काठमाडौँ  – ओखरसँगै बाधाहरू फुटाएर, तेलको घेरा बनाई, आफ्नै हातले उनेको मखमली र सयपत्रीको माला दाजुको गलामा लगाउन थालेको नौ वर्ष भइसकेछ तेस्रोलिंगी मोडल ज्योति थापाले । भक्तपुर सिपाडोलकी ज्योतिले अरू दिदीबहिनीले जस्तै आफ्नो माइतीको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दा साँच्चिकै एउटी बहिनीको कर्तव्य पूरा गरेको आभास दिलाएको बताइन् । भन्छिन्, ‘यस वर्ष दुईजना दिदीहरूसँगै धोती लगाएर भाइटीका लगाउने योजना बनाएकी छु ।’ उनी दाइलाई सेल बनाएर खुवाउने, मन लागेको उपहार दिने गर्छिन् ।

सम्भवतस् तेस्रोलिंगी समुदायमा एउटी भाग्यमानी व्यक्ति हुन् ज्योति थापा । ज्योतिझै चम्किलो बनेर उज्यालो छर्ने चाहनासहित उनीले आफैंले ‘ज्योति’ नाम राखेकी हुन् । नभन्दै तेस्रोलिंगी समुदायमा उनी चम्किरहेकी पनि छिन् । परिवारलाई विश्वस्त बनाउँदै तेस्रोलिंगी छोरीको रूपमा स्वीकार गर्ने वातावरण बनाउन सक्नु उनको कला हो । परिवार र समुदायले अस्वीकार गर्ने जुन पीडा आम तेस्रोलिंगीहरूले भोग्नु परिरहेको छ त्यसबाट उनी मुक्त भइसकेकी छन् । त्यसैले तिहारमात्रै होइन अन्य परम्परागत चाडपर्वमा छोरीकै रूपमा मनाउन ढोका खुलिसकेको छ उनका लागि ।

आफू समझदार परिवारमा जन्मिएकोमा भाग्यमानी ठान्छिन् उनी । परिवारले उनको समस्यालाई बुझ्यो र एउटी छोरीको रूपमा स्वीकार गर्‍यो । परिवारले स्वीकारे पनि समाजलाई बुझाउनुपर्ने थियो । त्यसैले उनले करिब नौ वर्ष पहिला तिहारको अवसरमा एक कार्यक्रममार्फत आफू तेस्रोलिंगी भएको अवगत गराएकी थिइन् । त्यही वर्षदेखि उनले भाइटीका लगाउन सुरु गरेकी हुन् । आफूले रोजेको जिन्दगी पाएकोमा उनी औधी खुसी छिन् अहिले । भन्छिन्, ‘परिवार सकारात्मक भयो भने अरू कुरा सामान्य लाग्दो रहेछ ।’ पछिल्लो समय मोडलिङमा जमिरहेकी उनी नीलहिरा समाज, भक्तपुरमा काम गर्छिन् ।

दिदी बन्न अप्ठ्यारो नीलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङले यस वर्षको दसैं परिवारका साथ धूमधामसँग मनाइन् । ज्योतिजस्तै उनी पनि अर्की भाग्यमानी तेस्रो लिंगी हुन् । जसलाई परिवारले छोरीको रूपमा स्वीकार गरेको छ । तिहार मनाउन थालेको उनले छोरीकै रूपमा तिहार मनाउन थालेको चार वर्ष भइसकेको छ । तर उनको तिहार अलि फरक बन्छ अरूको भन्दा । उनको एकजना भाइ र बहिनी छिन् । भन्छिन्, ‘सधैं दाइको रूपमा टीका लगाइरहेकाले अहिले दिदी बन्दा अलि अप्ठ्यारो लाग्छ । त्यसैले टीका भाइटीका चाहिँ लगाउँदिनँ ।’ तर बहिनीले उनलाई सगुन दिन्छिन् उनी बहिनीलाई उपहार, दक्षिणा दिन्छिन् ।

पहिलादेखि चलिआएको चलन भएकाले परिवारमा यसको विरुद्ध बोल्नु उनलाई उचित लाग्दैन । ‘चाहना त छ नि टीका लगाइदिने, माला गाँस्ने तर पनि त्यो रहर पूरा हुन पाएको छैन’, पिंकी भन्छिन् । नीलहिरा समाजकी प्रमुख अभिभावक भएकाले केही वर्षअघि देखि तेस्रोलिंगी समुदायका साथीहरूसँग मिलेर भाइटीका लगाउने, देउसीभैलो खेल्ने चाँजोपाँचो उनले मिलाउने गरेकी छन् ।

भाइटीका लाउँदिनन् प्रीति सामाजिक सञ्जालमा तेस्रोलिंगी समुदायलाई समाजले अझै स्वीकार गर्न नसकेको उनको बुझाइ छ । ललितपुर ग्वार्कोमा बस्ने प्रीति भन्छिन्, ‘धेरै साथीहरूको अवस्था दयनीय छ । किनकि काठमाडौंमा महिला पुरुषको रूपमा खुलेर बसे पनि चाडपर्व मनाउन घर जाँदा आफनो पहिचान लुकाउन बाध्य हुन्छन् ।’

फेसबुकमा जति ग्लामर तस्बिर पोस्ट गरे पनि परिवार र समाजमा खुल्न नसकेकोमा उनको दुस्खेसो छ । ‘तिहार रमाइलो चाड भए पनि तेस्रो लिंगीका लागि खल्लो हुन्छ । तेस्रोलिंगीहरू महिलाहरू आफ्ना दाजुभाइलाई आफैंले उनेको माला लगाइदिन चाहन्छन्’, उनी भन्छिन्, ‘अरूले जस्तै धूमधाम दीपावली मनाउन चाहन्छन् । तर सामाजले लगाउने लाञ्छनाको त्रासले इच्छा र चाहना दबाउन बाध्य छन् ।’

यस पटकको तिहारमा प्रीति आफैं रंगोली बनाउने योजनामा छिन् । परिवारमा खुलिसकेकी उनी अरूले जस्तै तिहार मान्न पाउँछिन् । तेस्रोलिंगीलाई अरू मानिसले रमाइलोको रूपमा देउसीभैलोमा नचाउने परम्परा भने उनलाई मन पर्दैन । ‘कतिपयले त्यसलाई अवसर ठान्लान् तर मलाई त हेपेजस्तो लाग्छ’, उनले भनिन् ।

अर्को वर्षदेखि भाइटीका चितवनकी खुश्बु गुरुङ यसवर्ष मात्रै तेस्रोलिंगीको रूपमा खुलेकी हुन् । पहिलो पटक तेस्रोलिंगी छोरी बनेर दसैं मनाउन घर जाँदा उनलाई समस्या परेन । बुवाआमाले सहजै स्वीकार गरे । खासै नराम्रो प्रतिक्रिया पाइनन् । तर दसैंको टीका थाप्न घरमै बसिन् आफन्तकोमा भने गइनन् । मेकअप आर्ट कोर्स गरेर बसेकी खुश्बुका दुईजना दाइहरू छन् तर उनी यसपटक तिहार मनाउने हिम्मत गरेकी छैनन् । भनिन्, ‘सायद तिहार अर्को वर्षमात्रै मनाउँछु ।’ यसवर्ष मार्फत तेस्रोलिंगीका रूपमा खुलेकाले सहज रूपमा प्रस्तुत हुन आफूलाई नै अप्ठ्यारो लागेको उनको भनाइ छ ।

सबै चाडलाई सामान्य लिन्छु, रुक्साना कपाली पाटनकी रुक्साना कपालीलाई तेस्रोलिंगी छोरीको रूपमा परिवारले पहिला स्वीकार गरिसकेको छ । उनको परिवारका सदस्यले उनलाई अन्य मानिसलाई जस्तै सहज रूपमा लिन्छन् । परिवारमा जेठो छोराको रूपमा जन्मिए पनि छोरी बनेकी रुक्सानाले अहिलेसम्म छोरीका रूपमा तिहार मनाएकी छैनन् । उनको एउटा भाइ छ । भाइभाइको रूपमा हुर्किएको उनीहरूले एक पटक टीका लगाएपछि झन्झटिलो हुन्छ भनेर तिहार नमनाएको बताइन् ।

तिहार मनाएपछि कुनै वर्ष पनि छुटाउन नमिल्ने उनको बुझाइ छ । नेवार समुदायमा मनाइने म्हं पूजा गर्छिन् । प्रत्येक चाडवाडलाई सामान्यरूपमा लिने रुक्सानालाई देउसीभैलोमा भने रुचि छैन । परिवारमा जस्तो भए पनि अनेकौं सामाजिक लाञ्छनाका कारण तेस्रालिंगीहरू आफ्ना चाहनालाई दबाउन बाध्य भएको उनीहरू बताउँछन् । एक सामान्य मान्छेले जस्तै यस्ता चाडपर्वमा रम्न पाउनु जन्मसिद्ध अधिकार भए पनि यस्ता अधिकारको उपयोग अझै टाढा भएको उनी बताउँछिन् । अन्नपूर्णपोष्ट बाट

तपाईको प्रतिक्रिया