रोल्पा – रोल्पा सदरमुकाम लिवाङबाट भारतको नयाँ दिल्लीका लागि सिधा बस सेवा सुरु भएको छ । यातायात प्रदायक संस्था रोल्पा यातायात प्रालिले सो सेवा सुरु गरेको हो । सेवा सुरु भएसँगै भारत जाने रोल्पालीलाई निकै सुविधा हुने भएको छ । हरेक हप्ताको बुधबार रोल्पा लिवाङ, प्यूठान, भालुवाङ, नेपालगञ्ज हँुदै भारतको नयाँ दिल्लीका लागि बस सेवा सुरु गरिएको छ ।

यसैगरी हरेक हप्ताको शुक्रबार दिल्लीबाट रोल्पा लिवाङका लागि बस छुट्ने व्यवस्था गरेको रोल्पा यातायात प्रालिले जानकारी दिएको छ । डिलक्स सेवाको आरामदायी बस रहेकाले यात्रा सुरक्षित र भरपर्दो हुने प्रालिले बताएको छ ।

यसअघि सो प्रालिले काठमाडौं, नेपालगञ्ज र दाङजस्ता शहरमा दिवा र रात्रि बस सेवा सुरु गरेको थियो । प्रालिले जिल्लामै पहिलोपटक अनलाइन टिकट प्रणालीको समेत शुरुवात गरेको बताएको छ । यात्रुले ई सेवा प्रयोगकर्ता तथा नजिकको ई सेवा जोन प्वाइन्ट, अनलाइन पेमेन्ट, बस सेवा, आइएमइ एजेन्ट तथा विभिन्न स्थानमा रहेका इपेका किओस्क टर्मिनलबाट अनलाइन टिकट लिन सकिने बताइएको छ । जिल्लामा जलजला यातायात व्यवसायी समिति, जलजला यातायात प्रालि र रोल्पा यातायात प्रालिले जिल्लाका भित्री सडकका साथै प्यूठान, दाङ, नेपालगञ्ज, बुटवल र काठमाडौंसम्म सेवा पु¥याउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया