डा उर्मिला शाक्य

चाडबाडको बेला हामी डाक्टरलाई पनि घरपरिवारसँग बसेर रमाइलो गर्न मन लाग्छ । तर, हाम्रो लागि सबैभन्दा महत्वपूर्ण बिरामी नै हुन् । उनीहरुको उपचार छाडेर चाडबाड र अन्य पारिवारिक जमघटमा जाँदा खुसी हुन सकिँदैन।

म २०४९ सालमा चिकित्सा सेवामा आएको हुँ । एमबिबिएस सकेर प्रसूति गृह र कान्ति अस्पतालमा काम गर्दाको समयमा दशैं–तिहार धेरै पटक छुटेको छ । राजधानी बाहिरका साथीहरु घर जाँदा हामी उनीहरुलाई पालो दिन्थ्यौं । त्यस क्रममा चाड अस्पतालमै बित्थ्यो । त्यस्तो हुँदा पहिले त निकै दुःख लाग्थ्यो, तर पछि बिरामीको ज्यानभन्दा ठूलो चाडबाड होइन भन्ने भावले जित्दै गयो।

चाडको समयमा महिला चिकित्सकले घरको सरसफाइ, किनमेल र अन्य बन्दोबस्त गर्नुपर्ने हुन्छ । तर, म संयुक्त परिवारमा बस्ने भएकाले त्यसबारे धेरै चिन्ता लिनु पर्दैन । त्यसमा पनि धेरै समय अस्पतालमै बित्ने भएकाले घरमा बढी समय दिन समस्या नै पर्छ।

अन्य रोगभन्दा बाल मुटुरोगका बिरामीहरु आकस्मिक रुपमा आउने कम हुन्छन् । तर, कहिलेकाहीँ निकै जटिल केस आउने भएकाले बिदामा घर बस्दा पनि हामी अलर्ट भएर बस्नुपर्छ।

अस्पतालमा जटिल केस आउँदा फोन आउँछ । कुनै केस फोनमा कुरा गरेर पनि समाधान हुन्छ, तर कतिपय केसको लागि अस्पताल नै जानुपर्ने हुन्छ।

घरपरिवारसँग बसेर रमाइलो गर्ने रहर भए पनि हामीले आफ्नो खुसीको लागि बिरामीको उपचार भोलि गर्छु भन्ने कुरा हुँदैन । हाम्रो लागि सबैभन्दा ठूलो खुसी बिरामीको उपचार नै हो।

तपाईंको बच्चालाई मुटु रोग छ भने अन्य समयमा भन्दा चाडबाडको बेला अझ बढी ख्याल गर्नुहोस् । किनकि यो बेला घरमा चिल्लो–पिरो र जंकफुड बढी खाने चलन हुन्छ । यस्ता खानेकुरा खाँदा बच्चालाई निकै असर गर्छ।

बाहिरको खानामा केमिकल मिसिएको हुनसक्ने भएकाले त्यस्ता खानेकुराबाट आफ्ना बच्चालाई टाढै राख्नु वेश हुन्छ । पटाका पड्काउन पनि बच्चालाई प्रेरित नगर्नुस् । किनकि पटाकाको आवाजले मुटुको समस्या भएका बच्चालाई गम्भीर असर पार्न सक्छ। स्वास्थ्य खबरपत्रिकाबाट

तपाईको प्रतिक्रिया