काठमाडौं –  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका परिचय धेरै छन् । सेनापति, प्रधानमन्त्री, राष्ट्रपति भएर फेरि प्रधानमन्त्री हुँदै राष्ट्रपतिको पदमा रहेका पुटिन विश्वकै शक्तिशाली राजनेताको सूचीमा छन् । कुनैवेला रुसी जासुसी संस्था केजिबीका खुफिया एजेन्ट रहेका पुटिनमा हक्की, क्षमतावान्, रमाइला र भावुक सबै स्वभाव भेटिन्छ । सिकार खेल्न मन पराउने उनी बाघ मारेर जंगलमै छाडिदिन्छन् । बाइक ग्याङ ‘नाइट उल्भ्स’मा पुटिनको उपनाम हो एबाड्डन, जसको अर्थ हुन्छ विध्वंसक । जुडोमा ब्ल्याक बेल्ट पुटिन पियानो बादक मात्रै होइनन्, गायक पनि हुन् । अनेकन परिचयका पात्र पुटिनबारे पनि कैयौँ गीत बनेका छन् । चर्चित १० गीत यस्ता छन् स्

१० अ म्यान लाइक पुटिन

पुटिन राष्ट्रपति भएको दुई वर्ष हुँदा लेखिएको गीत हो ‘अ म्यान लाइक पुटिन’ । गीत यति चर्चित भयो कि पुटिनले आफ्नो समर्थनमा निकालिने र्‍यालीहरूमा यही गीत बजाउन लगाउँथे । उनका समर्थकहरू नारा लाउनुको सट्टा यही गीत गाउँदै हिँड्न थाले । निकै चर्चित भएपछि यो गीत अंग्रेजीमा अनुवाद गरेर पनि गाइएको छ । पुटिनलाई गीतमा देशलाई सही दिशामा डोहोर्‍याउने असल नेता, उदाहरणीय व्यक्तित्व र अनुकरणीय पतिका रूपमा देखाइएको छ । यो गीत आउँदा रसियामा पुटिनलाई देश बचाउने मसिहाका रूपमा लिइन्थ्यो । यो गीतमा पुटिनबारे मान्छे बढी नै सकारात्मक भएको भन्दै व्यंग्य पनि गरिएको छ । तर, यो व्यंग्य पुटिनलगायत अरू कसैले नबुझेको यो गीतका गीतकार अलेक्जेन्डर एलेनले बताए ।

२० आवर म्याडहाउस भोट्स फर पुटिन

सन् २०१२ मा पुटिन पुनः राष्ट्रपतिमा उठ्ने भएपछि विरोधमा लेखियो ‘आवर म्याडहाउस भोट्स फर पुटिन । पुटिनको विरोधमा गरिने सबै र्‍याली र सभाहरूमा यो गीत आधिकारिकजस्तै बनेको थियो । यो पनि अलेक्जेन्डर एलेनले नै लेखेका हुन् । गीतले चर्चा यति धेरै बटुल्यो कि रसियन भाषाविद्हरूको एउटा समूहले यसलाई वर्षकै सबैभन्दा चर्चित शब्दावली भनेर घोषणा गरे । आवर म्याडहाउस भोट्स फर पुटिन गीत पागलखानाको एउटा कोठामा बिरामीले डाक्टरलाई सोधेको प्रश्नमा आधारित छ । रसियन मतदाताले सधैँ पुटिनलाई मात्र भोट गरेर रुसलाई अघि बढ्नबाट वञ्चित गरेको भन्दै उनको पक्षमा रहेका सबै मतदातालाई गीतकारले पागलको संज्ञा दिएका छन् ।

३० भ्लादिमिर

रसियन ब्यान्ड ‘र्‍यामेलहोफ’ले गाएको यो गीतको प्रशंसा र आलोचना उत्तिकै भयो । गीतमा पुटिनले प्रजातन्त्रको हत्या गरेको सन्देश दिन खोजिएको छ । युट्युबमा सार्वजनिक भएपछि गीतप्रति आलोचना चुलियो । आलोचनाले चर्को रूप लिएपछि ब्यान्डका सदस्यहरूले स्पष्टीकरण नै दिनुपर्‍यो । ‘शक्तिशाली देशका जनता पनि कुशल र प्रभावकारी नेतृत्व पाइएला कि नपाइएला भनेर सधैँ चिन्तित हुन्छन् । अधिकांश सरकार र नेताले प्रजातन्त्रको परिभाषालाई आफूअनुकूल तोडमोड गरेर जनतालाई सताउने गर्छन् । अब त प्रजातन्त्रदेखि प्रजाहरू नै डराउन थालिसकेका छन्,’ गीतमा आएको आलोचनाबारे ब्यान्डका एक सदस्यले स्पष्टीकरण दिँदै भनेका थिए ।

४० गो हार्ड लाइक भ्लादिमिर पुटिन

क्लिभलेन्डका र्‍यापर ‘एएमजी’ले सन् २०१४ मा गाएको यो गीतले पुटिनको व्यक्तित्वलाई यौन क्षमतासँग तुलना गरेको छ । यो गीत विशेषतः युवा वर्गमा धेरै चर्चित भयो । द्विअर्थी र यौनबारे बढी गीत गाउने एएमजीले यो गीतमा पुटिनको तारिफ गर्न कुनै कसर बाँकी राखेका छैनन् । गीतमा प्रयोग भएका ‘मेटाफोर’का कारण बढी चर्चामा आयो ।

५० पुटिन क्यान डु एनिथिङ

यो गीत हेर्दा गीत नभएर पुटिनको भजनजस्तो लाग्छ । यसमा पुटिनलाई पर्वतारोही, अन्तरिक्षयात्री, शल्यचिकित्सक, पियानो बादकका रूपमा देखाइएको छ । पुटिनले संसारमै गर्न नसक्ने काम केही छैन भनेर गीतले देखाउन खोजेको छ । केही दृश्यमा पुटिन जंगलमा लागेको आगो निभाउँदै हुन्छन् भने कहिले रसियन फुटबल टिमका लागि गोल गर्दै । युक्रेनका पेट्रो पोरोसेन्कोजस्ता देखिने एक व्यक्तिले खाना पकाइरहँदा पुटिनले युक्रेनमा पठाइएको ग्यासको आपूर्ति बन्द गरेर खाना पकाउन नदिएको दृश्यका कारण नै यो गीत बढी चर्चामा आयो ।

६० ह्यापी बड्डे प्रेसिडेन्ट अफ रसिया

पुटिनको ६२औँ जन्मदिनका अवसरमा गाइएको यो गीतमा उनको जन्मस्थान पिटर्सबर्गका बालबालिकाले स्वर दिएका छन् । उनको जीवनकालमा रुसले सयौँ कोसेढुंगा पार गर्‍यो, पुटिनको आगमन देशका लागि अपरिहार्य थियो‘’ भनेर सुरु गरिएको गीतमा पुटिनले गरेका सकारात्मक परिवर्तन र रुसको विकासमा पुर्‍याएको योगदानबारे चर्चा गरिएको छ ।

७० पुटिन इज नम्बर वान ग्रेटेस्ट प्रेसिडेन्ट

यो गीतको शब्द, संगीत र भिडियो निकै स्तरीय लाग्छन् । गीत युट्युबमा अपलोड भएपछि कमेन्ट बक्समा सुरु भएको बहसका कारण झन् विशेष रूपमा स्थापित भयो । अमेरिकाले एसियाली राष्ट्रहरूको प्रजातन्त्रमाथि अपमान गरेको, पुटिनले विश्व शान्ति र स्थायित्वमा विशेष योगदान पुर्‍याएको, पुटिन समलिंगी हुन सक्नेजस्ता विषयले कमेन्टको रूपमा प्रवेश पाए । यो गीतको कमेन्ट सेक्सनमा निकै गरमागरम बहस चलेको थियो ।

८० पुटिन खुइलो

‘पुटिन खुइलो’को शाब्दिक अर्थ निकै अश्लील छ । सन् २०१४ मा युक्रेनको मेटालिस्ट खार्किभ फुटबल क्लबका समर्थकले स्टेडियममा गएर खेल हेर्दा ‘पुटिन खुइलो’ भन्दै नारा लाउन थालेपछि यो गीत चर्चित बनेको थियो । यो नारा छिट्टै स्टेडियमबाहिर सडकमै सुनिन थाल्यो र केही समयमै पुटिनविरोधी सभासम्मेलन र र्‍यालीहरूको आधिकारिक नाराजस्तै बन्यो ।

९० माई पुटिन

युक्रेनकी गायिका मसानीले गाएको यो गीतमा पुटिनलाई आदर्श प्रेमीका रूपमा देखाइएको छ । युक्रेनबाट क्रिमिया छुट्याएर रुसमा गाभेको सन्दर्भलाई लिएर लेखिएको यो गीतमा गायिकाले आफ्नो प्रेमीलाई पुटिनजस्तै मानेकी छन् । पूरै विश्व उनको विरुद्धमा लाग्दा पनि पुटिनले जसरी क्रिमियालाई आफ्नो बनाएरै छाडे, उनले आफ्नो प्रेमी पनि त्यस्तै होस् भन्ने गीतमा चाहेकी छन् । गीतको भिडियोका केही दृश्यमा गायिका युक्रेनको झन्डाजस्तो लुगा लगाएर आउँछिन् भने एक बाइक राइडर पनि देखिन्छन् । पुटिनको आफ्नै ‘नाइट उल्भ्स’ नामको बाइक राइडर ग्याङ पनि छ ।

१०० भोभा इज अ प्लेग

रसियाली भाषामा ‘भोभा’ भनेको ‘भ्लादिमिर’को छोटो रूप हो । यो गीतमा पुटिनलाई ‘भोभा’ नामले सम्बोधन गर्दै उनी रसियाका लागि प्लेग अर्थात् महामारी भनिएको छ । रुसमा विपक्षी दल कमजोर भएर पुटिनले एकतन्त्रात्मक शासन लादेको भन्दै उनको विरोध गर्नु र मजाक उँडाउनुभन्दा चाप्लुसी गर्नु ठीक भन्दै गीतले व्यंग्य हानेको छ । ‘मृत्यु कालो हुन्छ र त्यो कालो मृत्युसँग संसारमा सबै डराउनुपर्छ, तर पुटिन डराउँदैन किनभने उनी आफैँ कालो मृत्यु हुन्,’ गीतमा भनिएको छ ।

पुटिनबारे गीत लेख्ने चर्चित गीतकार के भन्छन्?

पुटिनका बारेमा यति धेरै गीत लेखिएका छन् कि उनका समर्थक वा विरोधी कोही पनि भेला हुँदा प्रस्तुत गर्ने गीतको कमी हुँदैन । तर, अचम्मको कुरा के छ भने उनको तारिफ गरिएको र विरोध गरिएको सबैभन्दा चर्चित दुवै गीतका गीतकार भने अलेक्जेन्डर एलेन नै हुन् । सन् २००२ मा अलेक्जेन्डरले ‘म रुसको सबैभन्दा चर्चित गीत लेख्छु’ भनेर आफ्ना एक साथीसँग दुई सय डलरको बाजी थापेका थिए । त्यसपछि उनले ‘अ म्यान लाइक पुटिन’ लेखे । पुटिनले दुई वर्षे राष्ट्रपति कार्यकाल पूरा गरेपछि सार्वजनिक भएको यो गीतलाई पुटिनले आफ्ना कार्यक्रमहरूमा बजाउने आधिकारिक गीत नै बनाए । नयाँ पत्रिकाले छापेको छ ।

‘अ म्यान लाइक पुटिन’ लेखेको १० वर्षपछि एक विपक्षी दलका नेता आएर एलेनलाई पुटिनको विक्षमा गीत लेख्न आग्रह गरे । त्यतिवेला पुटिन दोस्रोपटक राष्ट्रपतिको दाबेदार थिए । केही समयअघि एक पत्रिकालाई अन्तरवार्ता दिँदै एलेनले रुसमा पुटिनविरोधी गीत नचल्ने बताएका थिए । उनले विपक्षी नेतालाई पनि त्यसै भनेर फर्काएका थिए । तर, फेरि पुटिन नै राष्ट्रपतिमा निर्वाचित भएपछि भने उनले पुटिनको विरोधमा गीत लेखे । ‘आवर म्याडहाउस भोट्स फर पुटिन’ले रुसमा तहल्कै पिट्यो । विपक्षीहरूले हरेक कार्यक्रममा गीत घन्काउन थाले । एलेनले अन्तर्वार्तामा यो गीतबारे प्रस्तोताका धेरै जवाफ दिएका छन् । एउटा प्रश्न थियो– तपार्इंका गीतले पुटिनको समर्थन र विरोध दुवै गर्छन् । तपार्इंलाई ती गीत अहिले सुन्दा कस्तो लाग्छ रु प्रश्नमा उनको जवाफ थियो, ‘समय परिवर्तनशील छ र यो कुरा सबैभन्दा बढी रसियाली जनताले बुझ्न जरुरी छ ।’

तपाईको प्रतिक्रिया