काठमाडौँ । असारमा एक महिलालाई डेभिड हरिसनको नाममा फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो।

विदेशी नागरिकको फ्रेन्ड रिक्वेस्ट उनले स्वीकारिन्। तिनै व्यक्तिसँग साथी बन्दा ती महिलाको ८० लाख रुपैयाँ गुमेको छ।

ती व्यक्तिले आफू धनाढ्य व्यक्ति भएको भन्दै प्रभावमा पार्दै गए। नियमित च्याट हुन थाल्यो। उनले लाखौँको गहना र डलर पठाइदिने आश्वासन दिए। उनी पनि लोभिइन्। डेभिडले आफूले किनेको उपहारको फोटो खिचेर म्यासेन्जरमा पठाए।

त्यसको केही दिनमा भारतबाट उनलाई फोन आयो। करोड रुपैयाँभन्दा धेरैको गहना र डलर आएको तथा त्यसलाई पास गर्न राजस्व लाग्ने भन्दै पैसा माग्न थालियो। नेपाली नागरिककै नाममा पैसा आइएमई गर्न लगाइयो। पैसा नपुगेको भन्दै पटक–पटक पैसा थप्न लगाइयो।

त्यसरी उनले ८० लाख रुपैयाँ बुझाइन्, तर त्यो महँगो उपहार आएन। फेसबुकका साथी डेभिडसँग कुरा गरिन्। उनले आफूले पठाएको, तर भारतमा के भएको थाहा नभएको बताए। त्यसपछि मात्र उनले आफू ठगिएको चाल पाइन् अनि प्रहरीमा गइन्।

त्यसरी ठगी गर्ने तीन युवकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले आइतबार पक्राउ गरेको छ। सिआइबीले मोरङका प्रदीप सुब्बा, बूढानीलकण्ठका सन्तोष बस्नेत र पवन न्यौपानेलाई पक्राउ गरेको हो।

उनीहरूले विदेशी युवकको नाममा फेसबुक अकाउन्ट खोल्ने, नेपाली महिलालाई साथी बनाई उपहार पठाएको भन्दै राजस्वबापत भन्दै पैसा मागेर ठगी गर्दै आएको प्रहरीले जनाएको छ।

सिआइबीका एसपी जीवनकुमार श्रेष्ठका अनुसार सो समूहले हालसम्म दुई महिलालाई ठगी गरेको खुलेको छ। उनीहरूले एक महिलासँग ८० तथा अर्कोसँग २५ लाख रुपैयाँ ठगी गरेका थिए।

दुई करोडको सामान आएको र त्यसका लागि मनी ट्रान्सफरमार्फत पैसा पठाइदिन लगाएर ठगी गरेका हुन्। तर, ठगी गर्ने गिरोहकै सदस्यले भारतबाट उनीहरूलाई फोन गर्थे।

उक्त पैसा उनीहरूले पवन न्यौपाने र सन्तोष बस्नेतले विभिन्न नाममा नक्कली नागरिकता बनाएर बुझ्ने गर्थे। पवन आइएमईमा काम गर्ने व्यक्ति हुन्। उनीहरूले सुब्बाको आग्रहमा आफूहरूले आइएमईमार्फत पैसा बुझेको बताएपछि सुब्बा पक्राउ परेका हुन्।

गिरोहका केही सदस्य भारतमा रहेको प्रहरीले जनाएको छ। फेसबुकमा चिनेको व्यक्तिको महँगो उपहारको लोभमा दर्जनौँ नेपाली महिला ठगिएका छन्। त्यस्तो गिरोहले महिलालाई लक्षित गरी ठगी गर्दै आएका छन्। पक्राउ परेकालाई ठगीमुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया