नेपालीको रंगिन चाड तिहार सुरु भइसकेको छ । तिहारले दिदीभाइ तथा दाजुबहिनीको सम्बन्धमा समेत रंग थप्ने गर्छ । लामो समयदेखि भेट नभएका दिदीभाइ तथा दाजुबहिनीहरू तिहारमा भाइटीकाका लागि भेट हुन्छन् । यसकारण तिहार मिलनको चाड पनि हो । केही यस्ता दाजुबहिनी तथा दिदीभाइ जो दुवैजना आ–आफ्नो क्षेत्रमा सफलता हात पारेर चर्चामा छन्, उनीहरूको सफलताको कथा गज्जब तिहार विशेष अंकमा प्रस्तुत गरिएको छ ।

देवी र विशालको लोभलाग्दो सम्बन्ध

देवी खड्का र विशाल खड्का सफल दिदीभाइमध्ये एक हुन् । दोलखामा जन्मेका दुवैजना माओवादी केन्द्रमा आबद्ध छन् । देवी खड्काले औपचारिक रूपमा अध्ययन गर्न पाइनन् । उनीसँग अहिले १२ कक्षासम्मको सर्टिफिकेट छ, तर विद्यालय गएर अध्ययन गरेको अनुभव छैन । गाउँमा जन्मेकी हुनाले त्यसवेला समाजमा छोरीलाई पढाउन हुँदैन भन्ने मान्यता थियो । त्यही मारमा देवी परिन् । भन्छिन, ‘एक दिन विशाल स्कुल जान नमानेर पु¥याउन गएकी थिएँ, त्यही दिन हो मैले स्कुल टेकेको ।’ उनले तीतो अनुभव सुनाइन् । वास्तवमा भन्नुपर्दा उनको बाल्यकाल घाँसदाउरामै बित्यो । देवीलाई विद्यालय गएर पढ्ने ठूलो धोको थियो । तर, घाँसदाउरा गर्नुपर्ने बाध्यताले उनलाई छाडेन । उनी विद्यालय गएर अध्ययन गर्ने अवसरबाट वञ्चित भइन् । यति हुँदाहुँदै पनि उनले आफ्नो पढ्ने इच्छालाई भने मर्न दिइनन् । विशालले दिउँसो पढेका कुरा बेलुका २ घन्टा देवीलाई सिकाउँथे । देवी ती दिन सम्झँदै भन्छिन्, ‘भाइ स्कुलबाट आएपछि दिउँसो स्कुलमा पढेका कुरा बेलुका मलाई २ घन्टा पढाउँथ्यो, उसले मलाई होमवर्क पनि दिन्थ्यो । होमवर्क गाईवस्तु हेर्दा, घाँसकोे भारी बिसाउँदा गर्थेँ । त्यसैले मलाई साक्षर गराउनुमा भाइको ठूलो योगदान छ ।’

यसरी घाँसदाउरा, मेलापात गर्दै जाँदा ०४३ मा नेकपा मालेले उनको गाउँमा संगठन विस्तार ग¥यो । त्यहाँबाट उनले कम्युनिस्ट सिद्धान्तबारे जान्ने मौका पाइन् । यहीक्रममा मोदनाथ प्रश्रितको नारीबन्धन र मुक्ति नामक पुस्तक पढेपछि आफूलाई राजनीतिमा चासो बढेको उनी बताउँछिन् । उनी त्यसवेला कलिलै उमेरकी थिइन् । यति हुँदाहुँदै पनि ०४६ को आन्दोलनमा सक्रिय रूपमा सहभागी भइन् । यसरी मालेबाट राजनीतिमा चासो राखेकी देवी ०४७ सालमा मोटो मशालको संगठित सदस्य भइन् । यहीक्रममा ०५२ मा माओवादी भूमिगत भयो । तर, उनी तत्काल भूमिगत भने भइनन् । ०५३ मा अनेमसंघको दोलखा जिल्ला अध्यक्ष भइन् । त्यसवेला उनका भाइ विशाल अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष थिए । यही क्रममा ०५४ मा उनलाई प्रहरीले गिरफ्तार ग¥यो । चार महिना जेल परेपछि उनी भूमिगत भइन् । सैन्य हिरासतमा चरम यातना पाएकी खड्काका काइँला दाजु रितबहादुर खड्का माओवादीको केन्द्रीय सदस्य थिए । हिरासतमा रहेका वेला वीर अस्पतालबाट फरार भएका खड्काका दाजु रितलाई सेनाले मारेको थियो । यही क्रममा ०५५ मा माओवादीको दोलखा जिल्ला समितिमा पुगेकी खड्का दुई वर्ष माओवादी दोलखा सचिव भएर काम गरिन् । त्यसपछि जनमुक्ति सेनामा उनी प्लाटुन कमान्डर पनि बनेकी थिइन् । यही क्रममा माओवादी शान्तिप्रक्रियामा आएपछि ०६३ देखि हालसम्म अनेमसंघ केन्द्रीय उपाध्यक्ष रहेकी छिन् । उनी ०६४ को पहिलो संविधानसभा निर्वाचनमा निर्वाचित भएकी थिइन् । उनी हाल माओवादी केन्द्रको पोलिटब्युरो सदस्य र दोलखा इन्चार्जसमेत रहेकी छिन् भने यता विशाल खड्का सहइन्चार्ज रहेका छन् ।

विशाल पनि आठ वर्षकै उमेरदेखि पञ्चायतविरोधी आन्दोलनमा नबुझेरै सहभागी हुँदै आएका हुन् । दाइ रितबहादुर राजनीतिमा संलग्न भएकाले उनलाई पनि सानै उमेरदेखि राजनीतिमा चासो थियो । पहिला उनका दाइ मालेमा थिए । यसैबीचमा ०४७ मा मोटो मशालमा दाइहरू प्रवेश गरेपछि उनी पनि त्यतैतर्फ लागे । १२ वर्षको हुँदा उनी अखिल क्रान्तिकारीको संगठित सदस्य भए । यही क्रममा ०५२ सालमा माओवादी भूमिगत भएसँगै विशाल क्रान्तिकारीको जिल्ला अध्यक्ष भए । यसैक्रममा उनी ०५३ मा भूमिगत भए, तर ०५५ मा ओखलढुंगाबाट गिरफ्तारीमा परी ०६३ सम्म जेल परे । उनीहरूले ०५९ सालमा नै दाइ रितबहादुरलाई गुमाइसकेका थिए ।

माओवादी शान्तिप्रक्रियामा आएपछि उनी दोलखामा माओवादीको जिल्ला सदस्य भए । ०६४ सालको संविधानसभा निर्वाचनमा देवी उम्मेदवार थिइन् भने विशाल चुनाव परिचालन समिति संयोजक थिए । यसैक्रममा विशाल दोस्रो संविधानसभा निर्वाचन ०७० मा दोलखा क्षेत्र नम्बर १ बाट उम्मेदवार बने, तर पराजय व्यहोरे । अहिले देवी प्रतिनिधि सभा र विशाल प्रदेश सभामा सर्वसम्मत सिफारिस भइसकेका छन् । जसले गर्दा देवी र विशालको राजनीतिक सहयात्रा हेर्दा लोभलाग्दो छ ।

१९ वर्षपछि तिहारको टीका ०५४ सालमा देवी जेल परिन् । त्यो समयमा उनले तिहारको टीका लगाउन लगाउन पाइनन् । त्यसपछि दिदीभाइ नै भूमिगत भएकाले टीका लगाउन सम्भव पनि भएन । उनीहरूलाई त्यसवेलादेखि तिहार नरमाइलो लाग्न थाल्यो । गत वर्ष देवी गम्भीर रूपमा बिरामी परिन् । त्यसपछि दाजुभाइले गत वर्षको तिहारमा टीका लगाइदिनु भनेपछि आफूले टीका लगाइदिएको देवी बताउँछिन् ।

शशि र श्याम श्याम श्रेष्ठ र शशि श्रेष्ठ दाजुबहिनी हुन् । शशि माओवादी केन्द्रको नेतृ हुन भने श्याम स्वतन्त्र राजनीतिज्ञ । उनी व्यवस्थापिका–संसद्को सदस्यसमेत हुन् । उनी ०७० मा नेपाल सरकारको सिफारिसमा मनोनीत सांसद हुन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा चासो राख्ने श्यामले स्नातक तहसम्मको अध्ययन गरेका छन् । तर, भाइबहिनी पढाउनुपर्ने जिम्मेवारी आफँैमा भएकाले स्नातक तहभन्दा माथि अध्ययन गर्न नसकेको बताउँछन् । उनले भाइबहिनीलाई पढाउनकै लागि ०२९ बाट शिक्षकको रूपमा काम गर्न थाले । काभ्रेपलाञ्चोकको मंगलटार बजारमा जन्मेका श्रेष्ठले सिन्धुलीस्थित महेन्द्रोदय उमावि रामपुरबाट शिक्षण पेसाको सुरुवात गरेका थिए । यसरी पढाउने सिलसिलामा उनी नालास्थित चण्डेश्वरी माविमा सरुवा भए ।

श्रेष्ठ विद्यार्थीकालदेखि नै पुष्पलालको अभिव्यक्तिबाट प्रभावित थिए । यही क्रममा ०३३ मा उनको भेट नेकपा चौथो महाधिवेशनका नेता दिलवरदान श्रेष्ठसँग भयो । दिलवरदानले उनलाई नेकपा चौथोको सैद्धान्तिक कुराको व्याख्या सुनाए । उनको कुराप्रति श्यामलाई चित्त नबुझेपछि उनले फरक मत राखे । यसरी फरक मत राखेपछि भक्तबहादुर श्रेष्ठ, दिलबहादुर श्रेष्ठ, जयगोविन्द शाहलगायतका नेताहरू सम्झाउनका लागि आएको उनी बताउँछन् । तर, फरक मतलाई देशव्यापी रूपमा राख्न पाउने भएपछि आफू ०३५ बाट नेकपा चौथोको सांगठनिक सदस्य भएको उनी बताउँछन् । यही क्रममा ०३६ को आन्दोलनको केही समयअघि काभ्रेमा जिल्ला कमिटी गठन भयो । त्यहाँबाट उनी जिल्ला कमिटीको सचिव भएका थिए । जुन वेला उनी शिक्षक थिए । यति हुँदाहुँदै पनि उनी पार्टीको सांगठनिक विस्तारमा निरन्तर रूपमा लागिरहे । यही क्रममा ०४० मा नेकपा चौथो महाधिवेशन फुट्यो, श्रेष्ठले नेकपा चौथोको केन्द्रीय समिति, पोलिटब्युरो सदस्य र पार्टी हेडक्वार्टरको जिम्मेवारी पाए ।

०४७ मा नेकपा मसाल र नेकपा चौथोबीच एकता महाधिवेशन भयो । त्यो एकता महाधिवेशनप्रति असन्तुष्टि राख्दै उनले पार्टी परित्याग गरे । यसरी पार्टी परित्याग गरेपछि मूल्यांकन पत्रिका प्रकाशन सुरु गरे । उनी त्यसको प्रधान सम्पादक भए । यही क्रममा उनी नागरिक आन्दोलनमा पनि सहभागी हुन थाले । यही क्रममा ०७० मा स्वतन्त्रको तर्फबाट नेपाल सरकारको सिफारिसमा व्यवस्थापिका–संसद्को सदस्यको रूपमा मनोनीत भएका थिए । उनी अहिले कुनै पनि पार्टी संलग्न छैनन् ।

यता उनकी बहिनी शशि श्रेष्ठ भने माओवादी केन्द्रकी नेतृ हुन् । उनी पनि लामो समयदेखि नेपाली राजनीतिमा सक्रिय रहेकी छिन् । निम्नमध्यमवर्गीय परिवारमा जन्मेकी शशि विभिन्न राजनीतिक आन्दोलनमा सहभागी हुँदा स्नातकोत्तर अध्ययन पूरा गर्न पाइनन् । यतिसम्म शिक्षा पाउनुमा पनि दाजु श्यामको महŒवपूर्ण भूमिका रहेको उनी बताउँछिन् । शशिलाई विद्यालयजीवनदेखि नै राजनीतिमा चासो थियो । तर, नबुझेर नै त्यसवेलाको राजनीतिक आन्दोलनमा सहभागिता जनाउँदै आएको उनी बताउँछिन् । भन्छिन्, ‘मैले राजनीति खासै बुझेकी थिइनँ, तैपनि अन्याय र अत्याचारविरुद्धमा सानैदेखि लड्ने मेरो स्वभाव थियो, त्यसैले ०२८ मा नजानिँदो किसिमले मण्डले भगाउने अभियानमा संलग्न भएको थिएँ ।’ उनी त्यसवेलादेखि नै श्रमलाई सम्मान गर्नुपर्छ भन्ने पक्षमा थिइन् र उनको परिवार पनि । यसरी आन्दोलनमा लाग्दा नजानेरै उनको झुकाव वामपन्थी विचारधारातर्फ पर्न गयो । यसैक्रममा ०३४ मा एसएलसी दिने वेलामा उनी आफ्नो काइँला दाजु श्याम श्रेष्ठसँग बस्थिन् । श्याम श्रेष्ठ पनि त्यो समयमा वामपन्थी राजनीतिमा लागिसकेका थिए । दाजु पनि राजनीतिमा संलग्न भएपछि आफूलाई राजनीतिमा लाग्न अझै प्रेरणा मिलेको शशि बताउँछिन् । शशि एसएलसी दिनुअघिदेखि नै श्याम दाइ र भाउजूको माध्यमबाट त्यो समयका कम्युनिस्ट नेताहरूसँग नजिक हुन पुगेको सम्झिन्छिन् । त्यही क्रममा उनी नेपाल कम्युनिस्ट पार्टी चौथो महाधिवेशनमा संलग्न भइन् । यसपछि सुरु भयो उनको सांगठानिक राजनीतिक यात्रा । त्यो समयमा उनी वामपन्थी राजनीतिलाई बुझ्ने भइसकेकी थिइन् । यही क्रममा उनी आइए अध्ययनका लागि पद्मकन्या क्याम्पसमा भर्ना भइन् । अरू नै कलेजमा अध्ययन गर्ने इच्छा भए तापनि पार्टीका नेताहरूले पद्मकन्या नै पढ्नुपर्छ भनेपछि आफू त्यहाँ भर्ना भएको शशि बताउँछिन् । पद्मकन्यामा अध्ययन गर्दै गर्दा ०३६ मा पहिलोपटक स्ववियु निर्वाचन भयो । त्यसवेला उनी अनेरास्ववियु छैटौँको तर्फबाट सहसचिवमा उठिन्, तर हारिन् । यसरी सहसचिवमा हारे पनि उनले हिम्मत हारिनन् । त्यही वेला जनमतसंग्रह भयो । त्यसमा नियोजित ढंगले बहुदललाई हराइयो । त्यसपछि राजनीतिक सन्नाटा छाएको थियो । कुनै पनि राजनीतिक दलले त्यसको विरुद्धमा आवाज उठाउन नसकेको वेलामा पनि शशि श्रेष्ठलगायतका महिला नेतृहरू सडकमा राज्यसत्ताको विरुद्धमा उत्रेका थिए । अन्ततः ०३७ सालको दोस्रो स्ववियु निर्वाचनमा उनी प्यानलसहित सभापतिमा विजयी भइन् । त्यसवेला शशि निकै चर्चामा आइन् । यसरी स्ववियु निर्वाचनमा सभापति भएपछि शशि राजनीतिमा झनै सशक्त भएर लागिन् । यही क्रममा ०३७ मै प्रचण्ड अध्यक्ष रहेको अखिल नेपाल युवक संघको संस्थापक सचिवालय सदस्य भएकी थिइन् । ०४० सालमा नेकपा चौथो फुट्यो । त्यसपछि शशि अखिल नेपाल महिला संघको अध्यक्ष भइन् । उनी लगभग बीस वर्ष महिला संघको अध्यक्षको रूपमा रहेर काम गरिन् । यसरी राजनीतिमा अनवरत रूपमा लागिरहँदा ०६२÷०६३ को आन्दोलनमा जनमोर्चाको तर्फबाट आन्दोलनको नेतृत्व गरेकी थिइन् । यही क्रममा ०६५ मा पार्टी एकतापश्चात् एकीकृत नेकपा माओवादी बन्यो । उनी अहिले पनि माओवादी केन्द्रको सचिवालय सदस्यको रूपमा रहेकी छिन् । यसरी दाजु श्याम र शशि श्रेष्ठ राजनीतिमा सफल भएका छन् । अहिले पनि दाइबहिनी मिलेर सामाजिक कार्यमा पनि संलग्न हुँदै आएका छन् । साथै सबै दाजुभाइ जम्मा भएर पारिवारिक जमघटको रूपमा तिहारलाई मनाउँदै आएको शशि बताउँछिन् । तर, भूमिगत भएको समयमा भने केही तिहारमा टीका लगाउन नपाएको उनी बताउँछिन् ।

निकिता र निरक: जसले मिलेर फिल्म बनाए

निकिता पौडेल र निरक पौडेल सफल दिदीभाइमध्येका एक हुन् । उनीहरू दुवैजना फिल्मी क्षेत्रमा कार्यरत छन् । विराटनगरमा जन्मेका यी दिदीभाइलाई निर्माता र निर्देशकको रूपमा आमदर्शकले चिन्दै आएका छन् । निकिताले मिडिया कम्युनिकेसन र प्रोडक्सनमा स्नातकोत्तर गरेकी छिन् भने निरकले अक्सफोर्ड युनिभर्सिटीबाट फिल्म डाइरेक्सनमा डिप्लोमा गरेका छन् । उनीहरूका बाबु उद्धव पौडेल पनि चलचित्र क्षेत्रको चर्चित नाम हो । उद्धव गोपीकृष्ण मूभिका संस्थापक अध्यक्षसमेत हुन् । जसले गर्दा यी दिदीभाइको बाल्यकाल चलचित्रको वरिपरि नै बित्यो ।

सानैदेखि चलचित्र क्षेत्रमा काम गर्ने धोको भएको निकिता र निरक बताउँछन् । बाल्यकालदेखि नै उनीहरू एकदमै मिल्थे । कुनै पनि काम गर्नुपरेमा सँगसँगै मिलेर गर्थे । फोटो खिच्न र डान्स गर्न एकदमै सौखिन थिए । निरक डेढ वर्षको उमेरदेखि नै चलचित्रको पर्दामा देखापरेका थिए । तिलहरी चलचित्रमा बालकलाकारको भूमिकामा देखापरे । गोपीकृष्ण, परिवार, आमा, धर्मसंकट, धर्म, माटो बोल्छ, टुहुरोलगायतका चलचित्रमा बालकलाकारको रूपमा अभिनय गरेपछि आफूलाई चलचित्रतर्फको मोह बढ्न थालेको निरक बताउँछन् । यही क्रममा उनी कक्षा नौदेखि नै लन्डनमा फिल्मसम्बन्धी अध्ययनका लागि गएका थिए । सो अध्ययनमा निकिताको ठूलो हात रहेको उनी बताउँछन् । यसरी फिल्म डाइरेक्सनमा डिप्लोमा कोर्स गरेर आएपछि निरकले एउटा बलिउड चलचित्रमा असिस्टेन्ट डाइरेक्टरको रूपमा काम गर्ने मौका पाए । जुन समयमा निकिता आफ्नो पढाइ सकेर कान्तिपुर टेलिभिजनमा काम गर्थिन् ।

केही समयपछि निरकले कुसुमे रुमाल २ चलचित्र बनाउने सुर कसे । त्यही समयमा निकिताले पनि रेडियो फिल्मीको सुरुवात गरिन् । निकिता र निरक दुवैजना मिलेर कुसुमे रुमाल २ बनाउने निर्णय गरे । जसको निर्माता निकिता र निर्देशक निरक भएर काम गरे । फिल्मको वितरण र प्रदर्शन निरकका दाजु निकिताको भाइ निरजले गरेका थिए । चलचित्रले राम्रो सफलता हात पा¥यो । यसपछि निरकले पछिल्लो समय होमवर्क चलचित्रको निर्देशन गरेका थिए । त्यस्तै निकिताले पनि प्रीतिको फूल, मायाको बारी, ठमेल डटकम, होमवर्क, पर्वलगायतका चलचित्रको निर्माण गरिन् । निकिता भन्छिन्, ‘मलाई परिवारमा सबैभन्दा धेरै माया निरककै लाग्छ ।’ अहिले बाबु उद्धव राजनीतिमा प्रवेश गरेपछि निकिता गोपीकृष्ण मूभिको अध्यक्ष, निरज प्रबन्ध–निर्देशक, निरक कार्यकारी निर्देशकको रूपमा रहेका छन् ।

पोटिब्युरो सदस्य महेन्द्रबहादुर र बिन्दा

नुवाकोटमा जन्मिएका महेन्द्रबहादुर र बिन्दा पाण्डे दाजुबहिनी हुन् । उनीहरू हाल राजनीतिमा सक्रिय छन् । दुवै अहिले एमालेको पोलिटब्युरो सदस्यको रूपमा रहेका छन् । महेन्द्र विन्दाभन्दा १७ वर्षले जेठा छन् । मध्यमवर्गीय परिवारमा जन्मेका महेन्द्रले एमएड, बिएलसम्मको अध्ययन गरेका छन् भने बिन्दाले एमएस्सीसम्मको अध्ययन गरेकी छिन् । ०१४ सालतिरको कुरा हो । जुनवेला तिब्बतीहरू नेपाल भागेर आएका थिए । त्यो समयमा महेन्द्रले कम्युनिस्ट नेपालमा पसे अब उनीहरूले सबै आधारभूत आवश्यकता पूरा गरिदिन्छन् रे भन्ने सुने । त्यसपछि उनको ध्यान कम्युनिस्टतर्फ पर्न गयो । यही क्रममा ०२१ सालमा उनी त्रिभुवन त्रिशूली हाइस्कुलको कक्षा ८ मा अध्ययन गर्दै गर्दा स्ववियुको उपसभापति भए । साथै, ०२२ सालमा सभापति पनि भए । यसरी सभापति भएपछि आफूलाई राजनीतिमा झनै चासो बढ्दै गएको उनी बताउँछन् ।

यही क्रममा उनी ०२३ सालमा अध्ययनका लागि काठमाडौं आए । ०२५ सालमा स्वतन्त्र विद्यार्थी मण्डल गठन गरेर त्यसको अध्यक्ष पनि भए । यसरी बिस्तारै विद्यार्थी राजनीतिक आन्दोलनमा महेन्द्र सक्रियतापूर्वक लाग्न थाले । उनी नेकपाको सदस्य बने । त्यसको केही समयपछि उनको झापालीसँग सम्पर्क हुन थाल्यो । महेन्द्रले राजनीतिका साथै, ०३२ सालबाट महेन्द्ररत्न क्याम्पस ताहाचलबाट प्राध्यापक पेसाको सुरुवात गरे । त्यो समयमा राजनीतिका साथसाथै शिक्षण पेसामा भएकाले तत्कालीन सत्तापक्षको दबाब र धम्की आउने गरेको उनी बताउँछन् । यसरी शिक्षण पेसामा संलग्न भइरहँदा ०३९ सालमा उनी मालेको सांगठनिक सदस्य भए । त्यसवेलामा महेन्द्रकी बहिनी बिन्दा पनि राजनीतिमा लागिसकेकी थिइन् । दाजु राजनीतिमा भएकाले उनलाई राजनीतिमा लाग्न खासै समस्या भएन । महेन्द्र ०४३ सालमा प्राध्यापक संघको महासचिवमा उठे, तर पञ्चायतको हस्तक्षेपका कारण उनले हार व्यहोरे । यही क्रममा ०४६ सालको आन्दोलनमा महेन्द्र करिब २ महिनाजति भूमिगत भए ।

जुनवेला विन्दा पनि अनेमसंघमा आबद्ध भइन् । यसरी दाजुबहिनी नै एउटै विचारधारा बोकेको पार्टीमा भएकाले उनीहरू ०४७ सालदेखि जिल्लामा सँगै राजनीतिमा हिँड्न थाले । उनीहरू एक–अर्कालाई सहयोग गर्दै अघि बढ्दै गए । महेन्द्र आफूले कहिल्यै पनि बहिनीलाई राजनीतिमा हस्तक्षेप नगरेको बताउँछन् । महेन्द्र राजनीतिक यात्राको क्रममा ०४८ को निर्वाचनमा उम्मेदवार बने, तर हार व्यहोरे । तर, ०५६ को निर्वाचनमा भने उनी विजयी भएका थिए । पटकपटक राजनीतिक आन्दोलनका क्रममा जेलजीवन बिताएका महेन्द्र ०६२÷६३ को आन्दोलनपश्चात् पुनस्र्थापित संसद्मा एमालेको प्रमुख सचेतक बनेका थिए । साथै, बिन्दा पनि ०६४ को संविधानसभा निर्वाचनामा समानुपातिकतर्फ संविधानसभा सदस्य भइन् । यही क्रममा ०७० सालमा महेन्द्र परराष्ट्रमन्त्री भए ।

दाजुबहिनीको नाताको सम्बन्ध प्रत्यक्ष रूपमा तिहारसँग हुने भएकाले महेन्द्र र बिन्दाले निरन्तर रूपमा टीका लगाउँदै आएका छन् । तिहार एउटा संस्कृति जोगाउने, दाजुबहिनी तथा दिदीभाइको भावनात्मक सम्बन्धलाई अझै गाढा बनाउन अहिलेसम्म निरन्तर टीका लगाउँदै आएको उनीहरू बताउँछन् ।

बलिउड भोगेका दिदी–भाइ मनीषा र सिद्धार्थ कोइराला बलिउडमा लागेका नेपाली दिदी–भाइ हुन् । कोइराला परिवारमा जन्मिएका उनीहरूको पहिलो रोजाइ भने कलाकारिता प¥यो । मनीषाले नेपाली माटोबाटै कलाकारिता यात्रा सुरु गरिन् । सन् १९८९ मा उनले नेपाली फिल्म ‘फेरि भेटौँला’मा अभिनय गरेकी थिइन् । त्यसपछि उनको बलिउड नगरीमा स्थापित हुने सोच आयो । मनीषाले बलिउडको फिल्मी दुनियाँमा स्थापित हुन धेरै संघर्ष गर्नुपरेको थियो । उनी बलिउडमा सफल भएकी नेपाली मूलकी एक मात्र नायिका हुन् ।

१६ अगस्ट १९७० मा काठमाडौंमा जन्मिएकी मनीषाले भारतीय चलचित्र उद्योगमा जम्न धेरै संघर्ष गरेकी थिइन् । उनले सन् १९९१ मा हिन्दी चलचित्र ‘सौदागर’मा अभिनय गर्ने अवसर पाइन् । त्यसपछि उनले खेलेका ‘बम्बे’, ‘अकेले हम अकेले तुम’, ‘खामोसी –द म्युजिकल’, ‘दिल से’, ‘लज्जा’ आदि हिट भए । त्यसमध्ये ‘१९४२– अ लभ स्टोरी’, ‘अकेले हम अकेले तुम’, ‘खामोसी –द म्युजिकल’, ‘दिल से’ फिल्म फेयर अवार्डको मनोनयनमा परेका थिए ।

त्यस्तै, सन् १९९९ मा मनीषाले ‘दिल से’बाट फिल्म फेयर बेस्ट एक्ट्रेस अवार्ड प्राप्त गरिन् । त्यसैगरी, उनी तमिल भाषाका कैयौँ चलचित्रमा पनि देखापरेकी छिन् । जसमध्ये सन् २०१२ मा उनले ‘माप्पिल्लाई’बाट उनले बेस्ट सपोर्टिङ एक्ट्रेसको अवार्ड जितिन् । मनीषाले २२ वर्षपछि पुनः नेपाली चलचित्र ‘धर्मा’मा अभिनय गरिन् । उनी भारतनाट्यम् र मणिपुरी नृत्यमा परिपूर्ण नृत्यांगना हुन् । साथै, उनी युएनएफपिए सद्भावना राजदूत र सामाजिक कार्यकर्ताको रूपमा पनि परिचित छिन् । यता मनीषाका भाइ सिद्धार्थ भने बलिउडमा सफल हुन सकेनन् । मनीषाले भाइलाई बलिउडमा स्थापित गर्न धेरै मिहिनेत गरेकी थिइन् । सन् २००५ मा सिद्धार्थले डेब्यु अभिनय गरेको फिल्म ‘फन ः क्यान बि डेन्जरस् समटाइम्स’ सुपरफ्लप भयो । यत्तिले मात्र नभएर मनीषाले सिद्धार्थलाई फिल्म नगरीमा स्थापित हुन लगानी गर्न उक्साइन् । सिद्धार्थले पनि ‘पैसा वसुल’ भन्ने फिल्म बनाए । त्यसमा पनि सफल हुन सकेनन् । सिद्धार्थ ‘टेरोरिजम ः बायो एट्याक’ नामक कथा लेखक पनि हुन् । उनले बलिउडमा करिब ६ फिल्ममा काम गरे । तर, खासै उपलब्धि हात लागेन । त्यसपछि नेपाल आएर ‘मेघा’ नामक नेपाली फिल्ममा अभिनय गरे । नम्रता श्रेष्ठ नायिका रहेको त्यो फिल्म पनि खासै चलेन । नेपाली राजनीतिका शिखर राजनीतिज्ञ बिपी कोइरालाका नाति भएको नाताले सिद्धार्थ अहिले विकल्पको खोजी गर्दै राजनीतिमा लाग्ने कोसिस गर्दै छन् । उनी दुई वर्षअघि भएको कांग्रेसको १३औँ महाधिवेशनदेखि राजनीतिमा लागेका छन् । आफ्ना हजुरबुवा बिपी र बुवा प्रकाशले छानेको क्षेत्र सुनसरीको मधेस रोजेका छन् । त्यसो त सिद्धार्थले तरुण दलको अध्यक्ष वा महामन्त्रीमध्ये एक पदमा पनि दाबी गरेका थिए । तर, उनी त्यसमा पनि सफल हुन सकेनन् । काका महामन्त्री शशांक कोइराला गुटले उनको पक्षमा लबिङ गरेको थियो । तर, कांग्रेसमा देउवा, पौडेल, सिटौला, खड्का आदि गुटले आ–आफ्ना पक्षको दाबी गरे । अन्ततः सभापति देउवाले आफ्नै पक्षका जितजंग बस्नेतलाई अध्यक्षमा सिफासिस गरेर सर्वसम्मत बनाए । फेरि, सिद्धार्थ चिप्ल्याइए । यता दिदी मनीषा कुनै वेला आफ्ना बुवा प्रकाशलाई जिताउन सक्रिय भएकी थिइन् । त्यस्तै, उनी तत्कालीन राजा ज्ञानेन्द्रकालमा नगर निर्वाचन हुँदा त्यसको पक्षमा वकालत गर्दै हिँडेकी थिइन् । त्यसयता उनी राजनीतिमा देखिएकी छैनन् ।

जनार्दन शर्मा र नारायणी शर्मा

जनार्दन शर्मा र नारायणी शर्मा सफल दाजुबहिनीमध्येका एक हुन् । विद्यार्थीकालदेखि राजनीतिमा होमिएका जनार्दनले स्नातकोत्तर र नारायणीले स्नातकसम्म अध्ययन गरेका छन् । रुकुममा जन्मेकी नारायणी अहिले माओवादी केन्द्रको पोलिटब्युरो सदस्य छिन् भने जनार्दन गृहमन्त्री छन् । त्यो वेला रुकुमको समाजमा रहेका सामन्तवादीविरुद्धमा लड्नेक्रममै जनार्दन राजनीतिमा प्रवेश गरेका थिए । नारायणीलाई पनि परिवारका सदस्य राजनीतिमा लागेका हुनाले यसमा प्रवेश गर्न खासै चुनौती भएन । उनी भन्छिन्, ‘दाजु जनार्दन पनि राजनीतिमा भएका कारण मलाई राजनीतिमा आउन चासो भयो र दाइको पनि साथ त्यत्तिकै रह्यो ।’ यसरी विद्यार्थी राजनीतिमा सक्रिय रूपमा लागिरहँदा नारायणी २०४८ सालमा रुकुम खलंगाको अनेरास्ववियु छैटौँको क्षेत्रीय सचिव भइन् । यसरी उनी राजनीतिमा सक्रिय हुँदै जानेक्रममा अनेरास्ववियु छैटौँको जिल्ला सदस्य पनि भइन् । जुनवेला उनी १४ वर्षकी थिइन् । यहीक्रममा उनी २०५१ सालमा एकता केन्द्रको सांगठनिक सदस्य भइन् । त्यसपछि सुरु भयो नारायणीको राजनीतिक यात्रा । उनले एकता केन्द्रको सदस्यता लिने वेला जनार्दन क्षेत्रीय ब्युरोमा थिए । यहीक्रममा उनी २०५२ सालमा भूमिगत भइन् । जनार्दन पनि भूमिगत भइसकेका थिए । भूमिगतकालमा कार्यक्षेत्र फरक भएकाले दाजु–बहिनीको भेट हुन मुस्किल नै हुन्थ्यो । यहिक्रममा माओवादी शान्तिप्रक्रियामा आएपछि जनार्दन र नारायणीले पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका छन् । जनार्दन २०६४ मा शान्ति मन्त्री भएका थिए ।

नारायणी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनिन् । तर पराजित भइन् । निर्वाचनमा पराजय भए तापनि उनले पार्टीको हरेक जिम्मेवारीमा रहेर काम गर्दै आएकी छिन् । दुवैजना राजनीतिक क्षेत्रमा रहँदा विभिन्न राजनीतिक उत्तारचढाबका कारण तिहारमा भाइटीका नलगाएको तितो अनुभव नारायणीले बसुनाइन् । उनी भन्छिन्, ‘भूमिगत हुनुभन्दा पहिला निरन्तर भाइटीका लगाइन्थ्यो तर, भूमिगतको समयमा एक वर्ष पनि दाजुबहिनीले एकसाथ तिहार मनाएनौँ, तर शान्ति प्रक्रियापछि भने हामीले अनुकूल भएका वेला तिहारमा टीका लगाउँदै आएका छौँ ।

प्रहरीमा सफल दाजुबहिनी

नेपाल प्रहरीमा सिनियर अफिसर तहमा पुग्ने डिएसपी प्रजित केसी र इन्सपेक्टर दिप्ती कार्की सायद पहिलो दाजु बहिनी होलान् । दुवैजनाको प्रहरी संगठनमा व्यावसायिक प्रहरी अधिकृतका रूपमा छवि छ ।

चोभारमा जन्मिएका उनीहरूमा सानैदेखि प्रहरीप्रति मोह थियो । ‘हाम्रो बालाजुमा होटेल थियो, त्यहाँ नियमित रूपमा प्रहरी आइरहन्थे,’ प्रतिज भन्छन्,‘मलाई प्रहरीहरू एकदमै मन पथ्र्याे, उनीहरुको टोपी मागेर पनि लैजान्थें ।’

त्यही मोहले उनले प्रहरीमा फारम भरेका थिए । तर, सफल होइएला भन्ने उनलाई धेरै विश्वास थिएन । युके जाने तयारीमा थिए । भिसा पनि लागिसकेको थियो । ‘इन्सपेक्टरको नाम निस्किएछ पनि प्रजित’ एक दिन उनका साथी चक्रराज जोशीले उनलाई सुनाए । उनी नक्साल दौडिए । सा“च्चिकै प्रहरी मुख्यालयको पर्खालमा उनको नाम टा“सिएको थियो । त्यसपछि युकेको भिसा त्यागेर उनी तालिमतर्फ लागे ।

पढाइमा अब्बल दिप्तीलाई परिवारले प्र्रहरीमा भर्ना होस् भन्ने चाहेको थिएन । तर, उनमा भने जसरी पनि प्रहरी हुने रहर थियो । जसमा प्रजितले पनि पछि सहयोग गरे । हाल प्रजित अपराध महाशाखा तथा दिप्ती प्रहरी मुख्यालयमा कार्यरत छिन् । एउटै क्षेत्रमा भएकाले दाजु बहिनीको सम्बन्धमा अझ प्रगाढता थपेको उनीहरू बताउँछन् ।

डा. मञ्जु मिश्र र रवीन्द्र मिश्र

डा. मञ्जु मिश्र र रवीन्द्र मिश्र पत्रकारिता क्षेत्रमा सफल दिदीभाइ हुन् । काठमाडौंमा जन्मेकी मञ्जुले रसियाबाट पत्रकारितामा पिएचडी गरेकी छिन् भने रवीन्द्रले लन्डनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका छन् । सानोमा आफ्नो बुबाले मञ्जुलाई भोलिका दिनमा ठूलो मान्छे भएर देशका लागि केही गर्नुपर्छ भनेको सम्झन्छिन् । उनलाई सानैदेखि पत्रकारितामा चासो थियो ।

जसले गर्दा पत्रकारिताबाटै केही गर्न सकिन्छ भन्ने लाग्थ्यो । त्यसैले उनी पत्रकारिता अध्ययनका लागि २०३८ सालमा मस्को गइन् । यहीक्रममा उनले मस्को रेडियोमा काम गर्न थालिन् । यता उनका भाइ रवीन्द्रले २०४७ सालमा स्नातकोत्तर अध्ययन पूरा गरेर नेपाल टेलिभिजनमा काम गर्र्न सुरु गरेका थिए । यहीक्रममा रवीन्द्र पनि अध्ययनका लागि पाकिस्तान गए । पाकिस्तानमा अध्ययनका लागि गएपछि रवीन्द्रले इन्टरनेसनल हेराल्डमा काम गर्न थाले । यहीक्रममा रवीन्द्र लन्डन गए ।

रवीन्द्रले २०४९ सालबाट बिबिसीमा काम गर्न सुरु गरिसकेका थिए । यता मञ्जु भने आफ्नो अध्ययन सकेर २०५५ सालमा नेपाल आइन् र नेपाल समाचारपत्रमा केही समय काम गरिन् । यसरी काम गर्दै जाँदा २०५७ सालमा उनले कलेज अफ जर्नालिजम् दर्ता गराइन् । साथै, २०५८ सालबाट कलेज सञ्चालन गरे हालसम्म सोही कलेजको प्रिन्सिपल रहेकी छिन् । रवीन्द्र बिबिसीमा काम गर्नेक्रममा आजभन्दा ९ वर्षअघि काठमाडौं आए । उनीहरू दुवैजना फरक फरक देशमा भएकाले दिदीभाइको भेट मुस्किलले हुने गरेको मञ्जु बताउँछिन् । यो अवधिमा आफूले रवीन्द्रलाई तिहारमा टीका लगाउन नपाएको उनी सुनाउँछिन् । उनी भन्छिन्,‘रवीन्द्र भाइ ९ वर्षअघि काठमाडौं आएपछि मात्र तिहारमा निरन्तर टिका लगाएका छौँ ।’ रवीन्द्र अहिले पत्रकारिता छाडेर राजनीतिमा सक्रिय छन् ।

टेबलटेनिसमा तीन दिदी–भाइ

गीता, चन्द्र र सूर्य थापामगर नेपाली खेलकुदमा लागेका एकै परिवारका दिदी–भाइ हुन् । उनीहरूमध्ये दिदी गीता र सानो भाइ सूर्य टेबलटेनिसका अन्तर्राष्ट्रिय खेलाडी हुन् भने ठूलो भाइ चन्द्र भने राष्ट्रिय स्तरका । धरानमा कभर्ड हल पछाडि घर भएकाले उनीहरूले सानैदेखि टेबलटेनिसबारे जान्ने मौका पाए । गीता भन्छिन्, ‘घरनजिकै टेबलटेनिसको कभर्ड हल थियो । त्यहाँ हुने राष्ट्रिय प्रतियोगिता हेर्दा–हेर्दै त्यसैमा इन्ट्रेस भयो ।’

गीताले नेपालका लागि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएकी छिन् । सातौँदेखि ११औँ सागसम्म खेलेकी उनले आठौँ, नवौँ र १०औँमा दुई–दुई गरी ६ वटा कांस्य पदक जितेकी छिन् । गीताले भाइ चन्द्रसँग मिलेर टेबलटेनिसको छुट्टाछुट्टै राष्ट्रिय प्रतियोगिता पदकसमेत हात पारेकी छिन् । अहिले गीता ४० वर्षकी भइन् भने ठूलो भाइ चन्द्र ३८ तथा सानो भाइ चन्द्र ३६ वर्षका भए । हाल उनीहरू टेबलटेनिसका गुरु बनेका छन् । गीता र चन्द्र धरानकै स्थानीय बोर्डिङ स्कुलमा प्रशिक्षण दिन्छन् भने सूर्य विराटनगरमा ।

गीता, चन्द्र र सूर्यलाई पहिलो खेलमा लाग्दा उनीहरूका बुवाले खासै सपोर्ट गरेनन् । गीताले भनिन्, ‘खेलेर काम छैन भनेर पहिले मन पराउनुभएन । तर, प्रोफेसनल खेलाडी भएपछि भने मन पराउनुभयो । विशेषतः मेडल नै जितेपछि त झनै ।’ अब त उनीहरूका बुवा बितेको पनि आठ–नौ वर्ष भइसक्यो ।

स्क्वासका दिदी–भाइ

नेपाली स्क्वासका क्षेत्रमा हीराबहादुर थापा एक लिनैपर्ने नाम हो । उनले खेलाडी जीवनबाट सन्न्यास लिए पनि आफ्नो नासो भने छाडेर गएका छन् । उनका छोराछोरीले हीराबहादुरको पदचिह्न पछ्याएका छन् । उनकी छोरी कृष्णा (२४) र छोरा (२१) दुवै स्क्वासका राष्ट्रिय खेलाडी हुन् । उनीहरूबारे हीराबहादुर भन्छन्, ‘आफू खेलाडी थिएँ । उनीहरूलाई पनि एक्सरसाइजका लागि स्क्वास सिकाउन थालेँ, खेलाडी पो बने ।

दिदी कृष्णाले गतवर्ष भारतमा भएको साग खेलकुदमा स्क्वासमा नेपाललाई कांस्य पदक जिताएकी छिन् । भाइ अमृत सन् २०११ देखि स्क्वासका राष्ट्रिय च्याम्पियन छन् । उनले गतवर्ष पूर्वाञ्चलमा भएको सातौँ राष्ट्रिय खेलकुदको स्पर्धामा आफ्नै बुवा हीराबहादुरलाई हराउँदै राष्ट्रिय च्याम्पियन बनेका थिए । साथै, अमृतले गतवर्षको सागमा पनि भाग लिएका थिए । यी दुवै दिदी–भाइ खेलकुदसँगै पढाइमा पनि लागिरहेका छन् । दुवै बिए अध्ययनरत छन् । तिहारको टीका सातदोबाटोस्थित निवासमा लगाउने बताउँछन् ।

पौडीबाज दिदी–भाइ

करिश्मा र किरण कार्की (दिदी–भाइ) पौडीका राष्ट्रिय खेलाडी हुन् । उनीहरूका बुवा ईश्वर कार्की पनि पौडीका पूर्व राष्ट्रिय खेलाडी हुन् । वर्तमान प्रशिक्षक रहेका ईश्वर नै पौडीमा उनीहरूका पहिलो गुरु हुन् । बुवाको पदचाप पछ्याउँदै करिब सात–आठ वर्षको उमेरमा उनीहरू पौडीमा लागेका थिए । २५ वर्षीय करिश्माले सन् २००८ मा भएको बेइजिङ ओलम्पिक खेलेकी थिइन् । अस्ट्रेलियामा भएको विश्व च्याम्पियनसिपमा नेपालका तर्फबाट टप हुँदै उनी ओलम्पिकसम्म पुग्ने पौडीबाज बनिन् । नेपालका तर्फबाट अन्य विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएकी छिन् उनले । साथै गतवर्ष पूर्वाञ्चलमा भएको सातौँ राष्ट्रिय खेलकुदमा पौडीका विभिन्न १२ क्याटगोरीमा भाग लिँदै बाह्रैवटा स्वर्ण पदक जितेकी थिइन् ।

दिदी करिश्माभन्दा किरण आठ वर्ष कान्छा छन् । उनी दिदीकै पदचाप पछ्याउँदै खेलमा लागेको बताउँदै भन्छन्, ‘मैले पौडी सुरु गर्दा दिदी राम्रै खेलाडी भइसक्नुभएको थियो । मलाई उहाँको धेरै सहयोग रह्यो ।’ किरणले पनि सानै उमेरमा दुई अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । गत वर्ष भारतमा भएको साग खेलकुदमा १६ मिटर फ्री–स्टाइलको फाइनलमा उनी सातौँ भएका थिए । किरणले एक वर्षअघि ५० मिटरको बेस्ट स्ट्रोकमा राष्ट्रिय रेकर्ड राखेका थिए ।

हाल दिदी करिश्मा विदेश गएकी छिन् । तसर्थ, तिहारमा उनीहरूले सँगै टीका लगाउन नपाउने भएका छन् । तर, किरण खाली भने बस्दैनन् । भन्छन्, ‘ठूलो दिदीसँग टीका लगाउँछु ।’

ब्याडमिन्टनका भरपर्दा राष्ट्रिय खेलाडी सरादेवी, नङ्सल र रत्नजित ०५४ अघिको कुरा हो । भोजपुरको डाँडागाउँका शिक्षक दानबहादुर तामाङ फुटबल, टेबलटेनिस खेल्थे । उनी टेबलटेनिसका क्षेत्रीयस्तरका खेलाडीसमेत थिए ।

एक दिन त्यहाँ खाद्य संस्थानका हाकिम आए । ती ब्याडमिन्टनका सौखिन रहेछन् । उनले त्यहाँ कोर्ट बनाए । अनि ब्याडमिन्टन खेल्न थाले । यसअघि अन्य खेल खेल्ने गरेका दानबहादुर पनि ब्याडमिन्टनमा सहभागी हुन थाले । उनी सहभागी भएपछि त्यो ठाउँ ब्याडमिन्टनमय बन्न थाल्यो । दानबहादुरसँगै उनकी जेठी छोरी सरादेवीले पनि ब्याडमिन्टनको ब्याट समाउन थालिन् । सो क्रम रोकिएन, अझ बढ्यो । क्रमशः हुर्कंदै गएकी उनकी बहिनी नङ्सल र भाइ रत्नजित पनि बुवा र दिदीको पदचाप पछ्याउँदै त्यतैतिर लागे । दानबहादुरले पनि आफ्ना छोराछोरीलाई खेलाडी बनाउन प्रसस्त हौसला र सहयोग गर्दै गए ।

अहिले भोजपुरको यही तामाङ परिवारले नेपाली ब्याडमिन्टनमा वर्चश्व कायम गर्दै आएको छ । सरादेवी, नङ्सल र रत्नजित तीनैजना अहिले ब्याडमिन्टनका भरपर्दा राष्ट्रिय खेलाडी छन् ।

उनीहरूले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाललाई पदक दिलाएका छन् । महिला÷पुरुष सिंगल र डबल्स तथा मिक्स्ड डबल्समा यी दिदी–बहिनी–भाइको एकछत्र राज नै चलिरहेको छ । महिला सिंगल्समा सरादेवीका दिन खराब हुँदा बहिनी नङ्सलले बाजी मार्छिन् । त्यस्तै, नङ्सलले जित्न नसक्दा उपाधि दिदी सरादेवीकै पोल्टामा जाने गरेको छ । महिला सिंगल्समा हालसम्म दिदी सरादेवीले २० तथा बहिनी नङ्सलले १० पटक उपाधि आ–आफ्नो पोल्टामा पारिसकेका छन् । राष्ट्रिय प्रतियोगिताका उपाधि अन्यतिर नगएको धेरै भयो । यता पुरुष सिंगल्समा रत्नजितलाई हराउन सक्ने विगत ६ वर्षदेखि कोही पनि निस्किएको छैन । यी तीनैजना नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा आबद्ध भएर ब्याडमिन्टन खेल्छन् ।

‘क्याप्टेन साब’ सरादेवी बुवाको लहलहैमा लागेर ११ वर्षको उमेरमा सरादेवीले ब्याडमिन्टन खेल्न सुरु गरेकी हुन् । एक–दुई वर्ष उनको सामान्य रूपले ब्याडमिन्टनलाई निरन्तरता दिनमै बित्यो । ०५६ सालतिर नेपालगनजमा भएको जुनियर (यू–१६) ब्याडमिन्टन च्याम्पियनसिपमा उनले पहिलोपटक भाग लिइन् । त्यसपछि उनले पोखरामा भएको नेसनल गेममा खेल्ने अवसर पाइन् । उनको ब्याडमिन्टनतिर मोह जाग्दै गयो । त्यहीवेला उनले भोजपुरबाटै आइए सकाएकी थिइन् । अनि, बिए पढ्न काठमाडौं आउने निधो गरिन् । सरादेवी भन्छिन् ‘आइए सकिएपछि बिए पढ्नु त छँदै थियो, त्योसँगै खेलकुद पनि अर्को ध्याउन्न थियो ।’ उनी ०५९ मा काठमाडौं आइन् जुनियर (यू–१९) ब्याडमिन्टन खेल्न थालिन् । त्यसपछि उनी पाकिस्तानमा हुन लागेको साग गेममा छनोट भएकी थिइन् । तर, दुर्भाग्यवश आतंकवादी आक्रमण भएका कारण साग स्थगित भयो । त्यसको केही समयपछि उनले राष्ट्रिय टिममा खेल्ने मौका पाइन् । भारतको लखनाउमा भएको एसियन ब्याडमिन्टन च्याम्पियनसिपमा पहिलोपटक सहभागिता जनाइन् । यसैबीचमा सरादेवी स्थापित ब्याडमिन्टन खेलाडी हुँदै गइन् । उनले ०६०–६१ तिर हिमालयन ओपन ब्याडमिन्टनको महिला सिंगल्स उपाधि जितिन् । उनी नेपाल प्रहरीको नेपाल पुलिस क्लबमा आबद्ध भएर उक्त उपाधि जितेकी हुन् । त्यसपछि उनलाई सशस्त्र प्रहरीको एपिएफ क्लबले पनि आबद्ध हुन बोलायो, तर गइनन् । नजानुको कारण बताउँदै उनी भन्छिन्, ‘म पुलिसमा भन्दा आर्मीमा जान चाहन्थेँ । खेलाडीका लागि फिजिकल ट्रेनिङका हिसाबले आर्मी ठीक हो भन्ने मेरो बुझाइ थियो ।’ नेपालको खेलकुदमा खासै भविष्य नहुने हुनाले विभागीय टिममा पर्मानेन्ट रूपमा जान पाए भविष्य सुरक्षित हुने उनको बुझाइ थियो । एक दिनको कुरा हो– सरादेवीका साथीहरू पुलिसमा जागिर खुलेकाले त्यतातिर ट्राई गरिरहेका थिए । उनीहरूले ‘आर्मीमा खुलेको छ भिड्ने होइन’ भने । मैले महिला क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)मा आवेदन दिएँ । फ्री कम्पिडिसनमार्फत ०६४ वैशाखमा त्यसका लागि छानिएँ ।’ सेनामा भर्ना भएको दुई वर्षमा फुललप्टन भएकी सरादेवी ०६९ सालदेखि क्याप्टेन भएकी छिन् । २१ वर्षको उमेरमा सेकेन्ड लेफ्टिनेन्टका रूपमा सेनामा छिरेकी सरादेवी ३१ वर्षकै उमेरमा क्याप्टेन भएकी छिन् । आर्मीमा गएपछि ब्याडमिन्टन खेल्न पाइँदैन भनेर उनलाई केही साथीहरूले त्यसमा आबद्ध नहुन सुझाएका थिए । तर, उनी आएपछि झन् ब्याडमिन्टन विस्तार भएको उनको भनाइ छ । भन्छिन्, ‘आर्मीमा गएपछि ब्याडमिन्टन खेल्न दिँदैन, नजा भनेर केही साथीहरूले भनेका थिए । तर, त्यस्तो भएन । म आएपछि झनै ब्याडमिन्टन विस्तार भयो ।’ अहिले उनले खेल्नबाहेक अन्य कुनै पनि ड्युटी गर्नुपरेको छैन । भन्छिन्, ‘बिहान–बेलुका ब्याडमिन्टनकै ट्रेनिङ ग¥यो यत्ति नै काम छ ।’

बिएदेखि काठमाडौंमा पढेकी सरादेवीले समाजशास्त्रमा मास्टर्स गरेकी छिन् । उनका बुवा दानबहादुर गाउँमै पढाउँथे । उनले आफ्ना छोराछोरीलाई पनि पढ्न र खेल्न दुवैमा सधँै हौसला दिए । काठमाडौं आएर सरादेवी ठूलीआमाकोमा बसिन् । तसर्थ, खासै अरू खेलाडीजस्तो उनले संघर्षका दौरान ठूला आर्थिक संकट झेल्नुपरेन । भन्छिन्, ‘मेरो बुवा आफैँ जागिरे भएकाले मलाई सुरुका दिन पनि खासै गाह्रो भएन । पकेट मनी पाइन्थ्यो ।’ अहिले उनीहरूका बुवा रिटायर्ड भइसकेका छन् । काठमाडौंमा घर किनेर परिवारै यतै बसेको छ । यसले गेममा थप ऊर्जा मिलिरहेको सरादेवीको तर्क छ ।

नेपालका लागि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी सरादेवीको हातमा चारवटा कांस्य पदक छन् । उनले ९औँ, १०औँ, ११औँ र १२औँ सागमा टिम इभेन्ट्समा कांस्य जितेकी हुन् । त्यस्तै, उनी नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा पनि तेस्रो भएकी थिइन् । ०६० सालदेखि महिला सिंगल्स राष्ट्रिय च्याम्पियन हुन थालेकी उनले ०६४ देखि ०७३ सम्म लगातार च्याम्पियन भएको रेकर्ड राखेकी छिन् ।

‘नागरिक’ नङ्सल दिदी सरादेवीको पदचाप पछ्याउँदै ०५८ सालदेखि ब्याडमिन्टनमा लागेकी हुन् नङ्सल । उनले आफ्नो करिअर पाँचौँ राष्ट्रिय खेलकुदअन्तर्गत विराटनगरमा भएको क्षेत्रीय सेलेक्सनबाट सुरु गरेकी हुन् । त्यसपछि उनी पोखरामा भएको जुनियर (यू–१६) ब्याडमिन्टन प्रतियोगिता खेल्न गइन् । त्यहाँबाट उनले जुनियर (यू–१६) राष्ट्रिय टिममा खेल्ने अवसर पाइन् । अनि, प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सकिन् । ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा थर्ड भएकाले यसले मलाई ठूलै प्रेरणा मिल्यो,’ उनी भन्छिन् । ०६५ मा भएको पाँचौँ राष्ट्रिय खेलकुदमा उनी छनोट भइन् । अनि महिला डबल्समा तेस्रो हुन सफल भइन् । त्यसपछि करिब दुई वर्ष उनले राष्ट्रियस्तरका खेलहरूमा मात्र भाग लिइन् । सन् २०१० मा ढाकामा भएको ११औँ सागमा टिम इभेन्ट्समा नङ्सलले कांस्य पदक हात लगाइन् । ०६७ मा पहिलोपटक महिला सिंगल्समा राष्ट्रिय च्याम्पियन भएकी हुन् उनी । त्यस्तै, गत वर्ष भारतमा भएको १२औँ सागमा पनि उनले टिम इभेन्ट्समा कास्य पदक नै प्राप्त गरिन् । नङ्सल र उनका भाइ रत्नजित मिलेर गत वर्ष पाकिस्तानमा महŒवपूर्ण उपाधि हात पारे । ९–१० देशका खेलाडी सहभागी भएको उक्त प्रतियोगितामा उनीहरू मिक्स डबल्स च्याम्पियन भए । त्यस्तै, नङ्सल महिला सिंगल्समा तेस्रोसमेत भइन् । हालसम्म उनले महिला सिंगल्सका १० वटा राष्ट्रिय उपाधि जितिसकेकी छिन् ।

२८ वर्षीया नङ्सल ०६९ सालदेखि त्रिभुवन आर्मी क्लबमा करारको रूपमा कार्यरत रहेर ब्याडमिन्टन खेलिरहेकी छिन् । सिटिजन्स् बैंकमा जुनियर एसिस्टेन्टका रूपमा कार्यरत उनी सेनामा स्थायी जागिर खान मन नलागेको बताउँछिन् । कमर्र्समा मास्टर्स गरेकी उनी भन्छिन्, ‘मलाई पब्लिक भएरै बस्न मन लाग्यो । म फ्रिडम चाहनेमा परेँ । सेनामा बढी अनुशासन हुन्छ । तसर्थ, त्यता नगएकी हुँ ।’ उनले सिटिजन्स् बैंकमा जागिरे जीवन बिताएको पनि एक वर्ष भइसक्यो । उनले खेलाडी भएकै कारण जागिर पाएकी हुन् । अरूलाई भन्दा उनलाई थोरै सजिलो पनि छ । भन्छिन्, ‘अरूका लागि बिहान ९ः३० देखि बेलुका ५ः३० सम्म अफिस हो । खेलाडी भएको नाताले मलाई केही छुट छ । बिहान सधैँ ट्रेनिङ हुने हुँदा ११ बजेतिर मात्र अफिस जाने गरेकी छु ।’

‘च्याम्पियन’ रत्नजित सरादेवी र नङ्सलका एक मात्र भाइ हुन् रत्नजित । २४ वर्षीय रत्नजित आफ्ना दिदीहरूको पदचिह्न पछ्याउँदै ब्याडमिन्टनमा लागेका हुन् । ०६० सालमा राष्ट्रियस्तरको प्रतियोगिता हिमालयन ओपनमा काठमाडौं आएर पहिलोपटक भाग लिएका थिए । सो प्रतियोगितामा उनी फस्र्ट राउन्डबाटै आउट भए । केही समयपछि भएको अर्को राष्ट्रिय प्रतियोगितामा भने उनी सेकेन्ड राउन्डसम्म पुग्न सफल भए । उनले ०६५ मा कोरियामा भएको ब्याडमिन्टनको एसियन च्याम्पियनसिपमा पहिलोपटक राष्ट्रिय खेलाडी भएर खेल्ने अवसर पाए । तर, पहिलो चरणबाटै आउट भए । रत्नजितले बंग्लादेशको ढाकामा सन् २०१० मा भएको सागमा टिम इभेन्ट्समा कांस्य जितेका थिए । त्यस्तै, उनी मलेसियामा भएको जुनियर (यू–१९) च्याम्पियनसिपमा तेस्रो हुन सफल भए । उनले गत वर्ष पाकिस्तानमा दिदी नङ्सलसँग मिलेर मिक्स डबल्स पनि जितेका छन् । राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत उनले पुरुष सिंगल्सको उपाधि विगत ६ वर्षदेखि अरूलाई जित्न दिएका छैनन् । उनी २२ पटक नेसनल च्याम्पियन भइसकेका छन् भने डबल्सतर्फ अझ धेरै उपाधि जितेका छन् ।

नेपाली सेनाको जमक (जमदार कर्मचारी) रहेका रत्नजित ०६९ सालमा अमक (अमल्दार कर्मचारी)बाट सेवामा प्रवेश गरेका थिए । आइए अध्ययनरत उनलाई पढाइमा अलि पछि परियो कि जस्तो लागेको छ । भन्छन्, ‘म दिदीहरूभन्दा पढाइमा अलि पछि परेको छु । तैपनि पढाइ छाडेको छैन । खेल्दै जाने हो, पढ्दै पनि जाने हो कसो ठूलो पोस्टमा नपुगिएला र !’

तिहार यतै मनाउने सरादेवी, नङ्सल र रत्नजित तीनैजना दसैँ मनाउन पुख्र्यौली घर भोजपुर गए । तर, तिहार भने यतै मनाउँदै छन् । सरादेवी र नङ्सलले रत्नजितलाई सधैँझैँ यो वर्ष पनि टीका लगाइदिँदै छन् । उनीहरूको देउसी खेल्ने प्लान भने खासै छैन । सरादेवी भन्छिन्, ‘चाडपर्वमध्ये मलाई मनपर्ने नै तिहार हो । पहिले–पहिले गाउँमा हुँदा देउसी खुबै खेलिन्थ्यो । यहाँ त खेलिँदैन । टीका मात्रै लगाइन्छ ।’ नङ्सलले थपिन्, ‘भाइको दीर्घायुको कामना गरिन्छ । भाइलाई गिफ्ट के दिइन्छ भन्न सक्तिनँ । टोपी त पक्कै दिइन्छ ।’ दिदीहरूका कुराले झस्किएका रत्नजितले थपे, ‘मैले त गिफ्ट दिने सोचेको छैन । पैसा मात्र दिए हुन्न र !’

तीनैजना साथीजस्ता सरादेवी, नङ्सल र रत्नजितको उमेरमा करिब तीन–तीन वर्षको मात्र ग्याप छ । उनीहरू सँगै टे«निङ गर्छन् । साथी–साथीजस्ता छन् । घरमा पनि गेमकै बारेमा कुरा हुन्छ । एक–अर्कालाई सल्लाह दिन्छन् । सानो हुँदा झगडा गरेर कुटाकुटसम्म गर्ने उनीहरू आजभोलि भने भनाभनमा मात्र सीमित छन् । रत्नजितले मजाक गर्दै भने, ‘सानोमा त हामीबीच कुटाकुट नै हुन्थ्यो । आजभोलि पनि भनाभनचाहिँ हुन्छ । तर, हातचाहिँ हालिहालिँदैन ।’ नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया