काठमाडौँ । ‘गङ्गेश्वरी प्रतिष्ठान’द्वारा प्रतिवर्ष प्रदान गर्ने गरी स्थापना गरिएको ‘गङ्गेश्वरी जागरण पुरस्कार, २०७४’ पहिलोपटक वरिष्ठ सञ्चारकर्मी तथा साहित्यकार दाहाल यज्ञनिधिलाई प्रदान गरिने भएको छ । रु.१०,००० राशि रहेको यो पुरस्कार समाजमा रहेका जातीय, धार्मिक, लैङ्गिक तथा कुसंस्कार–कुरीतिजन्य अन्धविश्वास र विभेदहरूका विरुद्ध अविच्छिन्न रुपमा निर्भीकतापूर्वक जागरण अभियान चलाउँदै विशिष्ट योगदान पु¥याएबापत दाहाललाई प्रदान गर्न लागिएको हो । यो पुरस्कार सामाजिक रुपान्तरणका लागि सांस्कृतिक जागरणका पक्षमा विशिष्ट योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई प्रदान गर्ने उद्दश्यले स्थापना गरिएको कुरा संस्थापक रामदेव पाण्डेले जानकारी दिएका छन् ।

साहित्यकार डा.रामप्रसाद ज्ञवाली संयोजक तथा साहित्यकार डा. देवी नेपाल, साहित्यकार धीरकुमार श्रेष्ठ, अधिवक्ता कमलप्रसाद पोखरेल र बालसाहित्यकार आनन्द तिवारी सदस्य रहेको प्रतिभा छनोट समितिले यस वर्षका लागि दाहाल यज्ञनिधिलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । दाहाल यज्ञनिधिले प्रजातन्त्रकालमा मात्र नभई पञ्चायत कालमा सरकारी सेवामा रहेको समयमा समेत जनविरोधी सत्ता र भेदभावमुखी तमाम कुरुपताका विरुद्ध रेडियोसञ्चार तथा साहित्यिक अभिव्यक्तिका माध्यमबाट साहसपूर्ण जागरणमुखी अभियान चलाएको र अहिले खस्कँदो स्वास्थ्यको स्थितिमा पनि त्यो अभियान नछाडेको हुँदा यसपटकका लागि उनलाई सर्वसम्मतिले छनोट गरिएको कुरा पुरस्कार संयोजन समितिका संयोजक डा.रामप्रसाद ज्ञवालीले बताएका छन् । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका, ठूलापोखरा निवासी समाजसेवी दम्पती गङ्गादेवी पाण्डे र ईश्वरीप्रसाद पाण्डेको सम्झनामा स्थापित गङ्गेश्वरी प्रतिष्ठान समाज सेवाका साथै समाजमा प्रचलित कुप्रथा, कुरीति, कुसंस्कार र अन्धविश्वासका विरुद्धको अभिायानमा समर्पित संस्था हो । समाजसेवाका क्षेत्रमा विभिन्न कार्यहरू गर्नुका साथै समाजबाट अन्धविश्वासजन्य कुप्रथा, कुसंस्कार र कुरीतिका विरुद्ध वैचारिक, व्यावहारिक एवं सिर्जनात्मक योगदान पु¥याउने व्यक्ति अथवा संस्थालाई प्रोत्साहित, सम्मानित र पुरस्कृत गर्ने उद्देश्य बोकेको यस संस्थाले “सामाजिक रूपान्तरणका लागि सांस्कृतिक जागरण अभियान” धारणालाई आत्मसात गर्दै आएको छ । प्रतिष्ठानले गङ्गेश्वरीका नाति प्रकाश पाण्डे र नातिनी बुहारी सुमी न्यौपाने पाण्डेको प्रगतिशील विवाहको अवसरमा २०७३ असोज २७ गते यस पुरस्कारको घोषणा गरी संस्थागत रुपमा सामाजिक रूपान्तरणका लागि सांस्कृतिक जागरणको अभियानलाई अघि बढाएको हो । प्रतिष्ठानले सिद्धान्त, आदर्श, विचार र कुरामा मात्र नभई व्यवहारतः अन्धविश्वासजन्य सामाजिक विभेद र रूढिहरूका विरुद्ध वैज्ञानिक आधारमा लागिपरेका अभियन्ता, पत्रकार, लेखक, आविष्कारक या सोसँग सम्बन्धित सामाजिक, सांस्कृतिक, साहित्यिक संस्थाहरूलाई सम्मान तथा पुरस्कृत गर्ने लक्ष्य लिएको पाइन्छ ।

तपाईको प्रतिक्रिया