नेपालगन्ज ०५ कार्तिक । तिहारको समयमा बाँके, बर्दिया र दाङ्गमा १९ वटा साना ठूला सडक दूर्घटना भएका छन् । क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका अनुसार, बाँकेमा सबैभन्दा धेरै ११ वटा सडक दुर्घटना हुँदा २ को मृत्यु हुनुको साथै ११ जना घाइते भएका छन् । बर्दियामा ५ वटा र दाङ्गमा ३ वटा सडक दूर्घटनामा परेर ६ जना घाइते भएका छन् ।

बाँकेमा आज भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको ज्यान गएको छ भने १ जना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत कोहलपुर बाँसगढी सडकखण्डको बाँके बैजनाथ गाउपालिका ५ रंगिलाचोकमा गएराति १२ बजे भे ४ प ६८६० नं. को मोटरसाईकल दुर्घटना हुदा मोटसाईकलमा सवार दैलेख नारायण नगरपालिका २ की १९ वर्षीया मंगला सुनारको उपचारका क्रममा मृत्यु भएको छ । यसैगरि विहान उज्यालो भएपछि राति मोटरसाइकल दूर्घटना भएकै ठाँउमा बाटोको किनारमा कोहारपुरका खुमबहादुर रावल पनि मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाइकल चालक बाँके बैजनाथ २ का २७ वर्षीय सुजन रावतको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सहप्रवक्ता प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिनुभयो । तीब्र गतिमा रहेको सो मोटरसाईकलले पैदल हिडीरहेको अवस्थामा मृतकलाई ठक्कर दिएर दूर्घटना भएको प्रहरीले जनाएको छ । यसैविच, जानकी गाउँपालिकाको गनापुरस्थित बागेश्वरी सिमेन्ट उद्योगमा मेसिन जडान गर्ने क्रममा माथिल्लो तलाबाट मेसिन खस्दा हिजो राति नवलपरासीको परासी नगरपालिका–९ घर भएका २५ वर्षीय सन्दीप जुवालको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया