काठमांडौ, २८ असोज – वि. वि. सी. का चर्चित पूर्व पत्रकार तथा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले काठमांडौ क्षेत्र नं-१ बाट संघीय प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ उमेदवारी दिएपछि यो क्षेत्रको चुनावी माहोल एकाएक तातेको छ। गत स्थानीय निर्वाचनमा काठमांडौ महानगरपालिकामा आकर्षक मत लिएका विवेकशील र साझा पार्टी एकीकरण भए पछि बनेको विवेकशील साझा पार्टीका लागि यो क्षेत्र अत्यन्तै बलियो र सम्भावनायुक्त रहेको मानिएको छ।शिक्षित र जागरुक मतदाता भएको यस क्षेत्र जहाँबाट उनले जीतको बाज़ी मार्न सक्ने भरपर्दो वातावरण देखिएको छ।

देशको बिग्रदो अवस्थाबाट मुक्ति पाउन विवेकशील साझा पार्टीले पद्दति, पारदर्शिता, ईमान्दारिता र उत्कृष्टतालाई मुख्य आधारभूत सिद्धान्त मान्दै यो चुनावमा राष्ट्रिय पार्टी र अर्को चुनावमा राज्यको नेतृत्व लिने महत्वाकांक्षी लक्ष्यका साथ चुनावमा होमिएको छ। पार्टीले निर्वाचन आयोगले तोकेको रक़म भित्र खर्च गर्ने गरी खर्च गर्न आर्थिक सहयोग तथा सुसंस्कृत राजनीतिको समर्थन गर्ने जो कोहि ब्यक्तिलाई स्वयमसेवक भई चुनाव प्रचार गर्न अनुरोध समेत गरेको छ।

रवीन्द्र मिश्रले प्रकाशित गरेको प्रेस बिज्ञप्ति: आदरणीय मतदाता आमा, बुवा,दाजु भाइ दिदी बहिनीहरु,

आज आश्विन २८ गते शनिवारका दिन देखि हामीले ‘खान पुगोस्, दिन पुगोस्’ आमा ‘पवित्रदेवी रायमाझी’ संग आशिर्वाद लिँदै चुनावी अभियान शुरू गरेका छौँ। हाम्रै जीवनकालमा यो देशलाई समृद्द बनाएरै छाड्ने हाम्रो प्रणलाई तपाईहरुको भोट नभई हुन्न।

मैले १३ असोज २०६७ सालमा पवित्रदेवी रायमाझीको बारेमा मेरो पुस्तक ‘खान पुगोस्, दिन पुगोस्’ मा संग्रहित स्तम्भ-निबन्धमा यस्तो लेखेको थिएँ:

“मेरो एकजना साथीकी आमा छिन्, पवित्रदेवी रायमाझी। उनको दिनचर्या उनको नाम जत्तिकै पवित्र रहन्छ। प्रेम, उदारता, स्वच्छता र भक्तिभाव उनका विशिष्ट गुण हुन्। दिनभरिको प्रत्यक्ष र अप्रत्यक्ष पाप गर्ने अनि साँझ-विहान भगवानको पूजा-अर्चना गरेर त्यसलाई पखान्न खोज्नेहरुको भिडमा पवित्रदेवीको घरमा प्रवेश गर्दा मलाई आफूभित्रका तूषहरू एकैछिनका लागि भएपनि मेटिएको आभाष हुन्छ।…

‘ब्यावहारिक कल्याण’ या हरेक व्यक्तिले आफ्नो गच्छे अनुसार सकेको कल्याणकारी कामहरु गर्ने संस्कारको विकास गर्न सकियो भने समाज धेरै न्यायपूर्ण र सुसंस्कृत हुनसक्दथ्यो भन्ने मेरो विश्वास रहिआएको छ। त्यसैले ‘ब्यावहारीक कल्याण’ का कुरा म मौका पाउने वित्तिकै गरिहाल्छु। गफ गाफको सिलसिलामा एकदिन पवित्रदेवीका छोरा तथा मेरा आत्मीय मित्र श्रीरामले मलाई भने, मेरी आमाले दशैंमा आशिर्वाद दिँदा सधैं भन्नु हुन्छ:’खान पुगोस्, दिन पुगोस्!” आमा पवित्रदेवीका ती पवित्र चार शब्द मेरो जीवनमा ‘ब्यबहारिक कल्याण’ को मेरो विश्वासलाई भत्किन नदिने प्रेरणादायी शब्दहरूका रुपमा अंकित भएका छन्।”

आज, उनै आमा पवित्रदेवीको काठमाडौं क्षेत्र नम्बर एकमा पर्ने बानेश्वरस्थित घरमा शुभेच्छुकहरूसँग गएर उनको आशिर्वाद लिँदै मैले आफ्नो चुनावी प्रचार-प्रसार अभियानको थालनी गरेँ। उनले मलाई आशिर्वाद दिंदै भनिन्, “बाबुको सतप्रयास सफल होस्, यो देश राम्रो होस्।”

‘खान पुगोस्, दिन पुगोस्’को उनको सदविचार र आशिर्वादबाट प्रेरित भएको र भाग्यको कृपाले खान-बस्न र अलिकति दिन पुगेका कारण मैले काठमाडौं क्षेत्र नम्बर १ बाट संघीय प्रतिनिधि सभाको सदस्य निर्वाचित भएको खण्डमा आफूले पाउने तलब सोही क्षेत्रका संघसंस्था र परोपकारी गतिविधिमा खर्च गर्ने निधो गरेको छु।

 

तपाईको प्रतिक्रिया