काठमाडौँ : संविधान सभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को अन्तिम बैठक अहिले बसिरहेको छ । बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखले विदाई सम्बोधन गरेपछि सभामुख ओनसरी घर्तीले सदन समाप्त भएको औपचारिक घोषणा गर्नुहुने सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो । समापन समारोहका लागि आजै सभामुख घर्तीले संसद् परिसरमा रात्रिभोजको आयोजना गर्नुभएको छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि भोलि आइतबार समानुपातिकतर्फको उम्मेदवारी दर्ता हुने निर्वाचन तालिका भएकाले त्यसको अघिल्लो दिन आज राति १२ बजेदेखि नै संसद्को अवधि सकिन लागेको हो ।

विसं २०७० माघ ८ गतेदेखि शुरु भएको संविधानसभाले २०७२ साल असोज ३ गते संविधान जारी गरेपछि सोही दिनदेखि संविधानसभा व्यवस्थापिका–संसद्मा रुपान्तरित भएको हो ।

संसद्ले यस अवधिमा महत्वपूर्ण विधेयक पारित गर्नुका साथै महाअभियोगजस्ता नयाँ अनुभवसमेत गर्नुप¥यो । संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान कार्की र सर्वाेच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता भए पनि त्यस सम्बन्धमा छलफल प्रक्रिया अघि बढ्न सकेन ।

संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा बढी ध्यान केन्द्रित गर्नुपरेको संसद्ले अन्तिम समयमा दलहरुबीच सहमति नभएपछि ‘राष्ट्रिय सभा सम्बन्धी विधेयक’ जस्तो महत्वपूर्ण विधेयक र जनचासोको महत्वपूर्ण विधेयक ‘चिकित्सा शिक्षा विधेयक’ भने पारित गर्न सकेन ।

संविधानको भाग–३३ संक्रमणकालीन व्यवस्थाअन्तर्गत धारा २९६ मा रुपान्तरित व्यवस्थापिका–संसद्को कार्यकाल २०७४ माघ ७ गतेसम्म कायम रहने उल्लेख छ ।

सोही धाराको प्रतिबन्धात्मक प्रावधानमा त्यस्तो कार्यकाल पूरा हुनुअगावै संविधानबमोजिमको प्रतिनिधिसभाको निर्वाचन हुने भएमा त्यस्तो निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनसम्म संसद् कायम रहने प्रावधान उल्लेख छ ।

तपाईको प्रतिक्रिया