काठमाडाैं – रामेश श्रेष्ठ, गायक तथा रचनाकार पञ्चायती सामन्ती सत्ताबाट हाम्रो भलाइ नहुने भएपछि यसलाई भत्काउन यो गीत रायन र मैले गायौँ । यसले युग परिवर्तनका लागि ठूलो भूमिका खेल्यो । एउटा साथीले भोजपुरबाट आउँदा गीतको बारेमा सुनाउनुभयो । गीतको लय र शब्द राम्रो लाग्यो । काठमाडौंमा विभिन्न सांगीतिक कार्यक्रम भइरहन्थे । हामीले यो गीतको शब्दलाई केही परिमार्जन गर्यौँ र देशभर गाउँदै हिँड्यौँ । जहाँ जान्थ्यौँ, सबैले गीत मन पराएको पायौँ । गीत गाउँदा पुलिसले पटकपटक सोधपुछ गरे । तर, सहरबजारमा बस्ने भएकाले धेरै दुःख दिन सक्दैन थिए । बरु सर्वसाधारणलाई धेरै यातना दिएका थिए । कतिपयको त पुलिसको कुटाइले कानको जाली पनि फुटेको थियो । सुरुसुरुमा कम्युनिस्टको गीत हो भनेर सबैले भन्थे । पछि चाहिँ सबैले यसलाई देशको गीतका रूपमा स्विकारे । विभिन्न आन्दोलन सफल बनाउने अभियानमा यो गीतको ठूलो योगदान छ । गीतलाई नेवार, भोजपुरी, तामाङ, राई, अंग्रेजी, चाइनिज भाषामा समेत गाइएको छ । हरेक कार्यक्रम, देश सुखमा हुँदा, दुःखमा पर्दा, विभिन्न कार्यक्रम, आन्दोलनमा यो गीत बजाइन्छ । ०६२÷६३ सालपछि यो गीतलाई राष्ट्रिय गीत बनाउने भनेर धेरैले प्रस्ताव गरे । तर, विभिन्न राजनीतिक दलका केही नेताले दिएनन् । जब कि यो जनताको गीत हो ।

श्याम तमोट, रचनाकार तथा संगीतकार

गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ हातमा कलम हुनेहरू, कलम लिएर उठ बाजा बजाउन जान्नेहरू, बाजा लिएर उठ हातमा औजार हुनेहरू, औजार लिएर उठ साथमा केही नहुनेहरू, आवाज लिएर उठ झिल्का–झिल्का बल्नेहरू, ज्वाला लिएर उठ देशका लागि लड्नेहरू, एकजुट भएर उठ

यो गीत नगुन्जिएको गाउँ नै छैन । धेरैजसो नेपालीलाई यो गीत कण्ठ नै छ । विभिन्न आन्दोलन र अभियानलाई तताउन स्कुल–कलेज र गाउँसहरमा गाइने गीत हो यो । देशमा राष्ट्रिय भावना कमजोर हुँदा पनि रेडियोहरूमा बज्दै आएको छ यो गीत । ०३१ मा भोजपुरको दावा भन्ने ठाउँमा जन्मेका श्याम तमोटले त्यहाँको स्कुलमा हुने सांस्कृतिक कार्यक्रमका लागि यो गीत रचेका हुन् । त्यही दिनदेखि यो गीत स्रोताको मनमनमा बस्न सफल भयो । यो गीतको संगीत पनि श्याम तमोटकै हो । ०४६ पछि मात्र यसलाई रेकर्ड गरिएको हो । त्यसअघि भूमिगत शैलीमा टेपरेकर्डबाट सिडीमा रेकर्ड गरेर सीमित व्यक्तिहरूले राख्थे । गीतका रचनाकार तथा संगीतकार श्याम तमोटले गीत सिर्जना गर्दाको अनुभव यसरी सुनाए । त्यसताका देशमा पञ्चायतकाल थियो । राजनीतिक दलहरू भूमिगत थिए । विद्यार्थी संगठन बिस्तारै स्थापना हुने क्रममा थिए । म धरानमा रहेको महेन्द्र कलेजमा पढ्दै थिएँ ।

कलेजमै मेरो संगत वामपन्थी साथीहरूसँग बढ्दै गयो । चिनियाँ क्रान्तिका विषयमा अध्ययन गरिन्थ्यो । परिवर्तन भनेको गाउँबाट, बस्तीबाट हुनुपर्ने रहेछ भन्ने कुरा चिनियाँ क्रान्ति पढेर थाहा पाएँ । क्रान्तिका विषयमा, पञ्चायती ज्यादतीका विषयमा धेरै कुरा बुझ्ने मौका पाएँ । धरानको पढाइ सकेपछि आफ्नै जन्मथलो गाउँ भोजपुरको दावामा फर्किएँ । गाउँका विद्यार्थीले एउटा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै थिए । त्यही कार्यक्रमका लागि मैले ‘गाउँगाउँबाट उठ’ गीतको रचना गरेँ । लय आफैँले भरेँ । शम्भु श्रेष्ठ, डिल्ली राई र म मिलेर कार्यक्रममा यो गीत गाएका थियौँ ।

गीत मन परेर एकजना साथीले काठमाडौंमा रामेश र रायन श्रेष्ठलाई दिनुभएछ । त्यसपछि ०३६ सालपछि संकल्प गीतिकार्यक्रम भन्ने अभियान चल्यो । त्यो अभियानका क्रममा मेरो गीतलाई रामेश दाईले गोप्य रूपमा रेकर्ड गराउनुभएछ । गीत बाहिर आएपछि धेरैले अनेक अर्थ लगाए । म त्यतिवेला पनि खुलेर राजनीतिमा लागेको थिइनँ । पेसा प्राध्यापन थियो । त्यसैले नेपाल राष्ट्रिय शिक्षक संगठनको सदस्य थिएँ । ०३८ साल र ०४५ सालमा गिरफ्तारमा समेत परियो । पञ्चायतविरोधी गीत हो भनेर प्रहरीले दिनदिनै सोधपुछ गर्थे । हामी लुकेर, भागेर, भूमिगत भएर क्रान्तिका, परिवर्तनका गीतहरू गाउँथ्याँै । गीत गाउने मात्र होइन सुन्न आउने मान्छेलाई पनि पञ्चायती शासकहरूले धेरै दुःख दिए ।

रायन श्रेष्ठ, गायक, रचनाकार जनताको आवाज उठाउन पञ्चायतकालमा क्रान्तिका गीत धेरै बन्थे । यो गीत पनि क्रान्तिको एउटा गीत हो । रामेश र म राल्फा अभियानमा थियौँ । प्रायजसो राजनीतिक पार्टीहरू भूमिगत थिए । त्यसैले जनताको मुक्तिको कुरालाई राल्फाले उठाएको थियो । श्याम तमोटले रचेको गीत हाम्रो हातमा आइपुग्यो । ०३७ सालपछि झापामा कम्युनिस्ट आन्दोलन सुरु भयो । हामीले त्यो आन्दोलनमा यो गीत धेरैपटक गायौँ । यो र अरू क्रान्तिकारी गीत गाउँदा हामीलाई मार्नसमेत खोजियो । स्टेजबाटै प्रहरीले पक्रेर लान्थ्यो । स्टेज भत्काइन्थ्यो । तर, हामी छापामार शैलीमा सांगीतिक कार्यक्रम जहाँ छ, त्यही पुग्थ्यौँ । गाउँसहर जहाँ पुगे पनि हामीलाई सरकारले धेरै दुःख दिन्थे । अहिले पुराना गीतहरू संकलन गर्दै छु । त्यसवेला कति गीत कार्यक्रममै रचना भए, त्यहीँ गाइयो । अहिले ती गीतहरू संकलन गर्दै छु । आन्दोलनमा गीतहरूले कस्तो भूमिका खेले भनेर पछिल्ला पुस्ताहरूलाई जानकारी होस् भनेर गीतहरू संरक्षण गर्ने प्रयास थालेको हँु । कलाकारहरूलाई सबैले बिर्सिन्छन् । हामीले उठाएका नेताहरू अहिले नयाँ राजाका रूपमा स्थापित भएका छन् । पछिल्लो पुस्ताले नबिर्सिऊन् भनेर गीतहरू संकलन गरिरहेको छु, र तिनलाई रेकर्ड गर्दै छौँ ।

जेबी टुहुरे, गायक

एउटा जनवादी, प्रगतिशील र क्रान्तिकारी गायक जेबी टुहुरेले गाएको परिवर्तनकारी गीत हो हो । उनको यो प्रगतिशील गीतले आज पनि राष्ट्रियता, गरिब र न्यायका पक्षमा आवाज उठाउँदै छ । २००१ कात्तिक १५ गते धरानमा जन्मिएका टुहुरेको वास्तविक नाम भने जुटबहादुर खड्गी हो । जनवादी गायक टुहुरेले यो गीत रच्दाको अनुभव यसरी सुनाए । ०३६ सालतिर कतैबाट एउटा सानो पुस्तक मेरो हातमा पर्यो । पुस्तक पढ्दै जाँदा एउटा कवितामा आँखा पुग्यो । कविताको शीर्षक थियो, चरी भरर । त्यो कविता लेख्ने व्यक्ति हुनुहुन्थ्यो यज्ञदेव ज्ञवाली । कविता पढ्दै जाँदा त्यो कविताले महिलालाई होच्याइएकोजस्तो लाग्यो । म त्यो कविता बाटोमा हिँड्दा पनि पढ्दै हिँड्थेँ । आफूले लय पनि हालेँ । अनि रामेश श्रेष्ठ र मैले सुनसरीको धरानमा रहेको चतरा लाइनमा बसेर गीतका शब्दलाई परिमार्जन गर्यौँ । नयाँ पत्रिकाले छापेको छ ।

हामीहरू क्रान्तिका थरीथरी गीतहरू बनाउँथ्यौँ । गीत तयार पार्ने काम भूमिगत रूपमा हुन्थ्यो । ‘आफ्नै पौरख खान्छन्’ गीत आजसम्म मैले हजारौँपटक गाइसकेको छु र आज पनि कार्यक्रमहरूमा यही गीतको माग हुन्छ । संकल्प गीति कार्यक्रमलाई हामीले एउटा आन्दोलनकै रूपमा अगाडि बढाएका थियाँै । मेचीदेखि महाकालीसम्म नै जनतामा चेतना भर्ने कामहरू गरियो । हामी त्यतिवेला कार्यक्रम गरेर हिँड्थ्यौँ र त्यसवेला आएर पुलिसहरूले हामीलाई लखेट्थे । त्यहीवेला बम देवान भन्ने साथीसँग भेट भयो । मैले उहाँलाई यो गीतलाई केही परिमार्जन गर्न लगाएँ । उहाँले परिमार्जन गरिदिनुभयो । मलाई अन्तिम हरफ मन पर्यो । ०३३ सालदेखि लुकेर गीत गाउँदै हिड्थ्यौँ । टेपरेकर्डरमा, डिस्कमा रेकर्ड गरेर गीत बजाउने गरिन्थ्यो । ०४६ सालपछि मात्र यो गीत स्टुडियोमा रेकर्ड भएको हो । त्योभन्दा अगाडि यसको संगीत पनि आफैँले भरेँ ।

तपाईको प्रतिक्रिया