कञ्चनपुर, ६ कात्तिक – दुधालु हुँदासम्म पाल्ने र दूध दिन छाडेपछि गाईलगायतका चौपाया बजार क्षेत्रमा छाडारुपमा छाड्ने प्रवृत्तिका कारण वातावरणमा प्रतिकूल असर परेको छ ।

छाडा गाईबस्तुको पिसाब र गोबरका कारण यहाँका मुख्य बजार क्षेत्र दुर्गन्धित भएका छन् । गोबर र पिसाबले विभिन्न संक्रामक रोग फैलिई स्वास्थ्यमा समस्या सिर्जना हुने खतरा बढेको छ ।

जनावरबाट मानिसमा हावा, गोबर र पिसाबबाट सर्ने रोगको संक्रमण बढ्न सक्ने जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा मदनसिंह धामीले बताउनुभयो । महेन्द्रनगर, सुडा, दैजी, सिसैया, झलारी, वनसमिति, कलुवापुर, वाणि, बंक, गुलरियालगायतका बजार क्षेत्रका राजमार्गमा छाडा चौपाया बस्ने गरेकाले बजार क्षेत्रको सौन्दर्यता बिग्रेको छ । बजार क्षेत्र दुर्गन्धित बनेको छ ।

छाडा चौपायाकै कारण शहरी क्षेत्र, राजमार्ग र आसपासका गाउँ बस्तीमा सवारी दुर्घटना बढ्नुका साथै यातायात सेवामा बाधा पुग्ने गरेको छ । यात्रुले निकै सास्ती खेप्नु परेको झलारीका बासिन्दा तेजा ऐरले बताउनुभयो । कृषकले मेहनत गरी लगाएको अन्नबाली एकछिनमै छाडा चौपायाले खाइदिने गरेकाले कृषिको उत्पादनमा समेत प्रतिकूल असर परेको उहाँको भनाइ छ ।

“पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा नाक थुनेर हिँड्नु परेको छ,” ऐरले भन्नुभयो ।

झलारी बजार क्षेत्रमा मात्रै ८०० भन्दाबढी चौपाया छाडा छाडिएका छन् । बेदकोट, भीमदत्तनगर, शुक्लाफाँटा र कृष्णपुरमा गरी झण्डै तीन हजार बढी चौपाया छाडिएका छन् । कृषि पेशामा बढ्दो यान्त्रीकरण, युवाशक्ति विदेश पलायन, सामुदायिक वनमा नियन्त्रित चरिचरन र बन्देज, पशु नश्ल सुधार, सामाजिक उत्तरदायित्व लिने संस्कार न्यून र नगरपालिका, पशु सेवा कार्यालय, गाउँपालिका, नागरिक समाजलगायत सम्बन्धित निकायले चासो नदिँदा छाडा चौपायाको समस्या सिर्जना भएको पशु विकास अधिकृत तारादत्त अवस्थी बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया