काठमाडौं – अजय देवगणले अभिनय गरेका थुप्रै फिल्म सुपरहिट भएका छन् । अभिनयका साथै फिल्म निर्माण र निर्देशनमा समेत सक्रिय अजय अभिनीत पछिल्लो फिल्म ‘गोलमाल’ अगेनले अहिले धुम मच्चाइरहेको छ । झन्डै तीन दशक लामो बलिउड करिअरमा अजयका केही फिल्म नराम्रोसँग फ्लप भएका पनि छन् । भारतीय अनलाइनले अजयका १० वटा फ्लप फिल्मबारे रिपोर्ट तयार पारेको छ :

राजु चाचा सन् २००० मा बनेको ‘राजु चाचा’ अजयको फ्लप फिल्म हो । अनिल देवगणले निर्देशन गरेको फिल्ममा अजयका साथ काजोल र ऋषि कपुर मूख्य भूमिकामा छन् । २५ करोड भारुमा बनेको यो फिल्मले १८ करोड मात्र कमाएको बक्स अफिसमा उल्लेख छ ।

चोरी चोरी सन् २००३ मा बनेको ‘चोरी चोरी’ अजयको फ्लप फिल्म हो । प्रेमकथानक चोरी चोरीमा अजयका साथ रानी मुखर्जी प्रमुख भूमिकामा थिइन् । मिलन लुथरियाले निर्देशन गरेको फिल्मको बजेट ७ करोड भारु हो । व्यापार भने चार करोड मात्र गरेको बताइन्छ ।

रेनकोट निर्देशक ऋतु पार्नाे घोष निर्देशित सन् २००४ को फिल्म ‘रेनकोट’ अजयको फ्लप फिल्म हो । अजयका साथ ऐश्वर्या राय प्रमुख भूमिकामा रहेको सो फिल्ममा अजय आर्थिक अवस्था जीर्ण भएको असफल प्रेमीको भूमिकामा छन् । पाँच करोड भारुमा बनेको रेनकोटले जम्मा साढे तीन करोड व्यापार गरेको थियो । आर्थिक रूपमा असफल भए पनि समीक्षकले रेनकोटको भने निकै तारिफ गरेका थिए ।

मै ऐसा हि हुँ निर्देशक ह्यारी बवेजाको अर्काे फ्लप फिल्म हो, ‘मै ऐसा हि हुँ’ । सन् २००५ मा रिलिज भएको यो फिल्म सात करोड भारुमा बनेको थियो । व्यापार भने जम्मा चार करोड मात्र गरेको बताइन्छ । फिल्ममा अजयका साथ सुस्मिता सेन, इशा देओल प्रमुख भूमिकामा छन् ।

ब्ल्याकमेल ‘ब्ल्याकमेल’ अजयको अर्काे असफल फिल्म हो । अनिल देवगणले निर्देशन गरेको यो फिल्ममा अजयका साथ प्रियंका चोपडा र सुनील सेट्टी मुख्य भूमिकामा छन् । सन् २००५ को यो फिल्म साढे नौ करोड भारुमा बनेको हो भने कमाइचाहिँ जम्मा ६ करोड गरेको थियो ।

रामगोपाल बर्माकी आग निर्देशक रामगोपाल बर्माले आफ्नै नाममा फिल्म बनाए–‘रामगोपाल बर्माकी आग’ । सन् २००७ को यो फिल्ममा अजयका साथमा अमिताभ बच्चन, निशा कोठारी प्रमुख थिए । २१ करोड भारुमा बनेको यो फिल्मले कुल १० करोड मात्र कमाएको थियो । यो फिल्मको असफलतापछि बर्माले साना बजेटका फिल्ममा जोड दिन थालेका हुन् ।अजयका १० फ्लप फिल्म नयाँ पत्रिकामा खबर छ ।

हल्ला बोल २७ करोड भारुमा बनेको ‘हल्ला बोल’ले जम्मा १७ करोडको व्यापार गरेको थियो । सन् २००८ मा बनेको यो फिल्ममा अजयका साथमा विद्या बालन र पंकज कपुर मुख्य भूमिकामा छन् । फिल्म राजकुमार सन्तोषीले निर्देशन गरेका हुन् ।

आक्रोश अजयको अर्काे फ्लप फिल्म हो– ‘आक्रोश’ । सन् २०१० मा प्रियदर्शनले निर्माण गरेको यो फिल्ममा अजयका साथमा परेश रावल, अक्षय खन्ना र विपाशा बसु मुख्य भूमिकामा छन् । ३८ करोड भारुमा बनेको फिल्मले जम्मा १७ करोडको व्यापार गरेको थियो ।

टुनपुरका सुपर हिरो निर्देशक किरिट खुरानाको ‘टुनपुरका सुपर हिरो’ अजयको सुपर फ्लप फिल्म हो । २५ करोड भारु लगानी लागेको फिल्मले देशभर जम्मा चार करोड मात्र कमाएको थियो । फिल्ममा अजयका साथ काजोल, तनुजा, मुकेश तिवारी प्रमुख भूमिकामा छन् । फिल्म सन् २०१० मा रिलिज भएको थियो ।

तेज ‘तेज’ पनि अजयको फ्लप फिल्म हो । सन् २०१२ मा रिलिज भएको यो फिल्मले २१ करोड मात्र कमाएको थियो । जब कि फिल्म ५२ करोड भारुमा बनेको बताइन्छ । प्रियदर्शन निर्देशित फिल्ममा अजयका साथ अनिल कपुर, कंगना रनावट, समीरा रेड्डीलगायतले अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया