काठमाडौँ  – दशैँका अवसरमा विभिन्न देश घुमघाम गरेर फर्केका उद्योगी तथा व्यवसायी तिहार तथा लक्ष्मीपूजा ‘सेलब्रेसन’ गर्ने चटारोमा छन्।धन आर्जनमा खटिने व्यवसायी तथा उद्योगीले कुनै पनि हालतमा ‘मिस’ नगर्ने पर्व हो– लक्ष्मीपूजा। यमपञ्चकका पाँच दिनको भिन्नाभिन्नै महत्व र विशेषता भए पनि व्यवसायीका निम्ति धन तथा समृद्धिसँग जोडिएको लक्ष्मीपूजा खास हुन्छ।

उद्योगपति विनोद चौधरीका विभिन्न वार्षिक कार्यक्रममध्ये महत्वपूर्ण कार्यक्रममा पर्छ, लक्ष्मीपूजा।व्यवसाय विस्तारका क्रममा अधिकांश समय नेपाल बाहिर हुने उनी लक्ष्मीपूजाका लागि भने अनिवार्य रूपमा नेपाल आइपुग्छन्।विश्वप्रसिद्ध फोब्र्स म्यागजिनको अर्बपतिको सूचीमा पर्नुका पछाडि निरन्तर लक्ष्मीको उपासक बन्नु पनि एउटा कारण हो कि रु भन्ने प्रश्नमा चौधरी मुस्कुराउँदै भन्छन्, ‘पक्कै पनि हो।

लक्ष्मी र सरस्वतीको भक्तले मात्रै यो अवसर पाउँछन्।म लक्ष्मी र सरस्वतीको उपासक हुँ।कर्ममा विश्वास गर्ने मानिस हुँ ।’ वार्षिक २० अर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्ने चौधरी ग्रुपका अध्यक्ष चौधरी व्यवसायीले कर्म र मेहनतमार्फत लक्ष्मीको उपासना गर्नुपर्ने बताउँछन्।

चौधरीको घर र अफिस दुवै स्थानमा बाउबाजेको पालादेखि नै भव्य रूपमा लक्ष्मीपूजा हुँदै आएको छ।सीजी मुख्यालय सानेपामा तीन भाइ ९विनोद, वसन्त, अरुण० लक्ष्मीपूजा गर्छन्।अफिसमा पूजा सकाएर उनीहरू मूल घर ठमेलमा लक्ष्मीपूजा गर्न पुग्छन्। ‘बाउबाजेबाट आफूले आत्मसात् गरेको लक्ष्मीपूजाको महत्व नयाँ पुस्ताले पनि गरोस् भन्ने चाहन्छु,’ चौधरी भन्छन्, ‘लक्ष्मीपूजाका दिन विदेशमा कार्यरत छोराहरू पनि काठमाडौँ आइपुग्छन् र लक्ष्मीको साधना गर्छन्।’

लक्ष्मीपूजाकै अवसरमा चौधरी ग्रुपले विशेष पार्टीसमेत आयोजना गर्दै आइरहेको छ। गोल्छा अर्गनाइजेसनमा पनि लक्ष्मीपूजाको विशेष कार्यक्रम हुन्छ।उद्योगी शेखर गोल्छाले नागपोखरीस्थित आफ्नो अफिसलाई तिहारको थिममा सजाएका छन्।काठमाडौँमा कार्यरत सम्पूर्ण कर्मचारीलाई यही अफिसमा भेला गरेर लक्ष्मीपूजाको विशेष कार्यक्रम आयोजन गर्ने गरिएको बताउँदै गोल्छा भन्छन्, ‘यो दिन कर्मचारीका लागि प्रतिष्ठानका तर्फबाट उपहार प्रदान गरिन्छ।’ उद्योग–व्यवसायमा तीन दशक बिताएका गोल्छा आफूलाई व्यक्तिगत प्रयोजनका लागि थप पैसा कमाउने रुचि नभएको बताउँछन्। ‘मलाई अब कुनै उद्योग खोल्दा कति नाफा हुन्छ भन्दा पनि त्यसबाट कति जनाले रोजगारी पाउँछन्, राज्यले कति कर पाउँछ रु भन्नेमा बढी चासो हुन्छ,’ गोल्छा भन्छन्।

पैसालाई आदर गर्न सक्दा र आम्दानी तथा खर्चका बीच समझदारी र सन्तुलन कायम गराउन सक्दामात्र धन आर्जन गर्न सकिने उनी बताउँछन्।

उद्योगी शशिकान्त अग्रवाल संसारमा सबैभन्दा बढी ‘सक्सेस रेट’ भएको पेशा नै ‘बिजनेस’ भएको उल्लेख गर्दै धनसँग उठबस गर्नेले जोखिम लिन सक्नुपर्ने बताउँछन्।’लक्ष्मीपूजा एउटा विश्वास हो,’ अग्रवाल भन्छन्, ‘पूजा गरेर मात्र धन आर्जन हुने होइन। भगवान्को डर भएपछि मानिस नराम्रो काम गर्न डराउँछ।त्यसैले यस्ता पूजाआजालाई पनि अपनाउनुपर्छ।’

उद्योगी पशुपति मुरारका ‘हरहिसाबमा कडा र आफ्नो व्यापारको पोजिसनमा हमेशा ध्यान दिने व्यवसायी नै सफल हुन सक्ने’ बताउँछन्।तलमाथि वा दायाँबायाँ गरेर कमाएको धन दिगो हुन नसक्ने भन्दै उनी स्वच्छ तरिकाले धन आर्जन गर्नुपर्ने बताउँछन्। निरन्तरको मेहनत र लगनले व्यवसायमा सफलता हात पार्न सकिने उनको विश्वास छ। ‘लक्ष्मीपूजा गरेर मात्र धन आर्जन हुने होइन,’ उनी भन्छन्, ‘यो एउटा विश्वास हो ।’

धन आर्जनसँगै असीमित दायित्व थपिने बताउँछन्, उद्योगी पवन गोल्यान।भन्छन्, ‘बढी धन आर्जनसँगै दायित्व पनि असीमित रूपमा थपिन्छ।त्यसैले धेरै धनले सुख मात्र होइन, दुःख पनि दिन्छ ।’ समृद्धिसँगै निन्द्रा कम हुँदै जाने भएकाले पैसाको पछाडि दौडँदा स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्ने गोल्यान बताउँछन्।

‘सम्पूर्ण’ले यस अंकमा देशका प्रतिष्ठित उद्योगी तथा व्यवसायीका नजरमा पैसा के हो र उनीहरू लक्ष्मीपूजा कसरी गर्छन् भन्ने विषयमा विशेष सामग्री प्रस्तुत गरेको छ।

व्यवसायीका पैसा(दृष्टिकोण

‘पैसा इन्धन हो’ विनोद चौधरी अध्यक्ष, चौधरी ग्रुप धनलाई प्रभावकारी रूपमा प्रयोग गर्न सकिएन भने त्यसको औचित्य हुँदैन।यसले आर्थिक गतिविधि सिजना गर्नुपर्छ। त्यसले पूर्वाधार सिर्जना गर्न सक्नुपर्छ, ब्रान्ड सिर्जना गर्न सक्नुपर्छ।धन एउटा ‘टुल’ मात्र हो।यसलाई तपाईंले जति प्रभावकारी ढंगले प्रयोग गर्नुभयो, त्यति प्रतिफल बढ्दै जाने हो।

पैसाको प्रयोग गर्न नजान्नेका लागि पैसा अंक मात्र हो।प्रयोग गर्न जान्नेका लागि भने यो इन्धन हो।इन्धन अभावमा कुनै पनि इन्जिन चल्दैन।त्यस्तै, पैसाविना व्यापार–व्यवसाय गर्न पनि सकिँदैन, धेरैको रोजीरोटी पनि चल्दैन।

जुन दिनदेखि धन ९वा पैसा० लाई प्रभावकारी प्रयोगमा ल्याउन सक्नुहुन्न, त्यस दिनदेखि तपार्इंले पैसालाई हाँक्न सक्नुहुन्न।त्यस दिनदेखि धनले तपाईंलाई हाँक्न थाल्छ।सामान्यतया विश्वभर ‘बिजनेस फेमिली’ तीन पुस्ताभन्दा बढी जाँदैन भन्छन्।एउटा पुस्ताले संघर्ष गरेर जिरोबाट सुरु गर्छ।

अर्को पुस्ताले बाउले दुःख गरेको देखेको हुन्छ।बाउले उसलाई बाल्यकालदेखि नै काममा पनि लगाएको हुन्छ।त्यसैले त्यो पुस्ताले बिगार्दैन, बरु व्यवसायमा केही न केही योगदान गर्छ।तेस्रो पुस्तालाई भने अघिल्ला पुस्ताका दुःख थाहै हुँदैन।उसलाई धनले हाँक्न थाल्छ।धनबाट आउने विकृतिमा ऊ सवार हुन थाल्छ।धनले उसलाई डोर्‍याउन थाल्छ।अन्ततः उसलाई पतन अर्थात् जिरोमा झारिदिन्छ ।

मेरा लागि धन अंक मात्र होइन।म सधैँ भन्छु– वाइवाईलाई न्युयोर्कको स्टक एक्स्चेन्जमा लिस्टेड भएको देख्न चाहन्छु।मेक्सिकन, अफ्रिकन, अमेरिकन, युरोपियन, एसियन सबैका हातहातमा वाइवाई भएको देख्न चाहन्छु।

मलाई देख्नेबित्तिकै सबै खुशी हुन्छन्, सेल्फी खिच्न तँछाडमछाड गर्छन्।आफ्नो परिवारको सदस्यलाई भन्दा बढ्ता माया गर्छन्।यो सबैभन्दा ठूलो कुरा हो।मेरो आजसम्मको सबैभन्दा विशाल कमाइ यही हो।अर्बपति हुनुभन्दा त्यो ठूलो लाग्छ मलाई।अर्बपति हुनुको के अर्थ छ र रु यो त एउटा ‘प्रोसेस’ मात्र हो भन्ठान्छु।

शशिकान्त अग्रवाल प्रबन्ध निर्देशक, एमएस ग्रुप ‘बिजनेसमा सफलता दर बढी हुन्छ’

जसले लगानी गर्न सक्छ, उसैले पैसा कमाउन सक्ने हो।बिनालगानी पैसा कमाउन सकिँदैन।जागिर खानेहरूको तलब निश्चित हुने, जोखिम पनि कम हुने भएकाले उनीहरूले आम्दानी चाहेर पनि वृद्धि गर्न सक्दैनन्।

लक्ष्मी आर्जनका लागि व्यवसाय सञ्चालन गर्न सक्नुपर्‍यो।व्यवसायका लागि सुव्यवस्थित योजना हुनुपर्‍यो।आफूले गर्न लागेको कामबारे विस्तृत अध्ययन हुनुपर्‍यो।कुनै कारखाना खोल्ने योजना बनाइयो भने त्यसबारे संसारमा भइरहेका पछिल्ला विकासमा ‘अपडेटेड’ हुनुपर्छ।

संसारमा सबैभन्दा बढी ‘सक्सेस रेट’ हुने ‘प्रोफेसन’ भनेको व्यवसाय हो।खेलकुदमा रुचि राख्ने कति जनाले राष्ट्रिय टिममा स्थान पाउँछन् रु पाएका कतिले उत्कृष्ट प्रदर्शन गर्न सक्छन् रु राजनीतिमा लाग्ने कति जना उपल्लो तहमा पुग्न सफल हुन्छन् रु यी र यस्ता थुप्रै क्षेत्र छन्, जसमा सफलता दर एकदमै कम हुन्छ।तर, बिजनेस गर्ने व्यक्ति थोरै मात्र असफल हुन्छन्।त्यसैले यो सबैभन्दा धेरै सफलता पाइने क्षेत्र हो।

राम्रो लेख्न सक्ने लेखक, राम्रो अभिनय गर्ने कलाकारले उसको जस्तै काम गर्न सक्ने अर्को मानिस पाउन सक्दैन।तर, उद्योगी–व्यपारीले लगानी जुटाएपछि अन्य बौद्धिक काम गर्नका लागि एकसे एक प्रतिभावान् मानिसहरूको सहयोग लिन सक्छ।त्यसैले पनि उद्योगी वा व्यवसायी सफल हुन्छन्।

शेखर गोल्छा कार्यकारी निर्देशक, गोल्छा अर्गनाइजेसन ‘पैसाले सुखको ग्यारेन्टी गर्दैन’

पैसा भनेको खर्च गर्नकै लागि हो।तर, फुर्माइस गरेर उडाउनु हुँदैन।आम्दानी हेरेर खर्च गर्नुपर्छ।कसैका लागि १० हजार एक दिनको खाजा खर्च हुन सक्छ भने कसैले यही रकमले महिनाभर घर चलाउनुपर्ने हुन सक्छ।त्यसैले आफ्नो आम्दानीअनुसार खर्च गर्ने योजना बनाउने र त्यही अनुसार गर्न सक्ने हो भने कम आम्दानीमा पनि जीवनलाई व्यवस्थित र सुखी बनाउन सकिन्छ। पैसा भनेको सबथोक होइन।पैसाले सुख दिन्छ भन्ने ग्यारेन्टी पनि छैन।तर, पैसाले धेरै थरी दुःखबाट भने मुक्त दिन्छ।धेरै पैसा भएको दिन मलाई पनि रातभर निन्द्रा लाग्दैन।कहाँ लगानी गर्ने रु कसो गर्ने रु भन्ने चिन्ता हुन्छ।आफूले सञ्चालन गरेका विभिन्न उद्योग तथा व्यवसायमा करिब सात हजार मानिसले काम गर्छन् भनेर सम्झिनेबित्तिकै मेरा धेरै वटा तनाव कम हुन्छन्।

यति धेरै मानिसलाई रोजगारी दिएको र उनीहरूका आश्रित परिवारको घर खर्च चलिरहेको छ भन्ने सम्झिएपछि मन हलुका हुन्छ।मैले लगानी गर्न सकेकै कारण यत्तिका मानिसले काम पाएका छन् र उनीहरूले काम गरिदिएकै कारण मैले केही आर्जन गर्न सकेको छु।

पैसाले संसारको सबैभन्दा महँगो बिछ्यौना किन्न सके पनि निन्द्रा किन्न सकिँदैन।त्यसैले पैसा भनेको आवश्यक चिज हो तर सबथोक भने होइन।

पैसा मर्यादित ढंगले कमाउनुपर्छ।’मनी ह्याज नो कलर’ भनिन्छ।दिनभर परिश्रम गरेर कमाएको पैसा र कसैले चोरेको वा तस्करी गरेर कमाएको पैसामा अंकित मूल्यले बजारमा एउटै मान्यता पाउँछ।जसरी पनि पैसा कमाउनुपर्छ भन्ने मान्यताबाट मुक्त हुन सक्नुपर्छ।परिश्रम गरेर कमाएको धन नै दिगो हुन्छ।

पशुपति मुरारका प्रबन्ध निर्देशक, मुरारका अर्गनाइजेसन ‘लप्पनछप्पनले व्यवसायी सफल हुँदैन’

धन आर्जन गर्न लगानीसँगै कडा मेहनत आवश्यक पर्छ।आफूले गरेको जुनसुकै व्यवसायलाई आफ्नो कर्मथलो मानेर निरन्तर परिश्रम गर्दा र समय दिन सक्दा मात्र पैसा कमाउन सकिन्छ।

व्यवसायीमा जोखिम लिने क्षमता हुनुपर्छ।हरहिसाबमा पोख्त हुनुपर्छ।आफू कुन ‘पोजिसन’मा छु भन्ने ज्ञान हुनुपर्छ।त्यसपछि मात्र व्यवसायबाट धन आर्जन गर्न सकिन्छ।लप्पनछप्पन र ठगी गरेर कोही पनि उद्योगी तथा व्यवसायी सफल हुन सक्दैन।स्वच्छ तरिकाले व्यवसाय गर्दा नै सफल हुन सकिन्छ भन्ने मान्यतालाई दृढतापूर्वक आफूमा लागू गर्नुपर्छ।

पवन गोल्यान अध्यक्ष, रिलायन्स स्पिनिङ मिल्स ‘पैसा बढ्दै जान्छ, निन्द्रा घट्दै जान्छ’

धन आर्जनका लागि लगानीसँगै निरन्तर मेहनत र श्रम गर्नुपर्छ।धैर्य पनि हुनुपर्छ।व्यापार–व्यवसायमा उत्तारचढाव आइरहन्छन्। व्यवसायीमा त्यसलाई संयमतापूर्वक सम्हाल्ने क्षमता हुनुपर्छ।हामी मारवाडीहरू व्यापारमा संलग्न हुने भएकाले अग्रजले गरेका काम हेरेर नै धेरै कुरा सिक्छौँ।तर, नयाँ पुस्ताले परम्परागत ज्ञानसँगै अध्ययन तथा अनुसन्धानपछि मात्रै उद्योग तथा व्यपारमा हात हाल्दा राम्रो हुन्छ।आफूले गर्न खोजेको बिजनेसको छनोट सही हुनुपर्छ।

मैले मेरो बुवालाई ‘हामीसँग तीन चार पुस्तालाई पुग्ने पैसा छँदै छ, किन अब धेरै कमाउनुपर्‍यो रु’ भनेर सोधेको थिएँ।त्यतिबेला उहाँले दिएको उत्तर नै आज मेरो व्यवसाय गर्ने प्रेरणा भएको छ।उहाँले भन्नुभएको थियो, ‘व्यवसाय हाम्रो काम हो।पैसा कमाउनु नै काम भएपछि अब पुग्यो भनेर छोड्ने कुरै आउँदैन ।’ उहाँले त्यतिबेला आफूले कमाएको एक रुपैयाँमध्ये एक पैसा व्यक्तिगत खर्चमा र बाँकी समाजसेवा र धर्ममा खर्च गर्नुपर्छ भन्नुभएको थियो।

पैसा जीविका चलाउन अत्यावश्यक साधन हो।यसको मात्रा बढ्दै गएपछि निन्द्रा कम हुँदै जान्छ, तनाव बढ्दै जान्छ, खानेकुराको मात्रा घट्दै जान्छ।त्यसैले धेरै धन धेरै वटा दुःखका कारण पनि हुन सक्छ।त्यसैले धन धेरै जम्मा पार्ने दौडमा थुप्रिने दुःखबारे पनि ध्यान दिन सक्नुपर्छ।

लक्ष्मी उपासकका लक्ष्मीपूजा शशिकान्त अग्रवाल ‘विशेष बजेट छुट्याइँदैन’ मलाई मेरो हजुरबाले धुमधामले लक्ष्मीपूजा गरेको याद छ।त्यो बेला विधि–विधानसहित घण्टौँ लगाएर लक्ष्मीपूजा गरिन्थ्यो।लक्ष्मीपूजा सिंह लगनमा गर्नुपर्छ।लक्ष्मीपूजाको दिन रातको १२÷१ बजेमात्र सिंह लगन पर्ने भएकाले राती अबेरसम्म घरमा लक्ष्मीपूजाको रौनक हुन्थ्यो।

लक्ष्मीको पूजा गर्नुभन्दा पहिला कुलदेवीको पूजा गरिन्छ।अग्रवालहरूको कुलदेवी दुर्गा हुन्।लक्ष्मीपूजा गरिसकेपछि आफूभन्दा ठूलाबडासँग आशीर्वाद लिने चलन छ।

लक्ष्मी धनको प्रतीक भएकाले धन आर्जनमा लाग्ने उद्योगी, व्यवसायी, व्यपारी सबैले यो दिनलाई विशेष महत्व दिन्छन्।उद्योगधन्दा तथा व्यापार(व्यवसायमा लागेका मारवाडी समुदायले लक्ष्मीपूजा धुमधामसँग मनाउँछ।लक्ष्मीपूजा गरेरमात्र बढी धन आर्जन हुने होइन।यो एउटा विश्वास हो।नेपालीमा एउटा उखान छ– भाग्यमा छ भन्दैमा डोकोमा दूध दोएर अडिँदैन। लक्ष्मीपूजाका लागि भनेर विशेष बजेट छुट्याइएको हुँदैन।यो दिन धेरै खर्च गरेर मात्र लक्ष्मी खुशी हुन्छिन् भन्ने पनि होइन।

शेखर गोल्छा ‘उहिलेको लक्ष्मीपूजा रमाइलो’ मेरो पुख्र्यौली घर विराटनगर हो।विराटनगरमा लक्ष्मीपूजा निकै धुमधामसँग गरिन्छ।औद्योगिक नगर भएकाले पनि विराटनगरको लक्ष्मीपूजा हेर्नलायक हुन्छ।म सानो छँदा विराटनगरमा लक्ष्मीपूजाको जुन रौनक हुन्थ्यो, त्यो अहिले घटेको छ।उहिलेको लक्ष्मीपूजा साह्रै रमाइलो हुन्थ्यो।

म काठमाडौँमै हुर्केबढेको हुँ।तर, हरेक लक्ष्मीपूजामा विराटनगर जाने गर्थें।हाम्रो घरमा लक्ष्मीको पूजा विशेष हुने भएकाले छिमेकीहरू पनि आउने गर्थे।विराटनगरमा हरेक पसल तथा घरअगाडि केराको बोट राखेर, फूलले झकिझकाउ सजाएर लक्ष्मीपूजा गर्ने चलन छ। घरको मूली बुवाले लक्ष्मीपूजा गर्नुहुन्थ्यो।लक्ष्मीपूजापछि घरमूलीले घरका सबै सदस्यलाई उपहार दिने चलन छ।लक्ष्मीपूजा पछि तास खेल्ने चलन छ।बुवाको सेखपछि घरमा आमाले लक्ष्मीपूजा गर्नुहुन्छ भने अफिस तथा औद्योगिक प्रतिष्ठानमा त्यहाँका कर्मचारीले लक्ष्मीपूजा गर्छन्।

पशुपति मुरारका ‘मनमुटाव मेट्ने दिन हो यो’ नेपालमा मारवाडीहरू राजस्थानबाट आएका हुन्।राजस्थानमा व्यापार–व्यवसाय गर्ने विशेष जाति वैश्य अर्थात् मारवाडी हुन्।क्षत्रीले शक्तिको पूजा गर्छन् भने वैश्यले लक्ष्मीको पूजाआजा गर्छन्।

लक्ष्मीपूजाका दिन हिसाबकिताब तथा खातापाता मिलाउने काम गरिन्छ।मारवाडी समुदायको आर्थिक वर्षको अन्त्य लक्ष्मीपूजाकै दिन हुने गर्छ।सरकारी कामकाजको आर्थिक वर्ष असार मसान्तमा हुन थालेपछि मात्र लक्ष्मीपूजामा हुने हरहिसाब हुन छाडेको हो।होइन भने यही दिन हरहिसाब ‘क्लोज’ गर्ने र लक्ष्मीपूजाको भोलिपल्टबाट नयाँ सुरुवात गर्ने गरिन्थ्यो।

लक्ष्मीपूजाको दुई दिनअघि धनतेरसको दिन काँसको सामान किनेर घरमा ल्याउनुपर्ने चलन छ।घर, अफिस तथा औद्योगिक प्रतिष्ठानमा एकसाथ लक्ष्मीको पूजा हुन्छ।लक्ष्मीपूजापछि आफूभन्दा ठूलासँग आशीर्वाद लिने र व्यपारका सिलसिलामा भएका मनमुटाव एकापसमा भेटघाट गरेर मेटाउने काम गरिन्छ।यो मनमुटाव मेटाउने दिन पनि हो।

लक्ष्मीपूजाका लागि धेरै खर्च गर्नुपर्छ भन्ने हुँदैन।लक्ष्मीपूजा परिवारका सदस्य बसेर गरिने पारिवारिक अनुष्ठान भएकाले यसमा देखासिकी गर्ने कुरै आउँदैन।पहिला दशैँ सकिनासाथ लक्ष्मीपूजाको रौनक सुरु हुन्थ्यो।तर, अहिले लक्ष्मीपूजाको दिन मात्र केही मात्रामा रौनक हुन्छ। लक्ष्मीपूजाको रौनक पनि घट्दै गइरहेको छ।’पूजा गरेर के हुन्छ रु पूजा गरेर पैसा आउँछ रु’ भन्ने नयाँ पुस्ताका कारण पनि यसको रौनक घट्दै गइरहेको छ।पूजा गरेर मात्रै पैसा आउने त होइन।तर, भगवान् छन् र उनले हामीलाई हेरिरहेका छन् भन्ने विश्वास लिँदा नराम्रो काम गर्नबाट जोगिन सकिन्छ।

पवन गोल्यान ‘एक दाउ जुवा खेल्नैपर्छ’ व्यवसाय गर्नेहरू सबै लक्ष्मीपुत्र मानिन्छन्।व्यवसायीका लागि धनकी देवी लक्ष्मी आमा नै हुनुहुन्छ।अफिसमा हरेक दिन गणेश र लक्ष्मीको पूजा गरिन्छ।तर, लक्ष्मीपूजाका दिन विशेष पूजाआजा हुन्छ।ढुकुटी र खातापाताको पूजा गरिन्छ।

लक्ष्मीपूजाको दिन एक दाउ जुवा खेल्नैपर्ने चलन छ।यो दिन एक दाउभन्दा बढी चाहिँ खेल्न नहुने मान्यता छ।राशिअनुसार लक्ष्मीपूजाको लगन जुर्छ।विशेष गरेर सिंह लगनमा लक्ष्मीपूजा गर्दा बढी फलिफाप हुन्छ भन्ने मान्यता छ।लक्ष्मीपूजासँगै मारवाडी समुदायमा ‘स्नेह मिलन’ कार्यक्रम पनि आयोजना हुन्छ।

यस्तो कार्यक्रममा आफूभन्दा ठूलासँग आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने गरिन्छ।लक्ष्मीपूजाको दुई दिनअघि धनतेरसको दिन ढुकुटीबाट पैसा निकाल्नु हुँदैन।यो दिन सुन वा चाँदीको एउटा सिक्का किनेर ढुकुटीभित्र भएको थैलीमा राख्नुपर्छ। धनतेरसको दिन यही एउटा सिक्काबाहेक अरू सामान नकिन्ने प्रचलन छ।धनतेरस र लक्ष्मीपूजाका दिन कसैलाई पनि भुक्तानी नदिने चलन छ।

पवनकुमार सारडा प्रबन्ध निर्देशक, सारडा ग्रुप ‘लक्ष्मीलाई निट एन्ड क्लिन चाहिन्छ’ मारवाडी समूह सामान्यतया व्यापार–व्यवसायमा लागेको हुन्छ।अझ भनूँ–मारवाडीको रगतमै व्यवसाय दौडिरहेको हुन्छ। मारवाडीलाई लक्ष्मीपुत्र भनिन्छ।हामी लक्ष्मीलाई आमालाई जस्तै सम्मान र प्रेम गर्छौं।

लक्ष्मीलाई ‘निट एन्ड क्लिन’ चाहिन्छ।लक्ष्मीपूजाको दिन हामी घर, अफिस रंगरोगन र सरसफाइ गरेर चिटिक्क पार्छौं। म जनकपुरमा बस्छु।यता दीपावली खूब रमाइलोसँग मनाइन्छ।सडकमा दायाँबायाँ केराको थाम लगाइन्छ, माटोको दियोमा तेल हालेर बालिन्छ।

पण्डित बोलाएर धुमधामसँग लक्ष्मीपूजा गरिन्छ।लक्ष्मीको उपासक कहिल्यै रिसाउँदैन, मृदुभाषी हुन्छ।कलह र झगडा हुने घरमा लक्ष्मीको बास हुँदैन भन्छन् ।

हामी तिहारको पहिलो दिन धनतेरस मनाउँछौँ।त्यस दिन सुन–चाँदी किनेर घरमा ल्याउँछौँ।नसक्नेले भाडाबर्तन भित्याउँछ।धनतेरसमा केही सामान भित्याउनुपर्छ भन्ने मान्यता छ। लक्ष्मीपूजाका दिन राम्रो र नयाँ लुगा लगाउने गरिन्छ।खातापाता पनि नयाँ हाल्छौँ।नयाँ र पुराना खाता राखेर पूजा गर्छौं।

मोती दुगड अध्यक्ष, एमभी दुगड ग्रुप ‘स्टाफलाई खुशी बनाउँछौँ’ मारवाडी समुदायका लागि तिहार विशेष पर्व हो।त्यसमा पनि लक्ष्मीपूजा झन् खास हुन्छ।लक्ष्मी राति आउँछिन् भन्ने मान्यता छ।त्यसैले लक्ष्मीपूजाको रात गेट खुल्ला राख्नुपर्छ।रातभरि बत्ती बाल्नुपर्छ, ताकि टाढैबाट लक्ष्मीले घर देखेर आऊन्।अँध्यारोमा घरमा लक्ष्मी आउँदिनन् रे।

तिहारको समयमा व्यापार–व्यवसायमा चमक आउँछ।दीपावलीको समयमा व्यापारीले डिस्काउन्ट पनि दिन्छन्। हामी लक्ष्मीपूजामा स्टाफका लागि पूरा अर्गनाइजेनसमा चिट्ठा खोल्छौँ।स्टाफलाई खुशी बनाउने प्रयत्न गर्छौं।उनीहरू खुशी भए भने मात्र लक्ष्मी खुशी हुन्छिन्।स्टाफसँग सँगै बसेर खान्छौँ।यसो गर्दा उनीहरूको उत्साह बढ्छ।

विष्णु अग्रवाल प्रबन्ध निर्देशक, एमएडब्लू इन्टरप्राइजेज ‘कर्मचारी र आफन्तलाई मिठाई बाँडिन्छ’ हामी व्यवसायी लक्ष्मीपूजालाई विशेष महत्व दिन्छौँ।अफिस र घर दुवै ठाउँमा लक्ष्मीको भव्य पूजा गर्छौ।यस दिन कर्मचारी, साथीहरू, आफन्तलाई मिठाई बाँड्ने चलन छ।

मलाई लाग्छ, पहिला मनैदेखि चाडपर्व मनाइन्थ्यो।त्यो बेला सानो बच्चा भएर पनि होला, खूबै रमाइलो लाग्थ्यो।मनोरञ्जनका साधन कम थिए।रमाइलोका लागि दीपावली कुरेर बसिन्थ्यो।अचेल मोबाइल, कम्प्युटरमा मानिस भुल्न थाले।चाडपर्वको रौनक कम हुन थालेको छ। अन्नपूर्णपोष्ट बाट

तपाईको प्रतिक्रिया