यादव खरेल तिहारको वेला मेरो घरमा पनि देउसीभैली खेल्नेहरू आउँछन् । गीत बजाएर नाच्छन् । ‘तिहारै आयो, लौ झिलिमिली, ए सुन हजुर भैलिनी आइन् आँगन…. ।’ म हेरिरहन्छु, सुनिरहन्छु । तर, मैले नै त्यो गीत लेखेको भन्ने उनीहरूलाई थाहा हुँदैन । मैले आजभन्दा २४ वर्ष पहिले यो गति लेखेको हुँ । हुन त मेरो करिअर ५० वर्ष पहिले नै सुरु भएको हो । थुप्रै चर्चित गीतहरू पनि दिइसकेको छु । तर, यो गीत भने ‘स्वर्ग’ भन्ने फिल्मका लागि लेखेको थिएँ । फिल्म ०५१ सालमा रिलिज भएको थियो । यो गीतका स्मरणहरू मसँग निकै धमिला छन् । मलाई संगीतकार शम्भुजित बास्कोटा र निर्देशक शम्भु प्रधानले फिल्मको कथा सुनाएपछि मैले यो गीत लेखेको थिएँ । सायद यो गीत लेख्न मलाई त्यति लामो समय लागेन । तीन दिनमा तीनवटा गीत लेखेर फिल्ममा दिएको रेकर्ड पनि थुप्रै छन् मसँग ।

फिल्मको गीत र स्वतन्त्र गीतमा के फरक हुन्छ भने फिल्मी गीतलाई परिस्थिति र कथामा आधारित भएर लेख्नुपर्छ । स्वतन्त्र गीत संस्कृतिलाई पनि ध्यान दिएर लेख्न सकिन्छ । ‘स्वर्ग’को गीतमा तिहारको कथा त छ । तर, अलि पछि गइसकेपछि आशिश दिने क्रममा फर्केर जाऊ भनिएको छ । सांस्कृतिक रूपले यो त्यति शोभनीय छैन । तर, फिल्मको कथाका कारण मैले त्यसरी गीत लेखेको थिएँ । उक्त गीतमा नायिका गौरी मल्ललाई शिव श्रेष्ठले मन पराएको हुन्छ र शिव श्रेष्ठ मायाको खोजीमा भैली खेल्ने ठाउँ पुगेको हुन्छ । यो गीत मैले दसैँको समयमा लेखेको थिएँ ।

कुनै पनि स्रष्टाले गीत लेख्दा त्यसलाई पाठकले कति रुचाउँछन् भन्ने कुरा मूल्यांकन गर्न सक्दैनन् । मात्र, स्रष्टा इमानदार भएर गीत लेख्ने हो । यो यति लामो समयसम्म उत्तिकै लोकप्रिय बन्नुको कारण यसको धुन पनि हो । संगीत, गायन र रचनाको राम्रो संयोजन भयो भने गीत राम्रो बन्छ । यो गीतमा लोचन भट्टराई र नूतन प्रधानले स्वर दिएका छन् भने शम्भुजित बास्कोटाको संगीत छ । नयाँ पत्रिकाले छापेको छ ।

एकपटक हामी थुप्रै संगीतकर्मी र कलाकर्मी एउटा अनुसन्धानका लागि दार्जिलिङ, सिक्किम, सिलिगुडी पुगेका थियौँ । संयोगले त्यो सयम तिहार नै परेको थियो । त्यहाँका कुनाकुनाको गाउँमा पनि यो गीत बजेको सुनेको थिएँ । फिल्मको गीत ह्वात्तै एकैपटक माथि आउँछ र पछाडि पर्छ । तर, केही गीतहरू भने अमर नै हुँदा रहेछन् ।

तपाईको प्रतिक्रिया