालयलाई पत्राचार गरेको थियो । प्रहरी मुख्यालयले सशस्त्र प्रहरी मुख्यालयलाई पत्राचार गर्नुपर्ने सशस्त्र प्रहरीका अधिकारीको भनाइ छ ।

सुन तस्करीमा सशस्त्र प्रहरीको संलग्नता नभएको डिआइजी पाण्डे बताउँछन् । ‘ड्युटीमा रहेका प्रहरीले चालक खोजिदिनेसम्मको काम गरेको देखिन्छ,’ उनले भने, ‘मानवीय हिसाबले सहयोग गरेको हुन सक्छ, हामीले अनुसन्धानमा सहयोग नै गरिरहेका छौँ।’

स्रोतका अनुसार ८८ किलो सुन तस्करी हुनुभन्दा केही दिनअघि मात्र सुन तस्करीमा संलग्न चिनियाँ नागरिकले सीमा नाकामा कार्यरत सबै प्रहरी तथा कर्मचारीहरूलाई ब्लांकेट बाँडेका थिए। उनले चीनबाट ल्याएर एक ट्रक ब्लांकेट बाँडेको स्रोत बताउँछ।

१९ भदौमा प्रहरीले ८८ केजी सुन क्षेत्रपाटीबाट बरामद गरेको थियो। सुन तस्करीमा सेटिङ मिलाउने रसुवाका मानबहादुर तामाङलाई गत साता मात्र प्रहरीले पक्राउ गरेको थियो। उनै तामाङले सीमा सशस्त्र प्रहरी र चेकपोस्टका प्रहरीलाई सेटिङ मिलाएर तस्करी गराएको प्रहरी अधिकारीहरू बताउँछन्।

तामाङको सशस्त्र र नेपाल प्रहरी अधिकारीसँग राम्रो सम्बन्ध थियो। सोही कारण उनले आफ्नो मोबाइलको लकसमेत खोल्न मानेका छैनन्। प्रहरीहरूसँगको कुराकानी खुल्ने भएकाले उनले मोबाइल लक खोल्न नमानेको अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले बताए। उनले तस्करीमा प्रहरीलाई चिन्न सजिलो हुने गरी गाडीमा भिआइपीको लोगोसमेत राखेका थिए।

कांग्रेसबाट प्रदेश सभाको समानुपातिमा सिफारिस भएका तामाङ ८८ किलो सुनका मालिक चिनियाँ नागरिक पेन वेइमिङ र उनकी श्रीमतीका विश्वासपात्र हुन्। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया