काठमाडौँ । बिहीबार बाबुको श्रद्धा गर्न जाँदा नारायणी नदीले बगाएर बेपत्ता भएका दुई दाजुभाइ चन्द्रमान श्रेष्ठ र उनका भाइ २८ वर्षीय राजकुमार श्रेष्ठ अझै बपत्ता छन् । सन्धिखर्कका ३८ वर्षीय चन्द्रमान श्रेष्ठ र उनका भाइ २८ वर्षीय राजकुमार श्रेष्ठ बिहीबार दिउँसो नदीमा डुबेका हुन् । प्रहरीले खोजी जारी राखे पनि शुक्रबार बिहानसम्म भेटिएका छैनन् ।

उनीहरुसहित चार दाजुभाइ देवघाट पुगेका थिए । धार्मिक मान्यता अनुसार श्रद्धाको काम पूरा गरेपछि शुद्ध हुन नुहाउन नारायणी नदी किनारमा पसेपछि दाजुभाइ नै बेपत्ता भए । पितृलाई खुसीपारी बाँचेकाहरुको जीवन खुसी र सुखी हुने धार्मिक मान्यता रहीआएकाले उनीहरु देवघाट गएका थिए ।

बिहीबार दिउँसो १ बजेतिर नदीमा हराइरहेका दाजुभाइको खोजी भइरहे पनि कतै फेला पर्न नसकेको उद्धारमा खटिएका प्रहरी हवल्दार सुरज गिरीले जानकारी दिए । उनीहरुको खोजीकार्य जारी भए पनि अहिलेसम्म नभेटिएको ‘सशस्त्र र नेपाल प्रहरी’ले जनाएको छ । उनीहरु तिहारकै सेरोफेरोमा यसरी एकाएक नदीमा डुबेर बेपत्ता भएपछि सन्धिखर्क बजार अहिले सुनसान छ ।

तपाईको प्रतिक्रिया