काठमाडौँ – आफूले हासिल गर्न चाहेको विद्या प्राप्त गर्न अध्ययन गर्ने स्थान पनि सही हुनुपर्छ । वास्तुको नियमअनुसार जमिनको ३६० डिग्रीमा फरक–फरक ज्ञान विद्यमान हुन्छ । सोहीअनुसार अध्ययन गर्दा ब्रह्माण्डका अलौकिक ज्ञानसँग साक्षात्कार भइन्छ । जसले गर्दा सो ऊर्जाले हाम्रो मस्तिष्कमा प्रत्यक्ष असर पार्छ । त्यसको फाइदा तत्कालै पाउन सकिन्छ । लाखौँ मानिसमा अनुसन्धान गर्दा पनि यसको प्रतिफल सकारात्मक देखिएको छ ।

उत्तर–पूर्वः कुनै पनि क्षेत्रमा अनुसन्धान गर्नेहरू यो दिशामा बसेर अध्ययन गर्नु राम्रो हुन्छ । पिएचडी, एमफिललगायत अन्य डिग्रीका अनुसन्धान गर्नेले यो दिशा रोज्न उपयोगि हुन्छ ।

पूर्व–उत्तर–पूर्वः पढाइका लागि बोझ मान्ने स्थान हो । त्यसैले उपन्यास, कार्टुन तथा जोक्सहरू अध्ययन गर्न यो दिशा राम्रो हुन्छ । पूर्वः राजनीतिप्रति रुचि हुनेहरूले यो दिशामा बसेर अध्ययन गर्दा राम्रो हुन्छ ।

पूर्व–दक्षिण–पूर्वः गणितसम्बन्धी जानकारी राख्न चाहनेले यो दिशा रोज्नु उपयुक्त हुन्छ । कुनै पनि विषयमा विश्लेषण गर्न चाहनेलाई पनि यो दिशा राम्रो हुन्छ ।

दक्षिण–पूर्वः यो दिशामा टेबुल राखेर कानुन र अपराधसम्बन्धी अध्ययन गर्दा उपयुक्त हुन्छ । यो दिशामा प्रहरी, वकिल तथा कानुनका विद्यार्थीलाई राम्रो हुन्छ । त्यस्तै, लोकसेवा तथा रोजगारीसम्बन्धी अध्ययन गर्न पनि उपयुक्त हुन्छ ।

दक्षिण–दक्षिण–पूर्वः यो दिशामा बसेर खेलकुद, योग तथा फिजिकल एक्सरसाइजसम्बन्धी अध्ययन गर्दा राम्रो हुन्छ । कसरत गर्न पनि यो दिशा रोज्दा राम्रो हुन्छ ।

दक्षिणः दक्षिण दिशा अध्ययनभन्दा पनि थकाइ मार्न उपयुक्त हुन्छ । अध्ययनपछिको मानसिक थकानबाट मुक्त पाउन यहाँ आराम गर्न सकिन्छ । यहाँ बसेर आराम गर्दा अध्ययन गरेको विषयबाट सफलता प्राप्त गर्न सकिन्छ ।

दक्षिण–दक्षिण–पश्चिमः यो विसर्जन गर्ने दिशा हो । यहाँ बसेर अध्ययन गर्नु राम्रो मानिँदैन ।

दक्षिण–पश्चिमः कलासम्बन्धी अध्ययन गर्नेले यो दिशामा बस्नु राम्रो हुन्छ । इन्जिनियरिङ, डिजाइन, कुकलगायतका पेसा रोज्न चाहनले यो दिशामा बसेर अध्ययन गर्नु फलदायी हुन्छ ।

पश्चिम–दक्षिण–पश्चिमः यो दिशामा बसेर स्कुलका विद्यार्थीले अध्ययन गर्दा उच्च अंक हासिल गर्न मद्दत गर्छ । पश्चिमः एकाउन्टेन्ट, सिएजस्ता लेखासम्बन्धी अध्ययन गर्नेहरूलाई यो विशेष क्षेत्र हो । कार्यालयको लेखा कक्ष यो दिशामा राख्दा फाइदाजनक हुन्छ ।

पश्चिम–उत्तर–पश्चिमः यहाँ अध्ययन गर्दा विद्यार्थीलाई पढ्न रुचि नहुने, पुस्तकदेखि नै डराउनेजस्ता समस्या हुन सक्छ । अध्ययन गर्न यो स्थान नरोज्नु राम्रो हुन्छ । उत्तर–पश्चिमः प्रशासन, होम साइन्सजस्ता विषय अध्ययन गर्नेहरूलाई यो दिशा राम्रो मानिन्छ । कुनै पनि विषयको तथ्यांक राख्ने व्यक्ति यो दिशामा बस्नु फाइदाजनक हुन्छ ।

उत्तर–उत्तर–पश्चिमः यो क्षेत्रमा पत्रकारिता, कलाकारजस्ता क्षेत्रमा जान चाहनेले यो स्थान रोज्नु राम्रो हुन्छ ।

उत्तरः यो दिशा सरकारी जागिर चाहनेलाई फाइदा गर्छ । यो दिशामा बसेर पढ्दा प्रतिफल सोचेअनुरूप हुने सम्भावना बढी हुन्छ ।

उत्तर–उत्तर–पूर्वः स्वास्थ्यसम्बन्धी अध्ययन गर्न चाहनेले यो दिशामा बसेर अध्ययन गर्नु राम्रो मानिन्छ ।(नयाँ पत्रिकाबाट)

तपाईको प्रतिक्रिया