खगेन्द्र दाहाल, नेपालगन्ज २९ असोज । नेपाल भित्र्याईदै गरेको ठूलो परिमाणको मासु नेपालगन्ज भन्सार कार्यालयले सीमाबाट नियन्त्रणमा लिएको छ । भारतको दिल्लीबाट भित्र्याईदै गरेको १५ टन मासुसहित एन ५२४० नम्वरको ट्रक पनि भन्सारले नियन्त्रणमा लिएको छ । चालकले मकै, मटर र आलुको फिंगर चिप्सको कागजपत्र देखाएपछि संका लागेर भन्सार कार्यालयका कर्मचारीहरुले ट्रक चेकजाँच गर्दा कन्टेनरमा राखिएको करोडबढिको हाडरहित मासु फेला पारेको हो । कन्टेनरलाई मकै र मटरले छोपिएको भेटिएको थियो । उक्त कागजपत्र नेपालगन्जको डिके कोल्डरुम एण्ड मिट सप्लायर्सको नाममा छ । उक्त सप्लार्यस धम्बोझीमा दिलिप सोनीको नाममा सन्चालनमा छ ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्धन आचार्यले नियन्त्रणमा लिएको मासुको नमूना परीक्षणका लागि पशु क्वारेन्टाइन नेपालगन्जमा पठाइएको जानकारी दिए । क्वारेन्टाईनमा मासु चेकजाँच गर्ने प्रविधी नहुँदा उक्त मासुलाई काठमाडौँ पठाईएको छ । परिक्षण भएर रिपोर्ट नआउँदासम्म गाडि र मासुलाई भन्सार कार्यालयमै राखिने भन्सार कार्यालयका सुचना अधिकारी सुभाष प्रसाद श्रेष्ठले जानकारी दिए । श्रेष्ठले गैरकानुनी प्रमाणित भए भन्सार ऐनअनुसार कारबाहि गरिने बताए । उनका अनुसार मासु बंगुर, माछा, कुखुरा र खसिको हुनसक्ने आशंका गरिएको छ । मासुको ४ वटा अलग अलग नमुना काठमाडौँ पठाइएको छ ।

मासु सहितको ट्रक शनिवार बिहानै दिल्लीबाट नेपालगन्ज भन्सार कार्यालयमा पुगेको भएपनि आईवार अबेर साँझ मात्रै कारबाहि प्रकृया अघि बढाएको थियो । पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ अनुसार पैठारी कर्ताले पशु, पशु जन्य पदार्थ वा पशुउत्पादन सामग्रीमा तोकिएबमोजिक संक्रामक रोग नभएको प्रमाण पत्र र स्वच्छतासम्बन्धी प्रमाणपत्र उपलब्ध नगराएमा कारबाहि प्रकृया अघि बढाउन सकिने उल्लेख गरिएको छ । सोहि अनुसार क्वारेन्टाईन कार्यालयले कारबाहि अघि बढाएको हो । क्वारेन्टाईन अधिकृतले प्रवेश गर्न रोक लगाइएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री भएमा जुन मुलुकबाट ल्याइएको हो सोहि मुलुकमा फिर्ता लैजान आदेश दिन सक्ने ऐनमा उल्लेख छ । साथै, त्यस्तो सामग्रीले संक्रामक रोग फैलन सक्ने संभावना देखिएमा क्वारेन्टाईन अधिकृतले हटाउने वा नष्ट गर्ने आदेश दिन सक्ने व्यवस्था छ । फोटो ः खगेन्द्र दाहाल

तपाईको प्रतिक्रिया