अधिवक्ता सुजित के.सी दक्षिण एसियामा नेपाल त्यस्तो मुलुक हो, जसको उत्तरी छिमेकी महाशक्ति राष्ट्र चीन छ भने दक्षिणी छिमेकी उदाउदो शक्ति राष्ट्र ईन्डिया छ । यि दुई मुलुक छिमेकी हुनु नेपालको लागि अवसर र चुनौती दुवै हो । कुटनितिक रुपमा शक्ति सन्तुलन गर्न सकिए नेपालको अस्तित्व यिनै मुलुकले जोगाउन बाध्य समेत हुने थिए । नेपालको अवस्थाले सधै यिनलाई आफ्नो सुरक्षामा प्रतिकुल असर पर्ने सक्नेमा चिन्ता समेत नभएको हैन ।

दक्षिणी छिमेकी ईन्डियाले नेपालको सिमा अतिक्रमणदेखि राजनितिमा प्रत्येक्ष हस्तक्षेप गर्दैआएको छ । अमेरिकाको साथ र सहयोगमा ईन्डियाले नेपालको भूमि प्रयोग गरि फ्री तिब्बतको खाम्पा विद्रोह समेत गराएको थियो । उक्त विद्रोहलाई राजा विरेन्द्रकै पालामा नेपाली सेनाले परास्त गरि दियो । नेपालको भूमि फेरि पनि प्रयोग हुन सक्ने सम्भावनाका कारण राजा विरेन्द्रले नेपाललाई शान्ती क्षेत्र बनाउने अभियान नै चलाएका थिए तर दक्षिणी छिमेकी ईन्डियाले नै यो अभियानको विरुद्धमा थियो । त्यसै नेपाललाई शान्ति क्षेत्र घोषण गर्ने अभियान नै असफल भयो । दुखको कुरा जसले नेपाललाई शान्ति क्षेत्र बनाउन चाँहे उनैको निर्ममता पूर्वक हत्या भयो ।

राजा ज्ञानेन्द्रले समेत विदेशी हस्तक्षेपलाई रोक्न नखोजका हैनन् तर उनी पनि असफल भए, सत्ताचुत गराइयो । भारतले सात दललाई दिल्लीमा १२ बुँदे सम्झौता गराई नेपालमा जनआन्दोलन गरायो । भारतकै दबाबमा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र बनाईयो । यत्रो ठूलो परिवर्तन गर्दा एक पटक पनि जनमत बुझिएन् । जनमत संग्रह बिना नै नेपाललाई गणतन्त्र धर्म निरिपेक्षता र संघीयतामा लगियो । अहिले नेपालको राजनितिक वृत्तमा देखिएको घटनाक्रमलाई हेर्दा सोच्नै नसकिने घटना परिघटना भईरहेका छन् । स्थानीय निर्वाचनको परिणामलाई आधार मान्ने हो भने आउँदो निर्वाचनमा एमाले बिना गठबन्धन नै पहिलो राजनितिक शक्ति हुने संभावनाको विश्लेषण धेरैले गरेका थिए ।

तर पनि अनपेक्षित रुपमा एमालेको माओवादी र नयाँ शक्तिबीच गठबन्धन बन्न पुग्यो । माओवादीबीचको गठबन्धन भन्दा नि तुलनात्मक रुपमा नयाँ शक्तिसँगको गठबन्धनले शंका र भ्रम दुवै उत्पन्न गराएको छ । भारत निकट नेता मानिएका पूर्व प्र.म डा.बाबुराम भट्टराई किन र कसरी बाम गठबन्धनमा आए सबैलाई आश्चर्य लागेको छ । कम्युनिजम नै छोडेका र अन्य दललाई पुरानो शक्ति भनि नयाँ शक्ति स्थापना गराएका भट्टराई एकाएक बाम गठबन्धनमा आउनुले शंका उत्पन्न गराउनु स्वभाविक नै हो ।

स्थानीय निर्वाचनमा झण्डै पत्तासाफ नै भएको नयाँ शक्ति पार्टी अस्थित्वकै कारण एमाले र माओवादीसँग गठबन्धन गर्न पुगेका बुझ्न सकिन्छ । तर माओवादी र एमाले दुवैले बाबुरामको अपेक्षा बमोजिमको सिट नदिने पक्का छ । त्यस्तै माओवादीलाई पनि बिना गठबन्धन निर्वाचन परिणाम नराम्रो आउने कारणले नै गठबन्धन गर्न बाध्य भएको बुझ्न सकिन्छ । अर्को तर्फ ४ महिना अघिको स्थानीय निर्वाचनसम्म एक अर्कालाई वर्ग शत्रु मान्ने यि दुई राजनितिक शक्ति आफै भन्दा पनि विदेशी शक्तिको दबाब र प्रभावमा मिलेका हुन सक्ने अनुमान थुप्रै राजनितिक विश्लेषक समेतले गर्दैछन् । विदेशी शक्तिको प्रभाव बिना यि मिल्ने सम्भावना नै थिएन ।

स्थानीय निर्वाचनमा कांग्रेससँगको तालमेलका कारण अपेक्षा अनुरुप परिणाम ल्याएको माओवादीले एमालेसँग पार्टी एकता गर्ने पक्षमा नै देखिन्छ । कांग्रेस माओवादी तालमेलले चितवनको भरतपुर महानगरपालिकामा प्रचण्डको छोरी रेणु दाहाललाई जिताउन अनेक हतकण्डा समेत गरेका थिए । त्यसको ४ महिना पनि नबित्दै माओवादी एकाएक एमालेसँग मिल्नु राजनितिक चमत्कारी नै हो ।

अमेरिका चीनलाई घेर्ने नितिमा छ र नेपाललाई पनि एउटा पोइन्ट खोजिरहेको छ । त्यसै कारण पनि अमेरिकाले नेपाललाई ५१ अर्बको आर्थिक सहयोग गरेको हो । त्यस्तै चीन पनि नेपालको भूमि आफ्नो एक चीन निति विरुद्ध प्रयोग नहोस् भनि प्रतिरक्षात्म अवस्थामा रहेको छ । नेपालमा त्यहि कारण चीनले आफ्नो प्रभावलाई पनि बढाउदै छ । साथै चीन दक्षिण एसियामा भारतलाई घेर्ने रणनितिमा छ । यस कारण नेपालको भूमि चीन र भारत दुवै विरुद्ध प्रयोग हुने सम्भावना रहेको बुझ्न सकिन्छ ।

नेपालको कुनै ठोस परराष्ट्र निति नै छैन् । नेपालले कुटनितिक सम्बन्धबाट यि दुई छिमेकी मुलुकलाई सन्तुलित रुपमा समदुरीमा राखी सम्बन्ध विस्तार गर्नुपर्ने हुन्छ । कुनै एक मुलुकको मात्र प्रभावले अर्को मुलुकसँगको सम्बन्धलाई प्रतिकुल प्रभाव पार्न सक्दछ भने नेपालकै अस्तित्वमा समेत खतरा उत्पन्न हुन सक्दछ । त्यस्तै पश्चिमा मुलुकहरुको हस्तक्षेप पनि नेपालमा बढ्दो छ । नेपालमा भएको धर्म निरिपेक्षताको परिवर्तन यिनले गराएको बुझ्न सकिन्छ । गरिब तथा अशिक्षित नेपाली जनतालाई गाऊँ गाऊँमा अहिले लोभ प्रलोभनमा पारि धर्म परिवर्तन गराईदैछ ।

धर्म प्रचार गर्न विदेशबाट समेत नेपाल आउने गरेको तथ्य सबैमा प्रष्ट नै छ । त्यसै गरी विदेशीबाट प्रायोजित अधिकांश एनजिओ तथा आइएनजिओले त धर्म संस्कृतिमा समेत प्रहार गरिरहेका छन् । यूनेस्को जस्ता संस्थाले त धर्म र संस्कृतिसँग सम्बन्धित विभिन्न विचार गोष्ठीहरु संचालन गर्दै, कार्यपत्र प्रस्तुत गर्न लगाउदै धर्म र संस्कृतिको गलत व्याख्या समेत गराउदै हिडेको बुझिन्छ ।

यसरी हाल नेपालमा कुनै पनि त्यस्तो क्षेत्र छैन्, जहाँ विदेशी प्रभाव नभएको नहोस् । दिन प्रति दिनको बढ्दो विदेशी प्रभावले नेपाललाई दक्षिण एसियाको क्रिडा स्थल बनाउन सक्दछ । नेपाललाई अस्थिरता तर्फ लान सक्दछ । नेपालले ठोस परराष्ट्र निति बनाउनुपर्ने हुन्छ । विभिन्न परियोजना र विकास निर्माणका नाममा भित्रिएका विदेशी लगानीलाई समेत नियन्त्रण गर्नुपर्ने हुन्छ । नेपालमा विदेशी हस्तक्षेप बढाउन महत्वपूर्ण भूमिका खेल्ने एनजिओ तथा आइएनजिओ जस्ता संस्थाको गतिविधिलाई समेत निरिक्षण र आवश्यक परे नियन्त्रण नै गर्नुपर्ने हुन्छ । अन्यथा नेपाल दक्षिण एसियाको ‘पोलिटिकल बफर जोन’ बन्नेछ र सधैंको लागि मुलुक द्वन्द ग्रस्त र अस्थिर बन्नेछ ।

तपाईको प्रतिक्रिया