काठमाडौं। चितवनको रत्ननगरमा अबैध रुपमा संचालित एक बालगृह बन्द गराइएको छ। चितवनको रत्ननगरस्थित वडा नम्बर १३ मा ठाकुर पनेरुद्वारा अबैध रुपमा संचालित बाल गृह आइतबार राति बन्द गराइएको हो।

न्यूनतम मापदण्ड समेत पूरा नगरेकाले सो बालगृह बन्द गराउनु परेको चितवनका बाल संरक्षण अधिकृत महेशराज पौडेलले जानकारी दिए। दर्ता समेत नगरिएको सो बालगृहबाट ६ जना बालबालिकाको उद्धार समेत गरिएको छ।

खाना र बस्नको समेत उचित व्यवस्थापन नभएको सो बालगृह बन्द गर्न बाल संरक्षण अधिकृतको कार्यालय चितवनले पटक पटक सचेत गराउँदै आएको थियो। तर संचालक पनेरुले अटेर गरेपछि बालगृह बन्द गराउँदै आइतबार राति प्रहरी, पत्रकार एवम् स्थानीयको रोहबरमा ५ बालक र १ बालिकाको उद्धार गरिएको हो।

उद्दार गरिएका बालबालिकाको संरक्षण गर्ने जिम्मेवारी भने जिल्ला बाल कल्याण समिति, चितवनलाई दिइएको छ। उद्दार गरिएका सबै बालबालिकाको उचित संरक्षणका लागि बालबालिका संरक्षणको उचित व्यवस्थापन गर्दै आएको हिमाली नविन समाज, काठमाडौंमा दिने तयारी भइरहेको जिल्ला बाल कल्याण समिति, चितवनकी स्रोत व्यक्ति मिठु आचार्यले जानकारी दिइन्।

उनले हिमाली नविन समाजले ती बालबालिकाहरुको अभिभावकसँग भेट गरी उनीहरुको संरक्षणको जिम्मेवारी लिने बताइन्। बालगृहमा १८ जना बालबालिका रहेपनि अरु बालबालिका भने दशैतिहारको लागि घर र आफन्तकोमा गएको बताइएको छ। यता, बालगृहका संचालक पनेरु भने फरार रहेका छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

तपाईको प्रतिक्रिया