काठमाडौं – ब्लफकलबाट लिजा र मेरो कुराकानी सुरुवात भयो । त्यसवेला ल्यान्डलाइन फोनको जमाना थियो । फोनमा कुराकानी हुन्थ्यो, तर भेट भएको थिएन । करिब एक वर्षपछि ‘फोनमा मात्र किन कुरा गर्ने भेटौँ न’ भन्ने कुरा भयो । त्यसपछि भेट्यौँ । फोनमा वेलावेला कुरा हुँदै जाँदा उनीप्रतिको चाहना बढ्दै गयो । कलेज पढ्दै रेडियो सगरमाथामा जागिर खाँदै थिएँ । त्यसकारण पनि मैले तत्काल प्रेमप्रस्तावबारे निर्णय लिन सकिरहेको थिइनँ । मेरो प्रस्तावलाई उनले नकार्दिनन् भन्ने कन्फिडेन्सचाहिँ थियो । मैले एक दिन उनलाई फोन गरेँ र भनेँ, म तिमीलाई मन पराउँछु । तिमीलाई म कस्तो लाग्छ रु उनले अर्को दिन मेरो प्रेम प्रस्ताव स्वीकार गरिन् ।

त्यसपछि हाम्रो प्रेम झाँगिँदै गयो । पहिलाभन्दा फोनमा कुराकानी बाक्लिन थाल्यो । दैनिकजसो भेट्थ्यौँ । मैले उनलाई कलेजसम्म पु¥याउन थालेँ । अफिसबाट उनको कलेज हुँदै फर्कने गर्थेँ । हामी धेरै ठाउँ सँगै जान्थ्यौँ । तर, डेटिङ भनेर टाढाटाढा घुम्न जानेचाहिँ गरिएन । सांगीतिक क्षेत्रमा संघर्ष चलिरहेकै थियो । उनले धेरै सहयोग र साथ दिइन् । उनलाई म गीतहरू सुनाउँथेँ । सेन्टिमेन्टल गीतहरू बढी सुनाउँथँे । उनलाई नै सम्झेर लेखेको ‘मेरो संसार तिमी नै हौ’ भन्ने गीत सर्वाधिक हिट भयो । यो गीत गाएपछि मैले पछाडि फर्केर हेर्नुपरेन । यो गीतको हरेक शब्द मैले उनलाई सम्झेर लेखेको थिएँ । हामी करिब चार वर्ष प्रेम सम्बन्धमा रह्यौँ । नयाँ पत्रिकाले छापेको छ ।

०५९ सालमा विवाह ग¥यौँ । पहिलाको तुलनामा हामी अझ परिपक्व र व्यावहारिक भएका छौँ । हाम्री एक छोरी छिन् । जिम्मेवारी बढेको छ । उनले सधैँ मलाई साथ दिइन् । आज म सुगम पोखरेल भएर चिनिनुमा उनको विशेष योगदान छ । उनी मलाई बुझ्छिन् । यस अर्थमा म आफूलाई भाग्यमानी ठान्छु । कहिलेकाहीँ श्रीमान्–श्रीमतीबीच सामान्य ठाकठुक चल्नु स्वाभाविकै हो । त्यस्तो ठूलो अप्ठ्यारो अवस्था आएको छैन । उनी पूर्णरूपमा गृहिणी भएर मलाई साथ दिइरहेकी छिन् । जसले गर्दा काममा सजिलो भएको छ । म उनीप्रति धेरै आभारी छु । मलाई त उनी श्रीमतीभन्दा पनि साथीजस्तै लाग्छ । उनीजस्तो जीवनसाथी पाएकोमा खुसी छु । मजति भाग्यमानी कमै हुन्छन् होला जस्तो लाग्छ ।

तपाईको प्रतिक्रिया