फुङलिङ, ताप्लेजुङ, ६ कात्तिक – सुजन दाहालले दुई वर्षअघि प्रतिमन रु एक लाख १० हजारमा अलैँची बेच्नुभएको थियो । अहिले जम्मा रु २४ हजारमा अलैँची बेच्नुपर्दा निकै खिन्न हुनुहुन्छ । बजारमा निरन्तर अलैँचीको भाउ घट्दै गएपछि स्थानीय कृषकमा निराशा छाएको छ ।

आँगनमा अलैँची सुकाउँदै गरेका दाहालले मूल्य स्थिर नभइदिँदा र बजार उपलब्ध नहुँदा समस्या आएको बताउनुभयो । अलैँचीको मूल्य निरन्तर घटेकाले उहाँलाई पुख्र्यौली पेशाबाटै विमुख बन्नुपर्ने हो कि भन्ने चिन्ताले सताएको छ ।

आफ्नै अलैँची भट्टीमा भेटिएका अर्का कृषक हर्क गुरुङ पनि बजार भाउ घटेको र मजदुरको लागत बढेकाले निरास हुनुहुँदो रहेछ । “अलैँचीमा ठूलो लगानी गरेको छु, केही वर्षदेखि निरन्तर मूल्य घटेकाले निरास बनाएको छ, राज्यको तर्फबाट अलैँचीको मूल्य निर्धारण र बजार व्यवस्थापन भइदिए राहत मिल्ने थियो,” उहाँले भन्नुभयो ।

जिल्लाको प्रमुख नगदेबाली अलैँचीको निरन्तर मूल्य घटेका कारण कृषक निरास बनेका हुन् । दुई वर्षअघि प्रतिमन रु एक लाख १० हजारमा बिक्री भएको अलैँची अहिले घटेर २४ देखि २६ हजार रुपैयाँको हाराहारीमा पुगेको छ ।

अलैँची व्यवसायी संघ ताप्लेजुङका उपाध्यक्ष तेज भट्टराईले विगत १५ वर्षदेखि अलैँचीखेती गर्दै आउनुभएको छ । शुरुमा ५० मनसम्म अलैँची उत्पादन गरेको अनुभव सुनाउने उहाँ अहिले परल मोल नै नपाउँदा चिन्तित हुनुहुन्छ ।

बालीमा रोग लाग्ने र वरपरका पुराना र अग्ला रुखका कारण अलैँचीको उत्पादन पनि घट्न पुगेको हो ।

“मूल्य घटेर किसानमा निरास बढेको छ, खर्च नधानिने भयो, मूल्य घटे पनि मजदुरको लागत भने बढिरहेको छ,”– व्यवसायी भट्टराईले भन्नुभयो ।

ताप्लेजुङमा न्यूनतम चारदेखि बढीमा ६० मनसम्म अलैँची उत्पादन गर्ने किसान छन् । अलैँची व्यवसायी संघका अनुसार जिल्लामा ६० प्रतिशतभन्दा बढी कृषक अलैँचीखेतीमा आबद्ध छन् । जिल्लामा गोलसाइ, डम्बरसाइ, चिबेसाइ, भर्लाङे जातका अलैँची उत्पादन हुन्छ । ताप्लेजुङको ओलाङचुङगोलाको एक गाउँबाहेक सबै क्षेत्रमा अलैँची उत्पादन हुन्छ ।

ताप्लेजुङका वरिष्ठ कृषि विकास अधिकृत नरेशचन्द्र घिमिरे पनि अलैँचीको गिर्दो मूल्य र बजारको अभावमा किसान निरास हुन पुगेको बताउनुहुन्छ । किसानको उत्साह मर्न नदिन प्रतिमन अलैँचीको कम्तीमा पनि रु ५० हजार मूल्य कायम गरिनुपर्ने र कृषकले पनि खेती व्यवस्थापनमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

घिमिरेका अनुसार जिल्लाको चार हजार ५०० हेक्टर क्षेत्रफलमा अलैँची लगाइएको छ । अघिल्लो वर्ष दुई हजार ४०० मेट्रिक टन अलैँची उत्पादन भएको थियो । किसानलाई अलैँचीको गानो कुहिने, फूल सुक्ने समस्या चुनौती बनेको छ । जिल्लाको अलैँची बिर्तामोड, भारत हुँदै खाडीमुलुकमा निर्यात हुने गरेको छ । अलैँची जडीबुटी भएकाले आयुर्वेद औषधिका लागि स्वदेश तथा विदेशमा पनि राम्रै माग छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले नेपालसहित आठ वटा देशमा व्यावसायिक कृषि उत्पादन प्रवद्र्धन तथा पर्यावरण व्यवस्थापनमा सहयोग गर्दै आएको छ । ताप्लेजुङ, पाँचथरलगायत जिल्लामा अलैँची उत्पादनमा कृषकलाई प्रोत्साहन गर्न आर्थिक अनुदान दिइएको कार्यक्रम संयोजक सुरेन्द्रराज जोशीले जानकारी दिनुभयो ।

ताप्लेजुङमा अलैँचीखेतीमा कृषकलाई आकर्षण गर्न इसिमोडले वातावरण संरक्षण तथा विकास मञ्चअन्तर्गतको हिमालिका कार्यक्रमलाई आर्थिक सहयोग गर्दैआएको छ ।

अलैँची उत्पादन गर्ने १२ वटा कृषक समूहका २८८ घरधुरीलाई विगत तीन वर्षदेखि यो सहयोग गर्दै आएको संस्थाले जनाएको छ ।

नेपालको प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीको व्यावसायिक उत्पादन र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न सकिए देशको अर्थतन्त्रमा टेवा पुग्ने सरोकार भएका निकाय बताउँछन् । इलामलाई चिया पर्यटनको माध्यमबाट चिनाइए झैं ताप्लेजुङमा अलैँचीखेतीबाट पर्यटक आकर्षण गर्न सकिए किसानलाई लाभ पुग्नेछ ।

क्षेत्रीय कृषि निर्देशनालय पूर्वाञ्चलका निर्देशक हस्तबहादुर विष्टका अनुसार अलैँचीखेती हाल ४० जिल्लामा विस्तार भएको छ । पन्ध्र हजार भन्दा बढी हेक्टर क्षेत्रफलमा खेती हुने अलैँची प्रतिवर्ष पाँच हजार ६०० मेट्रिक टन उत्पादन हुन्छ । वार्षिक २० करोड मूल्य बराबरको अलैँची निर्यात हुने गरेको छ ।

सन् १९५४ देखि नेपालमा व्यावसायिक अलैँचीखेती शुरु भएको पाइन्छ । सन् १८६५ मा छिमेकी भारतको सिक्किममा काम गर्न गएका मजदुरले अलैँचीखेती भित्र्याएका थिए । अलैँचीखेती इलामबाट शुरु भएको थियो ।

वन तथा भू–संरक्षण मन्त्रालयका सहसचिव प्रेमनारायण कँडेलले ताप्लेजुङको मुख्य आयआर्जन अलैँचीखेतीको उत्पादन र बजारीकरणमा मन्त्रालयले आवश्यक पहल गर्ने बताउनुभयो ।

फुङ्लिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराईले अलैँचीको व्यावसायिक उत्पादन र बजारीकणका लागि योजनाबद्ध कार्यक्रम ल्याइने बताउनुभयो ।

आधुनिक भट्टीको आकर्षण

ताप्लेजुङमा अलैँची सुकाउने आधुनिक भट्टीतर्फ कृषकको आकषण बढेको छ । अहिले ताप्लेजुङमा ३० भन्दा बढी भट्टी छन् । राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रम पाख्रीबासका पूर्व संयोजक डा गोविन्द्रप्रसाद तिमल्सिनाका अनुसार दाउरा कम लाग्ने र तीन घण्टामा २०० किलो अलैँची सुकाउन सकिने भएकाले कृषक आधुनिक भट्टीतर्फ आकर्षित भएका हुन् । पहिला यो कामका लागि दाउरा र समय धेरै खर्चनुपथ्र्यो ।

विसं २०७१ देखि आधुनिक भट्टी निर्माण गर्न थालिएको तिमल्सिनाले बताउनुभयो । परम्परागत शैलीबाट अलैँची सुकाउँदा दाउरा धेरै लाग्ने र धुँवा बढी आउने हुन्थ्यो ।

तपाईको प्रतिक्रिया