वीरगन्ज । पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुर्वणपुरको बुद्ध टोलमा बलात्कारपछि एक महिलाको हत्या भएको घटना सेलाउन नपाउँदै त्यही टोलमा फेरि एक युवती बलात्कृत भएकी छन्।

ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरको बुद्ध टोल घर भएकी सुस्त मनस्थितिकी २६ वर्षीया युवती बलात्कृत भएकी हुन्। सुस्त मनस्थितीकी युवतीलाई पटक पटक बलात्कार गर्दै आएका भारत बिहारको पश्चिमी चम्पारण भङगाहा थाना अन्र्तगत पर्ने धुमाटार जसौली घर भएका १९ वर्षीय सुजन दासलाई स्थानीयले शुक्रबार साँझ नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्।

जंगलसँग जोडिएको बुद्ध टोलमा घर भएकी युवतीलाई दासले गत बिहीबार घर छेउकै झाडीमा जबरजस्ती करणी गरिरहेका बेला स्थानीय एक जना व्याक्तिले देखेपछि दास फरार भएका थिए। शुक्रबार फेरि त्यही झाडीमा युवतीलाई जबरजस्ती गर्ने क्रममा स्थानीयले दासलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक रामराजा पौडेलले बताए।

पीडित युवती र आरोपित दासलाई आवश्यक कारवाहीका लागि शुक्रबार नै बेलुकी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइदिएको प्रहरी नायब निरीक्षक पौडेलले जानकारी दिए। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया