डा. शेरबहादुर पुन सरुवा रोग विशेषज्ञ

झाडापखाला गर्मी र वर्षाको समयमा लाग्छ । यही समयमा अस्पतालमा झाडापखालाका बिरामी बढ्छन् । दूषित पानीको प्रयोग र घरबाहिरको अस्वस्थकर खानपानका कारण झाडापखालाले छुन्छ । मानिसले सरसफाइमा ध्यान दिने हो भने झाडापखाला लाग्नबाट सहजै बच्न सकिन्छ ।

अस्वस्थकर पानी र खाना झाडापखाला लाग्ने प्रमुख कारण हो । गर्मी र वर्षाको समयमा मानिसको सानो आन्द्रामा संक्रमण हुने सम्भावना बढी हुन्छ । त्यसैले सबैभन्दा पहिले स्वस्थकर खानेकुरा खानु आवश्यक हुन्छ ।

मानिसले राम्रोसँग नपाकेका खाना खाने, पानी नउमाली खाने, बासी सडेगलेका खानेकुरा खानाले संक्रमण बढाउन सक्छ । जसले गर्दा जोकोहीलाई पनि झाडापखाला लाग्न सक्छ । हामी घरभन्दा बाहिरको खाना खाने गर्छौं । सकेसम्म बाहिरको खानाभन्दा घरमै बनाएर खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । सडकको किनारामा राखिएका खाना खानु हुँदैन ।

दिसा–पिसाब गरिसकेपछि धेरैको बानी सामान्य पानीले धुने चलन अझै पनि छ । दिसा–पिसाब गरिसकेपछि राम्रोसँग साबुनपानीले हात धुनुपर्छ । गर्मी होस् या जाडो समय, सधैँ पानी उमालेर खानुपर्छ । उमालेर पानी खाने हो भने धेरै हदसम्म झाडापखाला लाग्नबाट बच्न सकिन्छ ।सेतो बोतलमा पानी राखेर सूर्यतिर फर्काएर केही बेर राख्ने हो भने पानीमा रहेका कीटाणु मर्न सक्छन् । यो पानी पनि शुद्ध हुन्छ ।

सहरी क्षेत्रमा जारको पानी प्रयोग गर्नेको संख्या धेरै छ । जारको पानी सफा हुन्छ भनेर ढुक्क हुनु हुँदैन । जारको पानी पनि अस्वस्थकर हुन सक्ने भएकाले पानी उमालेर मात्र प्रयोग गर्नुपर्छ ।साबुनपानीले राम्रोसँग हात धोएर खाने बानी धेरैमा छैन । घरबाहिरबाट फर्किएपछि साबुनपानीले हात, खुट्टा, मुख धुनेजस्ता सामान्य क्रियाकलाप गर्दा पनि झाडापखालाबाट बच्न सकिन्छ । नयाँ पत्रिकाले छापेको छ ।

जंकफुड, पानीपुरी, चटपटेजस्ता खानेकुरा सकेसम्म खानु हुँदैन । सडकको दायाँ–बायाँ राखी बेचिने यस्ता कुरा खानाले झाडापखाला लाग्न सक्ने सम्भावना हुन्छ । हामीले आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ । सफा, स्वस्थ खानपानले धेरै रोगबाट बच्न सकिन्छ ।

तपाईको प्रतिक्रिया