नेपालगन्ज ०८ कार्तिक । हतियारसहित बाँकेमा एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । कटुवा पेस्तोलसहित भारत बहराईच अन्र्तगत रुपैडिंया जिया गाउँ बस्ने २५ वर्षीय रमजान खानलाई बाँकेको जानकी गाउँपालिका ६ डिठ्ठापुरवा चोकबाट मगलबारराती पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता सुधिर शाहीले जानकारी दिए । बुधबार पत्रकार सम्मेलनको आयोजना गरि खानलाई सार्वजनिक गर्दै प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरिएको जनाएको छ । प्रदेश नम्वर पाँच र ६ का पहाडी जिल्लामा मंसिर ११ गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा चुनावमा बाँकेका खुलासीमाबाट हतियार भित्र्न सक्ने भएकाले त्यसलाई मध्यनजर गरेर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी प्रवक्ता शाहीले बताए । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका नरैनापुर गाउँपालिका ६ का वालाप्रसाद मौर्यलाई पनि पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया