नेपालगन्ज ३० असोज । खाद्य सुरक्षामा जोड दिंदै बाँकेमा विश्व खाद्य दिवस मनाईएको छ । बाँके जिल्ला खाद्य सुरक्षाका हिसाबले असुरक्षित रहेको सम्वद्धहरुले वताएका छन् । बाढीपहिरो, खडेरी र उपयुक्त कृषि नीतिको अभावमा बाँके खाद्य असुरक्षित रहेको उनीहरुको निचोड छ ।

जिल्ला कृषि विकास कार्यालय बाँकेका प्रमुख कृष्णबहादुर बस्नेतले जिल्ला खाद्य उपलब्धताको हिसाबले सुरक्षित भएपनि अन्य सुचकका आधारमा सुरक्षीत बन्न नसकेको बताए । खाद्य अधिकार सञ्जाल लगायतका दर्जन बढी संघसंस्थाको आयोजनामा भएको कार्यक्रममा बोल्दै कृषक एवं कृषि क्षेत्रसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरुले सरकारले दिने सहुलियत अपर्याप्त र झन्झटिलो भएकाले कृषि उत्पादन पनि प्रयाप्त हुन नसकेको बताएका थिए ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मन्च बाँकेका संयोजक बसन्त गौतमले प्रस्तुत गरेको कार्यपत्रमाथि छलफल भएको थियो भने खाद्य अधिकारका बिषयमा कलम चलाएको भन्दै पत्रकार हेमन्त विकलाई खादा र कदरपत्रले सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया