काठमाडौं – सरकारमा आउँदा–आउँदै आपूर्तिमन्त्री शिवकुमार मण्डल चर्चामा रहे । बजार अनुगमनका क्रममा महँगो व्यापारिक क्षेत्र मानिने दरबारमार्गका पसलमा छापा मारेपछि उनी केही दिनका लागि ‘सेलेब्रिटी मन्त्री’ बन्न पुगे । माओवादी युद्धमा होमिँदै यो मोडसम्म आइपुग्दा पहिलोपटक मन्त्री बनेका मण्डल मोरङ गोविन्दपुरका हुन् । पहिलो मन्त्रीकालमै महत्वपूर्ण मन्त्रालय सम्हाल्ने अवसर पाएका मण्डलको जीवनयात्रा भने सहज छैन । उनले जीवनको कठिन मोडबारे सुनाएका छन् :

गोरुसँगै लडेर ज्यान गुमाउने साथी र मेरो अनुहारको रङ एकै प्रकारको थियो । हामीले लगाएको कपडा पनि उस्तै । ती साथीलाई कसैले देखेपछि हल्ला फैलिएछ, शिवकुमार मण्डल मर्‍यो ।

एमाले हुँदै माओवादीमा सानैदेखि कम्युनिस्ट विचारबाट प्रभावित भए पनि सदस्यता ०४८ मा लिएको हुँ । त्यतिवेला एमालेमा आबद्ध थिएँ । ०५४ मा गाउँबाटै माओवादी पार्टीको सम्पर्कमा रहेँ । भूमिगत नहुँदै प्रहरीले मलाई शंकाका भरमा दुईपटक पक्राउ गर्‍यो । परिस्थिति कठिन बन्दै गएपछि ०५५ पछि माओवादीको पूर्णकालीन सदस्य भएर जनयुद्धमा होमिएँ । पहिले माओवादी आन्दोलनमा लागेका साथीहरू पनि हाम्रो घर आउनुहुन्थ्यो । चन्दा माग्नुहुन्थ्यो । माओवादी आन्दोलनबाट बुझ्ने मौका मिल्यो । उहाँहरूसँग गफगाफ गर्थेँ र सकेको सहयोग गर्थेँ ।

छिमेकीका कारण पक्राउ

मेरा एकजना छिमेकी कांग्रेस हुनुहुन्थ्यो । उहाँ जमिन्दार नै हो । एकपटक मेरो घरमा आएका माओवादी साथीहरू उनकोमा पनि चन्दा माग्न गएछन् । उनीहरूलाई चन्दा माग्न जान मैले नै उक्साएको शंका उनलाई लागेछ । तर, मैले त्यस्तो कुनै पोल लगाएको थिइनँ । त्यसपछि उनी मेरो विरुद्धमा लागे । उनैले मलाई पक्राउ गराएर बेपत्ता बनाउने प्रयत्ने गरे ।

भारतमा ससुराली भएकाले जोगिएँ

महेन्द्र मोरङ क्याम्पस विराटनगरमा पढ्दापढ्दै जनयुद्धमा होमिएँ । त्यसपछि घर जान सक्ने स्थिति नै थिएन । ०५८ मा संकटकाल घोषणा भएपछि तेस्रोपटक प्रहरीले पक्राउ गर्‍यो । माओवादीका कार्यकर्ताहरू सीमापारि आश्रय लिएर बसिरहेका वेला अवस्था बुझ्न जाँदा म पक्राउ परेको थिएँ । त्यसवेला मलाई भारतको अरअरिया जेलमा झन्डै सात महिना राख्यो । मेरो ससुराली भारतमै हुँदैनथ्यो भने ठूलै समस्या पर्न सक्थ्यो ।

फारबिसगन्ज मेरो ससुराली हो । मसँग अत्याधुनिक हतियार छ भन्ने खबरका आधारमा प्रहरीले खोजबिन गरेको रहेछ । ससुरालीमा खाना खाइरहेकै अवस्थामा पक्राउ गरेको मबाट प्रहरीले कुनै हतियार र अन्य प्रमाण भेटेन । त्यतिवेला नेपालको प्रहरीले भारतको प्रहरीलाई ‘शिवकुमार मण्डल भनेको माओवादी नै हो र उसको सम्बन्ध प्रचण्डसँग नजिक छ र हतियारसहित ससुरालीमा छ’ भन्ने खबर गरेको रहेछ । तर, भारतीय प्रहरीले मेरो साथबाट कुनै अवैधानिक सामान भेटेन । र, पक्राउ गर्न नसकिने भन्दै नेपाल प्रहरीलाई खबर गर्‍यो ।

दाजुभाइलाई एकैसाथ मार्ने योजना

भारतमा मलाई पक्राउ गरेको आधा घन्टापछि घरमै रहनुभएका मेरा जेठा दाजुलाई नेपाल प्रहरीले पक्राउ गरेछ । हामी दुई भाइलाई विराटनगरको जोगबनीस्थित रानी प्रहरी कार्यालयमा ल्याएर मार्ने योजना बनाएको रहेछ । पछि यो योजना थाहा भयो ।

त्यतिवेला भारतीय प्रहरीले मलाई नेपाल प्रहरीको जिम्मा नलगाएकाले मात्रै बाँचियो । भारतीय प्रहरीले मलाई पक्राउ गरेपछि नेपाल नपठाएकाले दाजु पनि रानी प्रहरी कार्यालयमा डेढ–दुई महिना हिरासतमा बसेर मुक्त हुनुभएछ । मलाई भने भारतकै अरअरिया जेलमा ६–७ महिना राख्यो । छुट्ने वेलामा भने विभिन्न आरोप लगायो । केटी जिस्क्याएको, लडाइँ तथा झगडा गरेको झुटो आरोप लगाएको थियो ।

कतै मारिदियो भनेर परिवारले माया मारेछन्

नयाँ व्यक्ति जेलमा परेपछि शौचालय सफा गर्ने, आँगन बढार्नेजस्ता काम उसैलाई जगाउने रहेछन् । नयाँ कैदीलाई पुराना कैदीले मालिस गर्न, लुगा धुन लगाउने पनि गर्दा रहेछन् । म जेलमा रहँदा एकजना अधिकारी थरका नेपाली पनि थिए । उनी लागुऔषध कारोबारमा पक्राउ परेका रहेछन् । उनले जेलभित्र हुने दुव्र्यवहार गर्न दिएनन् ।

पछि नेपालमा ठुल्ठूला आक्रमण तथा झडपहरू हुन थालेपछि र म माओवादी हो भन्ने कैदीहरूले थाहा पाएपछि मलाई हेर्ने नजरमै परिवर्तन आयो । त्यहाँका पुराना कैदीले मलाई कहिल्यै पीडा दिएनन् । तर, त्यतिवेला परिवारसँग मेरो सम्पर्क थिएन । परिवारले त मलाई कतै मारिसके भनेर माया मारेछन् । जेलबाट छुटेर आउँदा पो सबै दंग परे ।

ज्यान जोगाउन भाग्दा पहाड चढ्न सकिनँ

२० माघ ०५८ मा मा मोरङकै याङ्सिलास्थित टाकुरे भन्ने ठाउँमा पार्टीको राजनीतिक प्रशिक्षणमा सहभागी भएँ । मोरङबाट माओवादीमा समाहित भएको मधेसी मूलको म नै पहिलो रहेछु । बेलुका केही साथीहरू एम्बुस थापेर, कोही बन्दुक भिरेर सेल्टर बसेका थिए । हामी सुतिरहेका थियौँ । एकजना साथीले प्रेसरकुकर बम पड्किन्छ कि पड्किँदैन भनेर परीक्षण गर्न थाल्नुभएछ । बम त पड्किहाल्यो । त्यसपछि बेलबारी प्रहरी चौकीवरिपरि सबैतिर सुनिएछ । भोलिपल्ट बिहान हामीले त्यहीँ कार्यक्रम गर्‍यौँ । तर, प्रहरीको ठूलो टिमले घेरा हालेर हामीमाथि आक्रमण सुरु गर्‍यो ।

कार्यक्रम छाडेर ज्यान जोगाउन भाग्यौँ । त्यसवेलासम्म मैले कहिल्यै नजिकबाट पहाड देखेको थिइनँ । तर, भाग्दै गर्दा पहाडतिरै गएछु । पहाडमा भाग्न मलाई निकै मुस्किल पर्‍यो । घिस्रिँदै–घिस्रिँदै ज्यान जोगाएँ । त्यतिवेला शरीर र पैतालामा घाउ भएर एक महिनासम्म थला परेको थिएँ । भाग्ने क्रममा गोरुको पगाहामा (खेतबारीमा किलो ठोकेर लामो डोरीले गोरु बाँधेर चराउने) अल्झिँदा गोरुसहित भिरबाट लडेर एकजना साथीको भने ज्यान गयो ।

मर्‍यो भनेर कात्रो किनेछन्

तराई–मधेसका क्षेत्रमा बसोवास गर्ने सबै नेपालीको रङ प्रायः एकै प्रकारको हुन्छ । गोरुसँगै लडेर ज्यान गुमाउने साथी र मेरो अनुहारको रङ पनि एकै प्रकारको थियो । हामीले लगाएको कपडा पनि उस्तै ।

ती साथीलाई कसैले देखेपछि हल्ला फैलिएछ, शिवकुमार मण्डल मर्‍यो । पार्टीभित्रै मेरो मृत्यु भएको भने निश्चित गरिएछ । दाहसंस्कार गर्न पार्टीका साथीहरू मेरो घरमै पुग्नुभएछ । तर, त्यतिवेला घरमा कोही फेला परेनछ ।

मेरो भाइ ससुरालीमा भएका वेला ती साथीहरूले मोरङको पथरी पुर्‍याएर कात्रो किनेछन् र भाइलाई मेरो मृत्यु भएको बताएछन् । भाइ निकै हतोत्साहित भए पनि खबरमा विश्वास गरेनछ । त्यतिवेला म मामाससुराको घरमा उपचार गरिरहेको थिएँ । त्यहीँ मैले श्रीमतीलाई भेटेको थिएँ । भाइले मेरी श्रीमतीलाई फोन गरेछ । अन्ततः उसले म जिउँदै भएको बताएपछि परिवारदेखि पार्टीसम्म सही खबर पुग्यो ।

पहिलो चुनाव हार्दा र दोस्रो जित्दा

म पहिला मधेसी मुक्ति मोर्चाको केन्द्रीय सदस्य र कोषाध्यक्ष हुँदै अहिले उपाध्यक्ष छु । सदस्य हुँदा झापा, मोरड, सुनसरीसहित पूर्वका क्षेत्रमा काम गर्ने मौका पाएँ । माओवादीले झापा, मोरड र सुनसरीलाई कोचिला प्रदेशका रूपमा नामकरण गरेको थियो । त्यसको पहिलो जनसरकार प्रमुख पनि भएर काम गर्ने अवसर पाएँ । शान्तिप्रक्रियामा आएपछि अन्तरिम संसद्को विधायिकासमेत भएँ । तर, ०६४ को संविधानसभा निर्वाचनमा हारेँ । त्यो प्राविधिक समस्याका कारण थियो । संविधानसभाको दोस्रो निर्वाचनमा भने ८ मतले विजयी भएँ ।

सांसद भएपछिको अनौठो घटना

अन्तरिम संसद्मा प्रतिनिधित्व गरे पनि मेरो जीवनमा अनौठो घटना भयो । माओवादी नेताका छोरा र कांग्रेस नेताकी छोरीबीच प्रेमसम्बन्ध रहेछ । ती जोडी क्याम्पस पढ्दादेखि नै प्रेमसम्बन्धमा रहेछन् । कांग्रेस नेता वाइसिएलका साथीहरू र प्रहरीलाई लिएर छोरी खोज्न हिँडेछन् ।

केटीका बुबालाई भने उनीहरूको सम्बन्धबारे पहिल्यैदेखि थाहा रहेछ । संयोगवश त्यो दिन ती जोडी केटाको घरमा एक–अर्कालाई भात खुवाइरहेको अवस्थामा फेला पारेछन् । त्यतिखेर हाम्रा साथीहरूले उनीहरूलाई कुटेछन् र प्रहरीको साथ लगाएर पठाएछन् । त्यो समयमा विराटनगरको रानी प्रहरी कार्यालयमा एसपी गोपालराज भण्डारी थिए । हाम्रा साथीहरू र केटीका बाबुले केटोलाई मानव बेचबिखनको मुद्दा लगाउन दबाब दिएछन् । नयाँ पत्रिकाले छापेको छ ।

मलाई केटाका बाबुले रुँदै फोन गरेर भनेका थिए, ‘बिहे गर्न खोजेका हुन्, बेच्न खोजेको होइन । उनीहरू बिहे गर्न खोज्छन् भने म बिहे गर्दिन तयार छु ।’ तर, मेरै साथीहरूले मलाई खबर गरेनन् । म सांसद पनि भएकाले एसपीलाई फोन गरेर घटनाबारे जानकारी लिएँ । उनले पनि केटा र केटीबीच प्रेमसम्बन्ध रहेको सुनाए । केटी बेचबिखनको मुद्दा लगाउन केटीका बुबा र हाम्रा साथीहरूले दबाब दिएकोबारे जानकारी गराए । कांग्रेसहरू पनि मुद्दा चलाउनुपर्ने दबाब दिँदै रहेछन् । अन्ततः कोटी बेचुवालाई सांसद बनाएको भन्दै मेरो आलोचना पार्टीभित्रै चर्को भयो । अन्ततः पार्टीले मलाई काठमाडौं तान्यो ।

तपाईको प्रतिक्रिया