नेपालगन्ज ३० असोज । भन्सार छलि नेपाल भित्र्याईदै गरेको मासु अवैध भएको पुष्टिपछि नेपालगन्ज भन्सार कार्यालयले दिलिप सोनकरलाई ४० लाख जरिवाना तिराएको छ । नेपालगन्जमा बंगुरको मासु पसल सन्चालन गर्दै आएका सोनकरले भारतीय नम्वरको ट्रकमा मकै र मटरको विल बनाएर १५ टन मासु भित्र्याउने क्रममा हिजो भन्सारले जफत गरेको थियो ।

उक्त मासु अवैध भएको पुष्टिपछि सन्चालक सोनकरलाई ४० लाख ९ हजार ११ रुपैयाँ जरिवाना गरिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्धन आचार्यले जानकारी दिनुभयो । पशु क्वारेनटाईन नेपालगन्ज र क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले मासुको नमुना परिक्षण गर्दा उक्त मासु कुखुरा, माछा र बंगुरको भएको पुष्टि भएको छ ।

एकातिर प्रतिबन्धित कुखुराको मासु भित्र्याउन लागेको र अर्काेतर्फ भन्सार छलि गरि ल्याइएको पाइएपछि आयातकर्तालाई भन्सार ऐन अनुसार कारबाही गरिएको भन्सार प्रमुख आचार्यले बताउनुभयो । जफत गरिएको मासु भोली नष्ट गरिनेछ । सन्चालक सोनकरले भारतबाट मासु आयात गरी काठमान्डौं सप्लाई गर्ने गरेको थाहा भएको छ ।

तपाईको प्रतिक्रिया