काठमाडौँ । म्यादी प्रहरीमा भर्ना हुन आएका मकवानपुर बकैया-४ का करिब २४ वर्षीय प्रेमप्रसाद घिमिरेको दौडिने क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा-४, हुप्रचौरमा म्यादी प्रहरी भर्ना छनोट गरिरहेको छ। सोही क्रममा दौडमा सहभागी घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार झाले जानकारी दिए। सोमबार दिउँसो करिब ३ बजे दौडमा सहभागी घिमिरे केही समय दौडिएपछि ढलेका थिए।

१ किलोमिटर दौडको करिब २० मिटर बाँकी रहँदा ढलेका घिमिरेलाई उपचारका लागि हेटौँडा-११ स्थित चुरेहिल अस्पतालमा लगे पनि साँझ ५ बजे अस्पतालले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक झाले जानकारी दिए।

मंसिरमा हुने केन्द्र र प्रदेश सभाको निर्वाचनमा म्यादी प्रहरीको छनोट मकवानपुरमा सुरु भएको छ। जिल्लामा आवश्यकभन्दा तेब्बरको आवेदन परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले बताए।

८ कात्तिकमा रिजल्ट प्रकाशन गरिने र त्यसपछि लिखित र मौखिक परीक्षा तयारी भएको प्रहरी उपरीक्षक खनालले बताए। जिल्लामा म्यादी प्रहरीका लागि एक हजार तीन सय २८ जनाको आवश्यकता छ। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया